अगुवा नै ‘बाटो भडुवा’ हुँदा अष्ट्रेलियामा विद्यार्थी अलपत्र, कन्सलटेन्सी कारबाहीमा ढिलाइ


आर्थिकन्यूज

काठमाडौं, फागुन २९ । नर्सिङ अध्ययनका लागि अष्ट्रेलियन कलेज अस्ट्रेलिन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी) पुगेका १ हजार २ सय विद्यार्थी अलपत्र परेको महिनौं हुँदासम्म पनि विद्यार्थीको उद्दार हुन सकेको छैन ।

शिक्षा मन्त्रालयले एआईबीटीमा विद्यार्थी पठाउने मर्सी एजुकेशन, एबीसी माइग्रेसन, एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिस, कंगारु एजुकेशन फाउन्डेसन, अल्फाबिटा एजुकेशन, काठमाडौं इन्फोसिसलाई पत्र काटेको पनि दुई हप्ता बित्न लागेको छ ।

त्यसै गरी मन्त्रालयले सनराइज एजुकेशन, डल्फिन एजुकेशन र वेभ प्रमिस सर्भिसलाई पत्र काटेर विद्यार्थीको विवरण माग गरेको थियो । अष्ट्रेलियामा नर्सिङ पढाउने कलेजहरुले अष्ट्रेलियन नर्सिङ एन्ड मिड वाइफरी एक्रिटिडेसन काउन्सिल एनम्याकबाट सम्बन्धन लिनुपर्छ । सम्बन्धन नलिएका कलेजहरुले पढाएको नर्सिङ विषयको कुनै मान्यता हँुदैन । तर, हजारौं डलर खर्चेर पनि कन्सलटेन्सीकै गलत परामर्शले पढ्न नपाएपछि विद्यार्थीहरु अलपत्र परेका हुन् ।

त्यस्तै अष्ट्रेलियनमा अलपत्र परेका विद्यार्थीका विषयमा अध्यायन गर्न शिक्षा मन्त्रालयले एक हप्ताको समय दिएर प्रतिवेदन तयार पार्न लगाएको पनि आधा महिना बित्न लागेको छ । तर, ठगी गर्ने र कन्सलटेन्सीहरु थप ठगी गर्ने काममा व्यस्त छन् भने शिक्षा मन्त्रलाय भने बार्गेनिङ गर्ने दाउ मिलाइरहेको छ ।

शिक्षा मन्त्रालयले नै (एआईबीटी) मा पढ्न नेपाली विद्यार्थी पठाउन ‘नो अब्जेक्सन लेटर’ दिने र एआईबीटीमा नेपाली विद्यार्थी अपलपत्र पर्दा मन्त्रालयको नियतमा पनि कतै खोट थियो कि भन्ने प्रश्न उब्जिएको छ ।

मन्त्रालयका सहसचिव देवकुमारी गुरागाईंको संयोजकत्वमा गठित समितिले शैक्षिक परामर्श कम्पनीहरूसँग बयान लिइरहेको छ । ती कन्सलटेन्सीहरुमाथि नर्सिङ दर्ता नै नभएको कलेजमा जानाजान विद्यार्थी पठाएर ठगीधन्दा गरेको आरोप लागेको छ ।

अष्ट्रेलियमा कालो सूचीमा परेको मर्सीले सबैभन्दा बढी झण्डै चार सय विद्यार्थी एआईबीटीमा पठाएको विवरण नेपालकै शैक्षिक परामर्श सस्थाहरुले उपलब्ध गराएका छन् ।

नर्सिङ इन डिप्लोमा विषयको सम्बन्धन नै नलिई विद्यार्थी भर्ना गरेर पढाउन शुरु गरेको भन्दै एआईबीटी कलेज खारेजीमा परेको छ । जसका कारण नेपाली विद्यार्थीको विचल्ली भएको हो । अष्ट्रेलियन क्वालिटी अथोरोटी (अस्क्वा) ले शैक्षिक कानुन उल्लघंन गरेको भन्दै एआइएबीटीको दर्ता खारेज गरिसकेको छ ।

शैक्षिक कन्सलटेन्सीहरुका छाता संगठन नेपाल शैक्षिक परामर्श संघका (इक्यान) अध्यक्ष विष्णुहरी पाण्डेले सञ्चालन गरेको रोयल एजुकेशन फाउण्डेशन –एआईबीटी)को आधिकारीक प्रतिनिधि भएको पाइएको छ । त्यस्तै, इक्यानकै पूर्व अध्यक्ष राजेन्द्र बरालले सञ्चालन गरेको ब्रिलियन्ट एजुकेशन पनि यो काण्डमा मुछिएको छ ।

स्वतन्त्र शैक्षिक परामर्श संघ नेपालका अध्यक्ष युवराज कटुवालको स्वामित्वमा रहेको यासफोर्ड इन्टरनेशनल र अन्तर्राष्ट्रिय शैक्षिक परामर्श सम्बन्धी नेपाली संघ इन्टरनेश्नल एजुकेशन इनिसेटिभ अफ नेपाल (आइरिन) का अध्यक्ष कुमार कार्कीको स्वामित्व रहेको ल्यान्डमार्क एजुकेशन पनि एआईबीटीको आधिकारिक एजेन्ट रहेको पाइएको छ ।
यता शिक्षा मन्त्रालयका तत्कालीन समयमा शैक्षिक परामर्श संस्था हेर्ने अधिकारी तारा निरौलालाई एआईबीटीले सिंगापुरको एक होटलमा राखेर भरपुर मनोरञ्जन गराएर फर्काएपछि नेपालबाट एआईबीटीमा विद्यार्थी पुगेको मन्त्रालय स्रोतले बताएको छ । यद्यपि, यस घटनापछि मन्त्रालयले उनलाई सो जिम्मेवारीबाट हटाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया