शीर्षकहरू

जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रर्दशनी

जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रर्दशनी

काठमाडौं । मिथिला चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रयान्कफर्ट सहरमा शनिबार सम्पन्न भएको छ । आफ्नो बहुदेशीय एकल चित्रकला प्रदर्शनीका लागि राष्ट्रिय ललितकला पुरस्कार विजेता यादव अहिले ३३ दिवसीय युरोप कला यात्रामा छन । उनले युरोपका जम्मा चार वटा देशको भ्रमण गर्नु हुनेछ भने तीन देशमा एकल चित्रकला प्रदर्शनी गर्ने कार्यक्रम छ ।

नेपाली समाज जर्मनीले फ्र्यान्कफर्टमा आयोजित नेपाल डेको अवसरमा एकल चित्रकला प्रदर्शनी आयोजना गर्न चित्रकार यादवलाई नेपालबाट आमन्त्रण गरेको थियो । नेपाली समाजले प्रत्येक वर्ष अप्रिल २० तारिखमा नेपाल डे मनाउँदै आएको छ । त्यस अवसरमा रन्जु यादवका २४ वटा चित्रहरु प्रदर्शनीमा राखिएको थियो । 

कार्यक्रममा चित्रकार यादवले नेपालमा मिथिला कलाको विकास, आफ्नो कला यात्रा र समाज रुपान्तरणमा आफ्ना चित्रहरुको प्रभावबारे कार्यपत्र प्रस्तुत गरे । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले चित्रकार यादवको चित्रकला प्रदर्शनीले नेपाली कला संस्कृतिको जर्मनीमा प्रवद्र्धन हुने र यसले फ्र्यान्कफर्टजस्तो अन्तर्राष्ट्रिय सहरमा नेपालको सांस्कृतिक कुटनीतिमा सघाउ पुग्ने विचार व्यक्त गरे ।

राजदूत खड्काले जर्मनीमा मिथिला चित्रकला प्रदर्शनी आयोजना गर्न भूमिका खेलेको नेपाली समाज र चित्रकार यादवमाथि आफूलाई गर्व लागेको बताए । नेपाली समाजका अध्यक्ष शिव अधिकारीका अनुसार जर्मनीका विभिन्न सहरबाट आएका करिब दुई सय पचास जना नेपाली र जर्मन नागरिकहरु कार्यक्रममा सहभागी थिए भने उनीहरुले चित्रकार यादवको एकल चित्रकला प्रदर्शनीलाई गम्भीरतापूर्वक अवलोकन गरेका थिए ।