आज विश्व उपभोक्ता दिवस: चुलोदेखि अस्पतालसम्म ठगी, १०५ फर्मलाई जरिवाना


आर्थिकन्यूज

काठमाडौं, चैत्र १ । नेपालले ‘गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकारः हामी सबैको सरोकार’ भन्ने नाराका साथ आज विश्व उपभोक्ता दिवस विभिन्न कार्यक्रम गरेर मनाउँदै छ । हरेक वर्ष मार्च १५ का दिन अन्तर्राष्ट्रियस्तरमै विश्व विश्व उपभोक्ता दिवस मनाउन थालिएको हो ।

अमेरिकाले सन् १९८३ बाट विश्व उपभोक्ता दिवस मनाए पनि नेपालले भने २०५७ सालबाट यो दिवस मनाउन थालेको हो । खास गरी उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले चेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाउने गर्दछन् ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले फागुन २९ गतेदेखि चैत १ गते आजसम्म परिसंवाद, अन्तरक्रिया, छलफल प्रचार प्रसार, प्रभातफेरीलगायतका कार्यक्रम गरेर यस वर्षको विश्व उपभोक्ता दिवस मनाइरहेको छ ।

विभागले उपभोक्ताको अधिकार दिवस मनाइ रह्दा उपभोक्ता अधिकार स्थापिन गर्न लागेका अधिकारकर्मीले भने उपभोक्ताको अधिकार कागजमामात्रै सीमित भएको बताएका छन् । उपभोक्ताको हित व्यवहारमा नहुँदा उपभोक्ता ठगिरहेको राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल मर्हजनले बताए । ‘चूलोदेखि अस्पतालसम्म उपभोक्ता ठगिरहेका छन्,’ उनले भने‘ सरकारले गर्ने अनुगमनले बजारलाई नियन्त्रण गर्न सकेको छैन ।

एक त बजार अनुगमनका लागि तालिम प्राप्त जनशक्ति छैनन् भने अर्को तिर सरकारले नै प्रश्रय दिएर राखेका व्यवसायीमाथि सरकारको अनुगमन प्रभावाकरी हुन नसकेको आरोप उनले लगाए ।

उपभोक्ताको अधिकार संरक्षण गर्न उपभोक्ता संरक्षण ऐन, २०५४ आएपनि नियमावली नबन्दा यसले समेत प्रभाव देखिन सकेको छैन । ‘हुन त ऐनमा उपभोक्ताहरू आफूले उपभोग गर्ने वस्तु तथा सेवाबाट ठगिएमा अदालतसम्म जान पाउने व्यवस्था छ । जुन कागजमा मात्रै सीमित हुँदा उपभोक्ता आफ्नो अधिकारबाट बन्चित हुन परिरहेको छ ।

प्रर्याप्त स्रोत र साधनको अभावको कारण बजार अनुगमन पातलिएको विभागअन्तर्गतको आपूर्ति अनुगमन तथा उपभोक्ता संरक्षण शाखाका निर्देशक पवन कुमार तिमल्सिनाले बताए । विभागको यो शाखामा अनुगमन गर्न खटिने कर्मचारी जम्मा आठ जनामात्र भएकाले चाडपर्वका बेला विभागको स्रोतले नभ्याएका बेला सामान्य प्रशासन मन्त्रालयबाट समेत कर्मचारी मागेर अनुगमन गर्ने गरेको उनले जानकारी दिए ।

हामीले चालु आवको फागनुुसम्म एक हजार एक सय ९५ वटा फर्म तथा व्यापारिक केन्द्रको अनुगमन गर्यौ उनले भने ‘ यसमध्ये एक सय पाँच वटा फर्मलाई जरिवाना गरेर २५ लाख रुपैयाँ संकलन भएको छ ।’ उपभोक्ता संरक्षण ऐन, २०७५ ले गरेको व्यवस्था अनुसार कुनै पनि उपभोग्य वस्तु कम गुणस्तरको, मिसावट तथा अनुचित मूल्य लिएमा कसुर हेरी पाँच हजारदेखि तीन लाखसम्म जरिवाना गर्न पाउने व्यवस्था छ ।

विश्व उपभोक्ता दिवस मनाउनका लागि उद्योग वाणिज्य सचिवको संयोजनकत्वमा विभिन्न सरकारी, गैर सरकारी उपभोक्तावादीको संस्था सम्मिलित मूल समारोह समिति गठन गरेको छ ।

उपभोक्ता अधिकार कर्मीले त्यसको ठिक एक वर्षअघिबाट मार्च १५ दिन विश्व उपभोक्ता दिवस मनाउन थालेका थिए । उक्त दिन अमेरिकाका तत्कालिन राष्ट्रपति जोन एफ केनेडीले उपभोक्तालाई वस्तु तथा सेवा छनोट गर्न पाउने अधिकार, सुरक्षित उपभोग गर्न पाउने अधिकार, सूचना पाउने र वस्तु तथा सेवा उपभोग गर्दा मर्का परेमा सुनुवाई हुने अधिकारको घोषणा गरेका थिए ।

सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको सम्झनाम विश्वभर यो दिवस मनाइन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया