मर्यादाक्रममा पूर्वमन्त्री सांसदभन्दा पनि तल, अन्यको मर्यादा कुन स्थानमा ?


आर्थिकन्यूज

काठमाडौं, फागुन ३० । सरकारले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावको मर्यादाक्रम संशोधन गरेको छ । मर्यादाक्रमको सातमा रहेको नेपाल सरकारका पूर्वमन्त्री र क्रम सं ११ मा रहेको उच्च अदालतका मुख्य न्यायाधीश भन्ने बेहोरा हटाउने, क्रम सं ९ मा राखी सोको सूचना राजपत्रमा प्रकाशित गर्ने सरकारका प्रवक्ता तथा सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले पत्रकार सम्मेलनमा जानकारी दिए।

जसअनुरुप अब पूर्वमन्त्रीहरु माननीय सांसदभन्दा तल मर्यादाक्रम हुनेछ । मन्त्रिपरिषद् बैठकले चीन र नेपालबीचको पारवहन ढुवानी सम्झौता कार्यान्वयनको प्रोटोकल स्वीकृत गरी सोमा हस्ताक्षर गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ९वाणिज्य तथा आपूर्ति०लाई अख्तियार प्रदान गरेको छ ।

बैठकले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको रिक्त कार्यकारी निर्देशकमा मोरङका पितकुमार श्रेष्ठलाई पाँच वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको छ । सार्क सचिवालय, काठमाडौँमा एक र बिम्स्टेक सचिवालय, ढाकामा एक गरी नेपाल परराष्ट्र सेवा, राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव पद दुई सिर्जना गर्ने निर्णय गरेको छ । ‘औद्योगिक व्यवसायसम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५’ सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिइएको छ ।

सरकारले विदेशस्थित नेपाली नियोगमा सरुवा भइजाने नियोग प्रमुख तथा अधिकृत कर्मचारीले आफूसँग लैजाने सर्भिस स्टाफलाई आफ्नो कार्यकाल समाप्त भएपश्चात् नेपाल फिर्ता ल्याउने र राहदानी विभागमा बुझाउने करारनामा गर्नेगरी साधारण राहदानीको सट्टा विशेष राहदानीउपलब्ध गराउने निर्णय गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया