‘अर्थतन्त्र अपेक्षाकृत गतिशील हुनसकेको छैन’

४ बैशाख २०८१

cover image

-जुलीकुमारी महतो

यथार्थमा देशको अर्थतन्त्र अपेक्षाकृत गतिशील हुनसकेको छैन । आर्थिक क्षेत्रमा एउटा  पक्ष बिग्रिनेबित्तिकै त्यसले सबैतिर असर पार्छ  । अर्थतन्त्रले उद्योगी– व्यवसायीदेखि गृहिणीसम्मलाई असर पारेको छ । महँगी नियन्त्रण गर्ने, सुशासन कायम, भौतिक पूर्वाधार निर्माणलगायत महत्त्वपूर्ण काम प्रभावकारी रूपमा हुनसकेका छैनन् । सरकार परिवर्तन भएपछि जनताले यस दिशामा केही सकारात्मक परिणाम प्राप्त हुन्छ भन्ने आशाचाहिँ गरेका छन् । 

अहिले दिनहुँजसो मिटरब्याजपीडित, सहकारीपीडितका समस्या, किसानका समस्या, उद्योगी–व्यवसायीका समस्या सार्वजनिक भइरहेका छन् । सुशासनको प्रत्याभूति हुनसकेको छैन । सरकारले सेवाप्रवाह सहज रूपमा  गराउन नसकेको जनताले गुनासो गरिरहेका छन् ।

मुलुकका लागि अत्यावश्यक कानुन शीघ्र पारित गरेर कार्यान्वयनमा जानुपर्छजस्तो लाग्छ । कतिपय नियमावली पनि संसद्ले नै बनाउने हो तर संसद्भित्रको प्रक्रिया लामो हुने भएकाले एउटा विधेयक पारित गर्न पनि धेरै समय लागेको देखिन्छ । हाम्रो संसद्मा दलीय प्रभाव ठूलो  छ । सांसदहरू पनि स्वतन्त्र हुनसकेका छैनन् । जति भूमिका सांसदको हुनुपर्ने हो त्यति हुन पाएको छैन । 

संसद्मा कुनै पनि दलको अहिले एकल बहुमत छैन । यस्तो अवस्थामा गठबन्धन सरकार बन्नु स्वाभाविक हो । तर एकल बहुमतसहितको सरकार भए त्यो पाँच वर्ष चल्थ्यो, र त्यसले मुलुकको विकास, समृद्धि र स्थायित्व दिन सक्थ्यो । छिटोछिटो सरकार परिवर्तन हुने भएपछि धेरै काममा बाधा उत्पन्न हुन्छ । अघिल्लो सरकारले ल्याएका कतिपय विधेयक अलपत्र पर्ने र नयाँ विधेयक ल्याउन पनि समय लाग्ने अवस्थाले समग्र कानुन निर्माणमा नकारात्मक प्रभाव पारेको स्पष्टै छ । अझ सानातिना विषयमा पनि सदन अवरुद्ध गर्ने परिपाटी मौलाएको छ । जनताका सुखदुःखको कुरा उठाउने सम्मानित सदनलाई दलभन्दा माथि उठेर सोच्न र व्यवहार गर्नुपर्छ । संसद् अवरोध नगरी आफ्ना विषयवस्तु राख्ने, सरकारको ध्यानाकर्षण गराउने, दबाब दिने अरु उपायतर्फ विचार गर्नुपर्ने बेला आइसकेको छ ।

अहिले कामको खोजीमा होस् वा अध्ययनका लागि युवाको विदेश पलायन तीव्रगतिमा भइरहेको छ । देशमा केही नै छैन र यहाँ केही पनि हुँदैन भन्ने सोच हाबी भइरहेको छ । सरकारले हाल बन्द भएका उद्योग पुनः सञ्चालन गर्न र नयाँ उद्योगको अवधारणा ल्याएर देशभित्रै रोजगारीका अवसर सिर्जना गर्नुपर्छ ।

शिक्षामा पनि व्यापक सुधारको खाँचो छ । देशभित्रै सुलभ र सहज रूपमा उच्च अध्ययन गर्न पाउने वातावरण मिलाउन ढिला भइसक्यो । अहिले आफूले रोजेको विषय पढ्न चाहना राख्ने मेधावी विद्यार्थीले पनि भर्ना नै हुन पाउँदैनन् । कतिपय शैक्षिक संस्थामा शुल्क निकै महँगो छ । विश्वविद्यालयमा छिटो काम नहुने, परीक्षाफल ढिलो प्रकाशित गर्ने आदि समस्या वर्षौँदेखि देखिएका छन् । नेपाललाई शिक्षाको हब बनाउन सकिने सम्भावना प्रशस्त छ । विदेशी विद्यार्थीले पनि नेपाली शिक्षण संस्थाबाट शिक्षा लिनसक्ने वातावरण बनाउन सकिन्छ । तर जति कार्यान्वयन हुनुपर्ने हो, त्यो पाटोमा भने ध्यान दिन सकिएको छैन ।

मुलुक सङ्घीयतामा गइसकेपछि अहिले तीन तहको सरकार छ । मेरो जोड भनेकै तीनै तहका सरकारले सेवाप्रवाहलाई केन्द्रमा राखेर काम गर्नुपर्छ भन्ने हो । म मधेस प्रदेशबाट प्रतिनिधित्व गर्छु । त्यहाँ अहिले धेरैजसो खेत बाँझो हुन थालेको छ । कृषिप्रधान देश भन्छौँ नेपाललाई । कृषिमा हामी आत्मनिर्भर कसरी गराउन सक्छौँ भन्ने महत्त्वपूर्ण पाटो हो । हरेक उत्पादनमा रोजगारी जोडिन्छ । बेरोजगारीको समस्या समाधान मुखले भनेर हुँदैन । जबसम्म देशमा चाहिने कुरा पूरा हँुदैनन्, पानीबिनाको माछाजस्तै हुन्छ । जस्तै, रोजगारी र खानेकुरा नभई नहुने हुन् । अहिले हामीले ठूला कुरा सोच्नुभन्दा पनि हाम्रो जग कसरी बलियो बनाउने भन्नेमा सोच्नुपर्छ । उत्पादनतिर जोडेनौँ भने हाम्रो जग बलियो हुन सक्दैन । 

दुःखका साथ भन्नुपर्छ, अहिले हाम्रो मुलुकमा भ्रष्टाचार व्याप्त छ । चुहावट छ । किसानले समस्या भोगेकै छन् । समयमा मलखाद पाउँदैनन् । पूर्वाधार धेरै बन्न बाँकी छन् । पूर्वाधार नभई त विकास नै हुँदैन । कैयौँ उद्योग बन्द छन् । खुलेका पनि राम्ररी चल्न सकेका छैनन् । सरकारी अस्पतालमा चाप बढी छ । निजी अस्पतालमा शुल्क महँगो छ । विद्यालयमा पनि त्यही समस्या छ । खेलकुदका लागि मैदान छैन ।

अहिले विश्वभर नै आर्थिक मन्दी छ ।  जनताले भोग्नुपरेका महँगी, बेरोजगारीलगायत समस्या समाधानतर्फ वर्तमान सरकारले विशेष ध्यान दिनेमा म आशावादी छु । सबैले साझा सङ्कल्पका साथ मिलेर देश विकासका निम्ति आ–आफ्नो क्षेत्रबाट इमानदार प्रयास गर्नुपर्छ । हामी सबैले जे जानेका छौँ त्यो गरौँ । प्राकृतिक स्रोतले धनी देश हो नेपाल । अहिले नै सोच्यौँ भने भोलिका पुस्ताका लागि काम लाग्छ । हाम्रो एकमात्र उद्देश्य उन्नत राष्ट्र निर्माण हो । जनतालाई महसुस हुनेगरी हामी सबैले काम गर्नुपर्छ । निजी र सहकारी क्षेत्र दुवैले हातेमालो गरेर अघि बढ्नुपर्छ । देश र जनहितका काम गर्न  अब किञ्चित् विलम्ब गर्नु हुँदैन । (सांसद महतोसँग राससले गरेको कुराकानीको सम्पादित अंशः)     

Image

नीति वातावरण र सहुलियतको घोषणाका बाबजुद उद्योग व्यवसायमा खासै लगानी भएको छैन । बाह्य मात्र होइन, आन्...

Image

विगतका लगानी सम्मेलनमा भएका उपलब्धिहरुलाई अझ सुदृढ गर्दै त्यसको पतिफललाई अझ बढी प्रभावकारी कार्यान्व...

Image

दूरसञ्चार प्रदायक एउटा कम्पनीमा पूर्व राष्ट्रपतिका नातेदारलाई जागिर खुवाउनु परेको लाचार स्थिति मुनाफ...

Image

विविध परिस्थितिमा आयोजना भएको यस लगानी सम्मेलनले विगतमा सँगालिएका अनुभवका आधारमा सच्याउनुपर्ने विषय ...

Image

हामीले लगानीका कारण बढेको उत्पादनलाई निर्यात गर्ने वातावरण बन्छ । हामी दिगो विकासको दिशामा अघि बढ्न ...

Image

किनकि सुन बेचेको पैसा व्यापारीहरुले बैंकमा राख्दैनन् । सुन धितो राखेर वा बेचेर कमाएको पैसा व्यापारीह...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४