शीर्षकहरू

'फुड फेस्ट'मा प्रयोग भएका डेढ सय साइकल बेच्दै पठाओ

'फुड फेस्ट'मा प्रयोग भएका डेढ सय साइकल बेच्दै पठाओ

काठमाडौं । राइड सेयरिङ एवम् फुड डेलिभरी कम्पनी पठाओ नेपालले 'पठा‌ओ फुड फेस्ट २०२४' मा प्रयोग भएका डेढ सय साइकल बेच्ने तयारी गरेको छ । फुड फेस्टको समयमा कम्पनीले डेलिभरीका लागि खरिद गरेका साइकल बेच्न लागेको पठाओ स्रोतले जनाएको छ ।

पठाओले चैत अन्तिमदेखि वैशाख २१ गतेसम्म  ‘दोस्रो पठाओ फूड फेस्ट २०२४’ सञ्चालन गरेको थियो । जसअन्तर्गत बढी मूल्यका परिकारहरू ९९ रुपैयाँमै उपलब्ध थिए ।  फेस्टको बम्पर प्राइजमा भाग्यशाली विजेताका लागि आइफोन १५ देखि विभिन्न पुरस्कारहरु समेत राखिएका थिए ।

यस अवधिमा दुई लाख ६० हजार भन्दा बढी अर्डर डेलिभरी कम्पनीले गरेको थियो । कम्पनीले अत्यधिक माग आएपछि करिब २० लाख रुपैयाँमा डेलिभरीका लागि १५० वटा साइकल खरिद गरेको थियो । फेस्ट सकिएसँगै पठाओले ७ हजारदेखि ९ हजार रुपैयाँसम्ममा ती साइकलहरु राइडरहरुका लागि बेच्न आह्वान गरेको हो ।

पठा‌ओले मूल्यभन्दा करिब आधा मूल्यमा बेच्न लागेका साइकलहरु १० देखि १५ दिन मात्रै चलेको बताइएको छ ।