शीर्षकहरू

प्रभु इन्स्योरेन्सको ५ प्रतिशत लाभांश पारित

५०.१५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव

प्रभु इन्स्योरेन्सको ५ प्रतिशत लाभांश पारित

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । तीनकुनेस्थित केन्द्रीय कार्यालय 'प्रभु कम्प्लेक्स' मा बिहीबार सम्पन्न वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९/०८० को आर्थिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीले प्रस्ताव गरेको ५ प्रतिशत लाभांश पारित गरेको छ ।

साधारण सभाले ४.७५ प्रतिशत बोनश शेयर तथा बोनश शेयरमा लाग्ने कर बापत ०.२५ प्रतिशत नगद लाभांश गरी जम्मा ५ प्रतिशत लाभांश स्वीकृत गरेको हो ।

वार्षिक साधारण सभाले कम्पनीको संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुमा राहुल थोकर लामा र मिजास भट्टचनलाई सर्वसम्मत रुपमा चयन पनि गरेको छ । साथै सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुमा रामेश्वर सापकोटा, राजेन्द्र मल्ल र साङ्गे लामालाई निर्वाचित गरेको छ । 

त्यसैगरी कम्पनीले नेपाल बीमा प्राधिकरणबाट तोकिए बमोजिमको चुक्ता पुँजी रु.२ अर्ब ५० करोड पुर्याउनका लागि स्वीकृत बोनस शेयर वितरणपश्चात कायम हुने चुक्ता पुँजीको ५०.१५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव समेत पारित गरेको छ । 

वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कुसुम लामाले कम्पनीले निरन्तर रुपमा आफ्नो व्यावसाय वृद्धि गर्दै संस्थागत शुशासन, आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्दै समग्र रुपमा बीमा क्षेत्रमा देखिने जोखिम व्यवस्थापनलाई न्यूनीकरण गर्नेतर्फ विशेष ध्यान दिई कार्य अगाडि बढाएको बताए ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समाजसँग जोडिएर काम गर्ने र समुदायको दिगो आर्थिक र सामाजिक विकासको प्रवर्द्धन र उत्थानमा अग्रसर हुने नीतिलाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएकोमा तिनलाई निरन्तरता दिने उनको भनाइ थियो ।