बढ्यो सरकारको ऋण, अब प्रत्येक नेपालीको टाउकोमा ३२ हजार ऋणको भारी


आर्थिकन्यूज

काठमाडौं, फागुन ३० । चालू आर्थिक वर्षको पहिलो छ महिनामा सरकारी ऋण बढेर साढे नौ खर्ब पुगेको छ । गएको आवमा आठ खर्ब ३० अर्ब ९८ करोड रहेको सरकारी बढेर नौ खर्ब ४२ अर्ब ८० करोड रुपैयाँ पुगेको हो ।

सरकारले गएको आवको पहिलो छ महिनाको तुलनामा यस आवमा वैदेशिक ऋण परिचालनमा उल्लेख्य वृद्धि गर्दा एकजना नेपालीको भागमा पर्ने साढे १३ प्रतिशतले ऋणभार बढेर ३१ हजार नौ सय ५७ रुपैयाँ पुगेको हो ।

आज फागुन ३० गते केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको नेपालीको कुल जनसंख्यालाई आधार मानेर यो हिसाब निकालिएको हो । आज बिहीबार नेपालको जनसंख्या दुई करोड ९५ लाख दुई हजार ४९ जना रहेको छ । चालू आवमा सार्वजनिक ऋणबाट सिर्जना भएको दायित्वलाई जनसख्या भाग गर्दा प्रतिनेपाली ३१ हजार नौ सय ५७ रुपैयाँ ऋण भार परेको हो ।

गत वर्ष एक जना नेपालमा २८ हजार तीन सय ६८ रुपैयाँ ऋण थियो । गएको आवको तुलनामा यस वर्ष प्रतिव्यक्ति तीन हजार पाँच सय ८९ रुपैयाँले ऋण भार थपिएको छ ।

गएको आर्थिक वर्षको पुसदेखि यस आर्थिक वर्षको पुससम्म राष्ट्रिय ऋण एक खर्ब ११ अर्ब ८१ करोड रुपैयाँले बढेका कारण हाल प्रतिव्यक्ति ऋण भार थपिएको हो ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालू आवको समीक्षा अवधिमा सरकारले लिएको ऋणमध्ये पाँच खर्ब ५७ अर्ब ३७ करोड वैदेशिक ऋणभार हो भने तीन खर्ब ८५ अर्ब ४२ करोड आन्तरिक (विकास ऋणपत्र, नागरिक बचतपत्र, ट्रेजरी बिल, वैदेशिक रोजगारपत्र) भएको महालेखा नियन्त्रक सूर्यप्रसाद गौतमले जानकारी दिए ।

सरकारले यस वर्ष राष्ट्रिय बचतपत्रबाट भने यो अवधिमा ऋण लिएको छैन । पुस मसान्तसम्म दुई खर्ब ९४ अर्ब ६१ करोड बहुपक्षीय वैदेशिक ऋण र दुई खर्ब ६२ अर्ब ७६ करोड द्विपक्षीय ऋण रहेको छ ।

गएको आवको समीक्षा अवधिमा सरकारले चार खर्ब ३६ अर्ब ४८ करोड वैदेशिक ऋण लिएको थियो भने आन्तरिक ऋणबाट तीन खर्ब ९४ अर्ब ४९ करोड आन्तरिक ऋण उठाएको छ ।

सरकारले गएको आर्थिक वर्षमै प्रतिव्यक्ति कुल तिर्न बाँकी ऋणको भार घट्ने अनुमान गरे पनि साँवा–ब्याज भुक्तानीको तुलनामा बढी ऋण लिएपछि नेपालीको टाउकोमा ऋण भार थप भएको हो । अझ आगामी वर्ष खर्चका स्रोतहरू बढेकाले यो ऋण अझै बढ्ने अनुमान अर्थ मन्त्रालयले गरेको छ ।

सरकारले चालू आवको लागि तीन खर्ब ११ अर्ब ८४ करोड वैदेशिक ऋण लिने योजना बनाएको छ । सो ऋणमध्ये दुई खर्ब ५३ अर्ब दुई करोड ऋणभार हो भने ५८ अर्ब ८१ करोड अनुदान सहयोग हो । कुल बजेट १३ खर्ब १५ अर्बमा अंश २४ प्रतिशत रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया