सेनाको भवन देखाएर करोडौं ठगी, ट्रमा सेन्टरसँगैको भवन लिजमा लिने नाममा बदमासी


आर्थिकन्यूज

काठमाडौं, फागुन ३० । नेपाली सेनामा नक्कली सामान सप्लाई गरेर कालो सूचीमा परेका विवादास्पद ठेकेदार चन्द्र घिसिङले सेनाकै निर्माणधिन भवन देखाएर करोडौं रुपैयाँ ठगी गरेको रहस्य खुलेको छ । महाबौद्धस्थित ट्रमा सेन्टरसँगै बन्दै गरेको सेनाको भवन लिजमा लिने नाममा घिसिङले अनुप अग्रवाल र राजाराम बानियाँबाट ९५ लाख रकम लिन सफल भएका छन् । राजेन्द्र क्षेत्री प्रधानसेनापति छँदा उक्त भवन क्षेत्रीले आफूलाई २० वर्षसम्म लिजमा दिन लागेको र क्षेत्रीलाई मिलाउनु पर्ने भन्दै घिसिङले उनीहरुबाट रकम लिएका थिए ।

एक पीडितका अुनसार सेनामा ठेक्का पट्टा मिलाईदिने भन्दै घिसिङले अन्य व्यक्तिहरुलाई पनि ठगी गरेका छन् । अग्रवाल त्रिपुरेश्वरस्थित गूलाफ रेष्टुरेन्टका सञ्चालक हुन् भने बानियाँ घरजग्गा व्यवसायी हुन् । घिसिङले ठगी गरेपछि जोगिनका लागि अदालतबाट स्टे अर्डर लिने र गृह सचिव तथा प्रहरीका उच्च अधिकारीहरुको नाम भजाएर कारबाहीबाट जोगिदै आएको ति पीडितले बताए । घिसिङले विभिन्न बहानामा पैसा लिएर कतिपयलाई चेक दिने र कतिपयसँग कागज मात्र गरी विल्लीवाठ बनाएपछि पीडितहरुले प्रहरीमा उजुरी दिने तयारी गरेका छन् ।

कतिसम्म भने सरकारी जग्गा र बैंकले सकारेका जग्गालाई समेत आफ्नै हो भन्दै करोडौं रकम बैना लिन सफल घिसिङले नेपाली सेनाको निर्माणधिन भवनको नाममा समेत रकम असुलेका छन् । सानु ढकाल केसीले बौद्धमा आफ्नो नाममा रहेको ३६ रोपनी जग्गा धितो राखी प्रभु बैंकबाट ऋण लिएका थिए । तर, घिसिङले भने सोही जग्गा प्रभु बैंकबाट आफ्नो नाममा आइसकेको भन्दै जालसाँझी गरी बौद्धकै दोर्जे लामा नामका व्यक्तिबाट बैना स्वरुप १ करोड ५० लाख रकम लिन सफल भएका छन् । दोर्जेले जग्गा नपाउने भएपछि बुझ्दै जाँदा उक्त जग्गा केसीको नाममा रहेको र उनले प्रभु बैंकबाट ऋण लिएको खुलेको थियो । अहिले दोर्जेले पैसा माग्दा घिसिङले फोन नै उठाउन छाडेपछि दोर्जे पनि प्रहरीमा जाने तयारीमा छन् ।

होटल सोल्टीको पछाडि रेडक्रसको नाममा रहेको सरकारी जग्गा देखाएर पनि घिसिङले एक म्यानपावर व्यवसायीसँग दुई करोड लिन सफल भएका छन् । चार रोपनी क्षेत्रफल रहेको उक्त जग्गा आफ्नो नाममा आइसकेको भन्दै सस्तोमा बेच्ने नाममा बैना वापत ति म्यानपावर व्यवसायीबाट घिसिङले दुई करोड रुपैयाँ लिएका हुन् ।

यसरी सरकारी र बैंकमा धितो राखिएको जग्गा समेत आफ्नो भन्दै जालसाँझी गरी विभिन्न व्यक्तिहरुबाट करोडौं रकम असुलेका घिसिङले पैसा फिर्ता माग्नेहरुलाई उल्टै गृहसचिव प्रेमकुमार राईदेखि काठमाडौंका एसएसपी बसन्त लामाको समेत नाम बेचेर ठगी धन्दा गर्दैै आइरहेका छन् । तरपनि पीडितहरु दिनहूँ प्रहरीमा जाँदा समेत प्रहरीले उजुरी लिन चाहेको छैन ।

प्रहरीमा बिचौलियाको धन्दा गर्ने घिसिङ कुनै समय गणेश लामाको ड्राइभर थिए । काठमाडौं हुँदै चीनमा रक्तचन्दन तस्करी हुँदा लामाको ड्राइभर रहेका उनले नाका–नाकामा प्रहरीलाई पैसाको सेटिङ मिलाएर तस्करी गर्दथे । सोही समयदेखि प्रहरीको सम्बन्धलाई देखाएर उनले ठगी धन्दा गर्दै आएका हुन् । प्रहरी इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ ‘घैंटे’लाई हातहतियार मुद्दाबाट छुटाउने नाममा घिसिङले ५० लाखसम्म रकम असुलेको कुरा त्यतिबेला घैंटेकै सहयोगीहरुले बाहिर ल्याएका थिए ।

तर, प्रहरी अधिकारीहरुसँगको राम्रो सम्बन्धका कारण घिसिङमाथि कुनै अनुसन्धान नै भएन । घिसिङले गुण्डागर्दीमा कहलिएका दिपक मनाङ्गेका सहयोगी उमेश लामासँग समेत प्रहरीमा केस मिलाईदिने नाममा रकम असुलेको लामा निकट स्रोतले बतायो । गुण्डागर्दीमा नाम मुछिएका व्यक्तिलाई प्रहरी लगाएर पक्राउ गराउने र आफै डिल गरेर छुटाउने गरेको आरोप घिसिङमाथि लाग्दै आएको छ । युनाइटेड पोस्टबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया