शीर्षकहरू

साढे ३९ प्रतिशतले बढ्यो तारागाउँ रिजेन्सी होटल्सको नाफा

साढे ३९ प्रतिशतले बढ्यो तारागाउँ रिजेन्सी होटल्सको नाफा

काठमाडौं । तारागाउँ होटल्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३३ करोड ३२ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यस अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ३९ दशमलव ५४ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले २३ करोड ८८ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । 

यस वर्ष कम्पनीको कुल आम्दानी १२ प्रतिशतभन्दा बढी भएकोले खुद नाफा बढेको देखिन्छ । गत वर्ष १ अर्ब १ करोड रूपैयाँभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष १ अर्ब १३ करोड रूपैयाँभन्दा बढी यो आम्दानी गरेको हो । ४ प्रतिशत बोनस शेयरमार्फत पूँजी बृद्धि गरी १ अर्ब ९६ करोड २१ लाख २० हजार रूपैयाँ कायम गरेको कम्पनीको जगेडा कोष रकम पनि करिब ४२ प्रतिशत बढेर ७२ करोड ९७ लाख रूपैयाँभन्दा बढी भएको छ ।

कम्पनीको कुल दायित्व रकम १ अर्ब ३९ करोड रूपैयाँभन्दा बढी रहेको कम्पनीको कुल सम्पत्ति भने ४ अर्ब ८ करोड रूपैैयाँभन्दा बढी रहेको छ । गत वर्षको तुलनामा कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत वर्ष यस अवधिसम्म १२ रूपैयाँ ६६ पैसा रहेको कम्पनीको प्रतिशेयर आम्दानी यस वर्ष १६ रूपैयाँ ९९ पैसा कायम भएको हो । कम्पनीको प्रतिशेयर नेटवर्थ पनि गत वर्ष १२७ रूपैयाँ २४ पैसा रहेकोमा यस वर्ष १३७ रूपैयाँ १९ पैसा कायम भएको छ । गत वर्षको तुलनामा यस वर्ष होटल्सका सबै अवस्थामा बृद्धि भएको देखिन्छ ।