शीर्षकहरू

एकैपटक ३०० क्रू सदस्य बिरामी बिदामा बसेपछि एयर इन्डियाका ७८ उडान रद्द

एकैपटक ३०० क्रू सदस्य बिरामी बिदामा बसेपछि एयर इन्डियाका ७८ उडान रद्द

एजेन्सी । भारतीय एयरलाइन्स कम्पनी एयर इन्डियाका ३०० भन्दा बढी चालक दलका सदस्य (क्रू मेम्बर) बिरामी बिदामा बसेपछि उडान प्रभावित भएको छ । बिना जानकारी एकैपटक ठूलो संख्यामा कर्मचारी बिदामा बसेपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका हुन् ।

मंगलबार राति एकैपटक चालक दल सदस्यहरुले बिरामी भएको सूचना दिई बिदा बसेका थिए । मंगलबार साँझै केही उडान डिले भएकोमा त्यसयता कम्तिमा ७८ वटा उडान प्रभावित भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कर्मचारीहरु बिदामा बसेपछि कम्पनीले एक सूचना जारी गर्दै उक्त घटनाबारे बुझ्न बिदामा बसेका चालक दल सदस्यहरुसँग कुरा गरिरहेको भन्दै यात्रुहरुसँग क्षमा मागेको छ । कम्पनीले टिकटको पैसा फिर्ता गर्ने वा यात्रुको आवश्यकता अनुसार अन्य दिनमा सार्ने प्रतिबद्धता जनाएको छ ।

सरकारी स्वामित्वमा रहेको एयर इन्डिया एयरलाइन्स २ वर्षअघि मात्रै भारतीय निजी कम्पनी टाटाले खरिद गरेको थियो । टाटाले श्रमिक र कर्मचारीबीच तलब, भत्तादेखि सबै प्रकारका सेवा, सुविधामा विभेद गरेको भन्दै कर्मचारीहरुले विरोध गरिरहेका थिए । जसकारण आन्दोलनमा जाने चेतावनीसहित एकैपटक ठूलो संख्यामा कर्मचारीहरु बिदामा बसेको स्रोतको हवाला दिँदै न्यूज १८ हिन्दीले जनाएको छ ।

ठूलो संख्यामा एयर इन्डियाको उडान रद्द भएपछि नेपालसहित विभिन्न देशका यात्रुहरु अलपत्र परेका छन् ।