अन्ततः शेयर खरिद गर्दा प्यान नम्बर चाहिने विषयमा सरकारले घुँडा टेक्यो


आर्थिकन्यूज

काठमाडौं, फागुन ३० । अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने विषयमा सरकारले घुँडा टेकेको छ । लगानीकर्ताले चर्को विरोध गर्न थालेपछि वैशाखदेखि अनिवार्य रुपमा प्यान लगाउने विषयमा नेपाल धितोपत्र बोर्ड लचिलो भएको हो ।

बोर्डले विज्ञप्ति जारी गर्दै एकपटकमा पाँच लाखभन्दा बढी कारोबार गर्नेलाई मात्र प्यान अनिवार्य गरिएको छ भने त्योभन्दा कम कारोबार गर्नेलाई ऐच्छिक गरेको छ । ओरालो लागेको शेयर बजारलाई उकास्न लगानीकर्ताले हारगुहार गर्न थालेपछि सरकारले त्यस्तो निर्णय गर्न पुगेको हो ।

‘ओरालो लागेको मृगलाई गाईको बाच्छाले पनि खेद्छ’ भनेजस्तै शेयर बजारमा एकपछि अर्को गर्दै नयाँ नियम ल्याउन थालेपछि लगानीकर्ताहरु जुर्मुराउन थालेका थिए । लगानीकर्ताले आक्रोश व्यक्त गर्न थालेपछि सरकार घुँडा टेक्न बाध्य भएको हो ।

सरकारले आगामी वैशाखदेखि शेयर खरिदमा आनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) गर्ने तयारी थालेपछि लगानीकर्ता त्यसका विरुद्धका उत्रिएका छन् । बुधबारमात्र लगानीकर्ताले राजस्व सचिव लालशंकर घिमिरेलाई भेट गरी प्यान वैशाखदेखि अनिवार्य रुपमा लागु नगर्न आग्रह गरेका थिए ।

अर्को थरी लगानीकर्ताहरु अर्थमन्त्रीको बर्खास्तीको माग गर्दै आन्दोलनमा उत्रिएपछि सरकार डराए आफ्नो पूर्व निर्णयमा लचता देखाएको हो । शेयर लगानीकर्ता दबाब समूहले अर्थमन्त्री डा. युवराज खतिवडाको बर्खास्तीको माग गर्दै आठ दिने आन्दोलनको घोषणा गरेको छ । त्यसअवधिमा धितोपत्र बोर्ड तथा नेप्सेका प्रमुखसम्मको घर घेराउ गर्ने कार्यक्रम तय उनीहरुले गरेका छन् ।

दबाब समूहले घोषणा गरेको अन्दोलनका कार्यक्रममा चैत ९ गते पुँजी बजार विरोधी अर्थमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई आग्रह गर्ने, १० गते बोर्डका अध्यक्ष र कार्यकारी निर्देशकको घर घेराउ गर्ने, ११ गते नेप्सेका अध्यक्ष र कार्यकारीको घर घेराउ गर्ने, १२ गते सिंहदरबार क्षेत्रमा कालो बेलुन उडाउने, १३ गते बोर्डमा तालाबन्दी गर्ने, १४ गते लगानी सम्मेलनमा आउने विदेशी पाहुनालाई नेपालको पुँजी बजारको बारेमा अवगत गराउन विवरणपत्र बुझाउने, १५ गते विदेशी पाहुनासँग छलफल गर्ने र १६ गते प्रधानमन्त्री र अर्थमन्त्री जाने सार्वजनिक कार्यक्रममा विरोध प्रदर्शन गर्ने रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया