यसकारण तिर्न सकिएन किसानलाई दूधको पैसा

३० चैत्र २०८०

cover image

-सुमित केडिया 

अहिले दूध उत्पादक किसानहरू समस्यामा परेको र दूध खरिदकर्ताहरूले भुक्तानी नदिएको भन्ने विषय चर्चामा छ । आफुले बिक्री गरेको दूधको भुक्तानी नपाए फेरी आन्दोलन गर्ने चेतावनी दूध उत्पादक किसानहरूले दिएका छन् । यसरी दूध उत्पादक किसान र  नेपाल सरकार कृषि मन्त्रालयअन्तर्गतको दुग्ध विकास संस्थान तथा निजी डेरीबिच रहेको समस्याको जड बारे जान्न दूधजन्य उद्योगका बाध्यता र दूधको उत्पादन चक्रबारे जानकारी आवश्यक हुन्छ । 

दूध उत्पादन चक्र

दूधमा दुई वटा सिजन हुन्छ । त्यो भनेको जाडो र गर्मी सिजन हो ।  संसारभरका डेरी व्यवसायीहरूले जाडो महिनाको दूधलाई सुकाएर पाउडर बनाउँछन् । गर्मी महिनामा दूधको उत्पादन २० देखि ३० प्रतिशत घट्छ । यस्तो अवस्थामा दूधको आपूर्तिलाई नियमित गर्न त्यो पाउडरलाई प्रयोग गरिन्छ । हिउँदको पाउडर दूध गर्मी  महिनामा दूध कम भएको बेला प्रयोग गर्ने हो ।

किसानहरूको दूध बिक्री नहुने नहोस् भनेर हामीले धमाधम दूध किन्यौँ । त्यो किनेको दूधको पाउडर बनायौँ । गर्मीको समयमा त्यो पाउडरलाई बिक्री गर्ने भनेर ढुक्क साथ हामीले धुलो दूध बनायौँ । तर, गर्मीमा समेत त्यो धुलो दूध खपत (प्रयोग) भएन । अनि भुक्तानीमा सकस पर्‍यो।

मूल समस्या ‘मन्दी’

विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्स आप्रवाह बढेको देखाएर अर्थतन्त्र सुधार भयो भनेर सरकारले भनिरहेको छ । तर, आन्तरिकरुपमा सरकारले भनेजस्तो सुधार भएको छैन । बैंकहरुसँग यतिधेरै पैसा थुप्रिएको छ । बैंकबाट बजारमा पैसा जानु नसक्नु भनेको अर्थतन्त्रको समस्या अझै कायम छ भन्ने संकेत पनि हो ।

दूधको उद्योगमा पनि यहि मन्दीका कारण समस्या सिर्जना भयो । बजारमा माग घट्यो । तर, दूधको आपूर्ति घटेन । हामीले सोचे जसरी किसानबाट आउने दूध घट्नु पर्ने हो, तर त्यो घटेन ।

नेपाली बजारमा माग नै छैन । दूध जस्तो कुरामा त नेपाली बजारमा यस्तो हालत छ भने अरूमा के होला ? सरकारले जे जति भनेपनि नेपालमा मन्दी छ । मन्दीको असर सबै क्षेत्रमा परेको छ ।

मन्दीको असरमा परेकाहरूको बारेमा सरकारले राम्रोसँग अध्ययन गरेर आगामी आर्थिक वर्षको बजेटले समेट्नु पर्छ । उद्योग, व्यवसाय चलायमान बनाउने खालको नीति बजेटले ल्याएन भने धेरै गाह्रो हुन्छ ।

बिकेन पाउडर र बटर

अहिले हामीसँग ठूलो मात्रामा पाउडर, बटर छ । फर्म र यो सेक्टरका उद्योगहरूमा पाँच देखि ६ अर्ब रुपैयाँ बराबरको पाउडर र बटर थन्किएर बसेको छ ।

एकातिर किसानहरूले दूधको भुक्तानी मागिरहेका छन् । उनीहरूले भुक्तानी माग्नु स्वाभाविक पनि हो । दैनिकरुपमा खपत भएको दूधको पैसा दिएपनि पाउडर बनाएको दूध र बटर मार्फत किनेको पैसा हामीले भुक्तानी गर्न सकिरहेका छैनौँ । 

पहिले हामीले गर्मीको समयमा पाउडरलाई घोलेर बिक्री गर्ने भएकोले त्यसबेला भुक्तानीमा समस्या थिएन । अहिले जस्तो दूध बिक्री र भुक्तानीको समस्या यसअघि थिएन । लामो समयपछि हामीले त्यो समस्या झेलिरहेका छौँ ।

किसानको भुक्तानी नदिने भन्ने हाम्रो सोच हुँदै होइन । हाम्रो उद्योगको स्टोरहरूमा पाउडर, बटर स्टक निकै धेरै नै छ । त्यो बिक्री नभएर नै हामीले भुक्तानी दिन नसकेको हो । यस्तो समस्या हामीले पहिलो पटक झेलिरहेका छौँ ।

निर्यात उपयुक्त विकल्प

स्टक भएको पाउडर र बटर नेपाली बजारमा बिक्री भएन । तर, हामीले निर्यात गर्न सक्छौँ । हामीले भारत, बंगलादेश, पाकिस्तान जस्ता छिमेकी मुलुकहरूमा निर्यात गर्ने सम्भावना छ । किसानको समस्यालाई बुझेर सरकारले यसमा सहयोग गर्नु पर्छ । यदि त्यो पाउडर र बटर निर्यात गर्न सकियो भने किसानले भुक्तानी पाउने  मात्र होइन दूध उत्पादनमा ढुक्क भएर लाग्न सक्ने वातावरण बन्न सक्छ ।

यसका लागि राष्ट्रिय दुग्ध विकास बोर्डको निमित्त कार्यकारी निर्देशकको संयोजकमा एउटा कमिटी बनेको छ । त्यसमा सरकार, किसान र उद्योगका प्रतिनिधि हुनुहुन्छ । वैशाखदेखि माघ महिनासम्मको स्टक पाउडर, बटर कति हो, यसका समस्या के के हुन् भन्नेबारे अध्ययन भइरहेको छ ।

बंगलादेशले नेपालबाट पाउडर, बटर खरिद गर्ने इच्छा देखाइरहेको छ । तर, त्यसका लागि केही सस्तो बनाइदिनु पर्छ भनेर मागिरहेको छ । उसले मागे अनुसारको सस्तो मूल्य कायम गर्दा त्यसमा पर्ने आर्थिक भारको ८० प्रतिशत सरकारले व्यहोरोस् र २० प्रतिशत हामी उद्योगीहरू व्यहोछौँ भनेर समेत हामीहरूले भनिरहेका छौँ । स्टकको पाउडरमा निर्यात बाहेक अरू विकल्प छैन । यसबारे सरकार सकारात्मक बन्नु पर्छ ।

सरकारले गर्नुपर्ने काम

किसानको लागत खर्च घटाउनका लागि विभिन्न कार्यक्रमहरू दिनु पर्‍यो । घासेबालीदेखि गोठ सुधारसम्मको कामहरू हुनुपर्‍यो । आगामी आवको बजेटले यो कुरालाई समेट्नु पर्छ, सम्बोधन गर्नु पर्छ । उद्योगको लागत खर्च घटाउनका लागि पनि प्याकेजिङ मटेरियलहरु (जुन हामीले आयात गरिरहेका छौँ) त्यसलाई एक प्रतिशत विन्दुमा झारिदिनु पर्छ ।

भारतको दुग्ध विकास बोर्डलाई त्यहाँको सरकारले चार हजार करोड पैसा दियो । तर, हाम्रो नेपाल सरकारले राष्ट्रिय दुग्ध विकास बोर्डलाई पाँच करोड नेपाली रुपैयाँ दियो । त्यसमा पनि तीन करोड तलब भत्तामै जान्छ । बाँकी दुई करोड रुपैयाँले के हुन्छ ?

कृषि तथा पशुपन्छी मन्त्रालयमा पनि पैसा आउँछ । तर, आजसम्म हामीलाई के थाहा छैन भने त्यो पैसा कुन शीर्षकमा आएको हो, के का लागि आएको हो ? त्यसबारे हामीलाई केही जानकारी नै हुँदैन । आउँछ तर कता जान्छ केही थाहै हुँदैन ।

हरेक वर्षको अन्तिम तीन महिनामा बजेटको खर्च गर्न थालिन्छ । तर, त्यसबेला बजेटको यति प्रतिशत हामीले डेरी उद्योगहरूमा लगायौँ । यसको प्रतिफल यति आयो भनेर सार्वजनिक गर्नु पर्छ की पर्दैन ? आजसम्म यस्तो काम भएको जानकारी नै छैन ।

कृषि तथा पशुपन्छी भनेर पैसाहरू आइरहेको हुन्छ । आन्तरिक र बाह्य दुवै स्रोतबाट आइरहेको छ । त्यो कहाँ गएको छ थाहै छैन ।

साँच्चै नै किसान र उद्योगको आवश्यकता के हो भनेर त्यो बुझ्ने काम नै भएको छैन । उनीहरूको पिडा के छ भनेर बुझ्ने काम नै भएको छैन । पहिले हाम्रो पिडा सरकारले बुझ्नु पर्‍यो । यो समस्या बुझ्ने काम भएन ।

सरकारले निजी क्षेत्रलाई प्राथमिकतामा राखेको छ भनेर भन्ने गर्छ । तर, यस्तो जति भनेपनि निजी क्षेत्रलाई महत्त्वपूर्ण कार्यक्रम त्यो गर्दा सरकारले सामेल नै गर्दैन ।

दुग्ध पदार्थसम्बन्धी तीन वर्षअघि एउटा निर्देशिका जारी भएको थियो । त्यसमा कुनै पनि पसलबाट दुग्ध पदार्थ बिक्री वितरण गर्दा अनिवार्य प्याकेजिङ र लेभलिङ हुनुपर्छ भनेर उल्लेख छ । तर, त्यो हालसम्म कार्यान्वयन आएको छैन । यसलाई कार्यान्वयन गर्न कसले रोकेको छ ?

भ्याट छलीका सामानहरू सस्तोमा बजारमा आइरहेका हुन्छन् । तर, हामीले भ्याट तिरेका सामानहरू भने केही महँगो पर्न जान्छ । यसले गर्दा ग्राहकले सस्तोमा सामान किन्छन् । हामी मार्कामा पर्छौ र परिरहेका छौँ । 

यसबाट उपभोक्तासँगै सरकारलाई पनि घाटा छ । कति स्वस्थ छ, गुणस्तरीय छ की छैन भन्ने कुरा त्यसमा कुनै उल्लेख भएको हुँदैन । यता सरकारले पनि राजस्व गुमाइरहेको छ ।

त्यसो गर्नेहरूलाई ऐन कानुनको कुनै मतलब नै छैन । तर, हामी कानुनीरुपमा चलेकाहरूले सबैभन्दा बढी दुख पाइरहेका छौँ । 

(सीताराम गोकुल मिल्कको सञ्चालक केडिया नेपाल उद्योग वाणिज्य महासंघको सदस्य समेत हुन् ।)

Image

मन्त्री पदम गिरीका अनुसार आगामी अधिवेशनमा विभिन्न समितिमा छलफलका क्रममा रहेका विधेयकहरूलाई छिट्टै टु...

Image

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले नेपालले विश्वभरी ब्राण्डेड गरेर बेच्ने सामान उ...

Image

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३४ हजार ५ सय रुपैयाँ रह...

Image

प्रधानमन्त्रीले रारामा पर्यटकको आकर्षणका निम्ति राज्यको तर्फबाट पूर्वाधार विकासमा सहयोग गर्ने विश्वा...

Image

नेपालको  संविधान २०७२ ले श्रमसम्बन्धी हकलाई मौलिक हकको रुपमा व्याख्या गरेको भन्दै चेम्बरले सामाजिक स...

Image

काठमाडौं । यहाँस्थित भारतीय राजदूतावासले नेपाल लगानी बोर्ड र नेपाल&nda...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४