शीर्षकहरू

न्यायमा सबैको पहुँच सहज पुर्याउन प्रविधिको प्रयोग बढाइन्छ : प्रधानन्यायाधीश

विगतका वर्षभन्दा यस वर्ष पुराना मुद्दाको फछ्यौट बढी भएको दावी

न्यायमा सबैको पहुँच सहज पुर्याउन प्रविधिको प्रयोग बढाइन्छ : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले न्यायमा सबैको सहज पहुँच पुर्याउन सूचना प्रविधिको प्रयोगलाई अझ बढाउँदै जाने बताएका छन् ।

कानुन दिवसका अवसरमा शुभकामना वक्तव्य जारी गर्दै प्रधानन्यायाधीश श्रेष्ठले भनेका छन्, 'न्यायमा सबैको सहज पहुँच पुयाउन सूचना प्रविधिको प्रयोगलाई अझ बढाइँदै जाने कुरा आजको यस महत्त्वपूर्ण दिनमा म सबैमा जानकारी गराउन पनि चाहन्छु ।'

नेपालको संविधानले न्यायपालिकालाई सुम्पिएको न्याय सम्पादनको गहन र महत्त्वपूर्ण जिम्मेवारी प्रभावकारी रूपमा सम्पादन गर्नको लागि पञ्चवर्षीय रणनीतिक योजनामार्फत न्यायिक सुधारका विभिन्न कार्यहरू अगाडि बढाइएको पनि उनले बताए । उनले विगतका वर्षभन्दा यस वर्ष पुराना मुद्दाको फर्छ्यौट बढी भएको पनि दावी गरे ।

'अदालतहरूमा विगतका वर्षहरूमा भन्दा यस वर्ष विशेषतः पुराना मुद्दाको फछ्यौट बढी भएको तथ्याङ्कबाट देखिन्छ,' उनले भनेका छन् । आगामी वर्षहरूमा समेत पुराना मुद्दाहरूको फछ्यौट हुन गई सर्वसाधारणले छिटो छरितो रूपमा न्याय प्राप्त गर्न सक्ने विश्वास उनले व्यक्त गरे ।

न्यायपालिकाको क्रमिक र समयसापेक्ष सुधारको विषय न्यायपालिका मात्रको नभई यसका सबै सरोकारवालाहरूको साझा चासो र सरोकारको विषय भएकाले न्याय सम्पादनको कार्यलाई प्रभावकारी बनाउन सरोकारवाला निकायहरु  महान्यायाधिवक्ताको कार्यालय एवं नेपाल बार एशोसिएशनलगायतका अन्य निकायहरूको समन्वय र सहकार्य सदैव आवश्यक र अपेक्षित रहने उनले बताएका छन् ।