शीर्षकहरू

राष्ट्र बैंकले गर्‍यो ६ बैंकलाई कारबाही, कुन कुन परे ?

राष्ट्र बैंकले गर्‍यो ६ बैंकलाई कारबाही, कुन कुन परे ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चार वाणिज्य बैंकसहित ६ बैंकलाई कारबाही गरेको छ । बिहीबार राष्ट्र बैंकको सुपरिवेक्षण विभागले ६ बैंकलाई कारबाही गरेको हो ।    

राष्ट्र बैंकका अनुसार कारबाहीमा पर्ने वाणिज्य बैंकहरुमा प्राइम कमर्सियल बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र लक्ष्मी सनराइज बैंक रहेका छन् । 

प्राइम कमर्सियल बैंकले कर्जा सापटको वर्गीकरण नगरेको र कर्जा नोक्सानी बापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको पाइएको छ । यसबारे प्रचलित कानुन र यस बैकबाट जारी भएका नीति, निर्देशन तथा नियमनको परिपालना भए नभएको सम्बन्धमा सञ्चालक समितिबाट पर्याप्त अनुगमन नभएको हुँदा प्राइम कमर्सियल बैंक लिमिटेडको सञ्चालक समितिलाई राष्ट्र बैंकले सचेत गराएको छ । 

त्यस्तै,  कुमारी बैंकले पनि कर्जा सापटको वर्गीकरण नगरेको र कर्जा नोक्सानी बापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेका पाइएको छ । यस बैंकले प्रमुख कार्यकारीको तलब भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गदर्शनको व्यवस्थाभन्दा प्रतिकूल हुनेगरी तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई तलब भत्ता र सुविधा दिने गरी करार सम्झौता गरेको समेत पाइएको छ । कार्यसम्पादन नै नगरेको १३ महिना १६ दिनको पारिश्रमिक भनी २ करोड ३ लाख भुक्तानी दिने निर्णय गरेकोले कुमारी बैंक लिमिटेडको सञ्चालक समितिलाई उक्त रकम ३५ दिनभित्र असुल उपर गर्न राष्ट्र बैंकले निर्देशन दिएकोमा सो रकम असुलउपर भएको छ ।  

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराएको छ । यस बैंकको कमलादी शाखाबाट खोलिएको प्रतितपत्र बैंककै कालीमाटी शाखाले कन्फर्म गरी सो प्रतितपत्र अन्तर्गत भएको कारोबारमा विभिन्न मितिमा निवेदक कम्पनीबाट प्रमिसोरी नोट जारी गरी बेनिफिकरीबाट बैंकले कुल रु.४१.३६ करोड बराबरको बिल्स पर्चेज गरी कर्जा सापटमा देखाएको छ । सो प्रतितपत्रको म्याचुअरिटी डेट बारम्बार थप गरी सो कर्जालाई २०७९ चैत्र मसान्तसम्म इभरग्रिन गरी असल कर्जाकै रूपमा देखाई यस बैंकबाट जारी एकीकृत निर्देशन विपरीत कार्य गरेको पाइएको छ । 

लक्ष्मी सनराइज बैंक लिमिटेड (साविक लक्ष्मी बैंक लिमिटेड) को १ प्रतिशतभन्दा बढी शेयर धारण गरेका संस्थापक शेयरधनी राजेन्द्र कुमार खेतानलेसोही बैंकको ऋणी पंकज झुनझुनवालालाई प्रवाह गरेको रु.१२ करोड कर्जा मध्ये रु. ११ करोड ४४ लाख रकम आफ्नो खातामा ट्रान्सफर गरी÷गराई उपयोग गरेको थियो ।  उक्त कर्जाको ब्याजसमेत निज खेतानको खाताबाट ट्रान्सफर गरी÷गराई भुक्तानी भएकोले यस बैंकबाट बैंक तथा वित्तीय संस्थालाई जारी एकीकृत निर्देशन बमोजिम निज राजेन्द्र कुमार खेतानलाई रु. १० लाख जरिवाना गरिएको छ । 

साथै, लक्ष्मी सनराइज बैंक (साविक लक्ष्मी बैंक लि.)बाट प्रवाह भएको कर्जा बैंकका शेयरधनीको खातामा ट्रान्सफर भएको देखिएको र बैंकले समयमा नै उक्त कर्जाको सदुपयोगिता अनुगमन गरेको नदेखिएकोले उक्त कर्जा स्वीकृतिमा संलग्न बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंकले सचेत गराएको छ । 

राष्ट्र बैंकले लुम्बिनी विकास बैंक र एक्सल डेभलपमेन्ट बैंकलाई पनि कारबाही गरेको छ । लुम्बिनी विकास बैंकबाट वित्तीय संस्थामा ग्राहक पहिचान तथा सम्पुष्टि पर्याप्त मात्रामा हुन नसकेको र शंकास्पद कारोबार तथा गतिविधि पहिचान गर्ने प्रणाली पूर्ण रूपमा लागू हुन नसकेको पाइएकाले कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।