काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले फागुन २० गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो ।
सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
२०८० साल माघ मसान्तसम्म २० अर्ब चुक्तापूँजी पुर्याउनु पर्ने अवस्थामा कम्पनीले बोनस शेयर र हकप्रद मार्फत पूँजी बढाउन लागेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ४ प्रतिशत बोनस शयर र सोको कर प्रयोजनका लागि शून्य दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी १० अर्ब रहेको छ । ४ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी १० अर्ब ४० करोड कायम हुनेछ । कम्पनीले सर्वसाधारणमा भर्खरै आईपीओ जारी गरेको हो । गत पुस ११ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको कम्पनीले पहिलो वर्षनै लाभांश वितरण गर्न लागेको हो ।
बोनस शेयरपछि कायम चुक्तापूँजीको आधारमा ८० प्रतिशत हकप्रद शेर निष्कासन गर्ने प्रस्ताव पनि कम्पनीले गरेको छ । कम्पनीले १० शेयर वराबर ८ शेयरको अनुपातमा ८ अर्ब ३२ करोड रूपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रद पछि कम्पनीको चुक्तापूँजी १८ अर्ब ७२ करोड रूपैयाँ कायम हुनेछ । नेपाल बीमा प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनीका लागि तय गरेको न्यूनतम चुक्तापूँजी कायम गर्न हकप्रद पछि पनि कम्पनीलाई थप १ अर्ब २८ करोड रूपैयाँ आवश्यक हुन्छ ।
लाभांश र हकप्रद प्रस्तावसँगै सभाले संस्थापक शेयरधनीका तर्फबाट रित्त रहेको एक जना सञ्चालक बाँकी कार्यकालका लागि र सर्वसाधारण शेयरधनीको तर्फबाट दुई जना सञ्चालक निर्वाचन गर्ने कार्यक्रम समेत सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन ६ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।