शीर्षकहरू

हराएका २४ सवारी साधन सम्बन्धित व्यक्तिलाई हस्तान्तरण

हराएका २४ सवारी साधन सम्बन्धित व्यक्तिलाई हस्तान्तरण

काठमाडौं । विभिन्न मितिमा हराएका २४ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले हस्तान्तरण गरेका हुन् । 

जसमा १९ वटा मोटरसाइकल र ५ वटा स्कुटर रहेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा पेप्सीकोला, कपन, गौशाला, बौद्ध, माछापोखरी, सीतापाइला, स्वयम्भू, जावलाखेल, इमाडोल र थलि लगायतका विभिन्न स्थानबाट हराएका सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।  

आज बुझाइएका २४ वटासहित ३३५ वटा सवारी साधन चालु आर्थिक वर्षको हालसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ । अवैध रूपमा नेपाल भित्रिएका १७ वटा सवारी साधनलाई भने भन्सार कार्यालयमा बुझाइएको श्रेष्ठले बताए ।