बक्यौता नतिर्नेको लाइन काटियो


आर्थिकन्यूज

दमौली, फागुन २९ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् बक्यौता नबुझाउने ६१६ ग्राहकको लाइन काटेको छ । केन्द्रले चालू आर्थिक वर्ष २०७५/७६ को फागुन अन्तिम सातासम्म विद्युत् महसुल नबुझाई अटेर गर्ने ग्राहकको लाइन काटेको हो ।

साठी दिनभन्दा बढी समयसम्म महसुल नतिर्ने ग्राहकको लाइन काटिएको केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिनुभयो । उहाँका अनुसार लाइन काटेर कारवाही गरिएका ग्राहकले धमाधम बक्यौता रकम बुझाउन थालेका छन् ।

वितरण केन्द्रले चालू आर्थिक वर्षमा ६१६ ग्राहकको लाइन काटेकामा ५०३ ग्राहकले विद्युत् महसुल बक्यौता तिरेको गोशलीले जानकारी दिनुभयो । ती ग्राहकबाट रु एक करोड ६३ हजार ८६१ बक्यौता असुल भएको छ । बक्यौता रकम बुझाएपछि ग्राहकको लाइन पुनः जोडिएको केन्द्रले जनाएको छ ।

विद्युत् महसुल सङ्कलन विनियमावली २०७३ को विनियम ७ को उपविनियम ३ अनुसार मिटर रिडिङ गरेको सात दिनभित्र महसुल बुझाउने ग्राहकलाई दुई प्रतिशत छुट दिइन्छ भने आठ दिनदेखि २२औँ दिनभित्र महसुल बुझाएमा बिलअनुसारको महसुल लाग्नेछ ।

त्यस्तै मिटर रिडिङ गरेको २३आँै दिनदेखि ३०आँै दिनसम्म विद्युत् महसुल बुझाएमा पाँच प्रतिशत थप दस्तुर लाग्नेछ । विनियमावलीमा उल्लेख भएअनुसार मिटर रिडिङ गरेको ३१आँै दिनदेखि ४० आँै दिनसम्म विद्युत् महसुल नबुझाएमा १० प्रतिशत थप दस्तुर लाग्छ भने ४१ आँै दिनदेखि माथि थप २५ प्रतिशत दस्तुर लाग्नेछ ।

विनियमावलीको विनियम १० अनुसार मिटर रिडिङ गरेको ६०आँै दिनसम्म पनि विद्युत् महसुल नबुझाएमा बिनासूचना जुनसुकै समयमा पनि विद्युत् लाइन काट्न सक्ने व्यवस्था रहेको गोशलीले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया