कार्यसम्पादनमा कमजोर मन्त्री फेर्ने तयारी, को को पर्लान मन्त्रीबाट आउट हुनेमा ?


आर्थिकन्यूज

काठमाडौं, फागुन २९ । कार्यसम्पादन सन्तोषजनक नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री हेरफेर गर्ने तयारी थालेका छन्। प्रधानमन्त्री कार्यालयको नतिजा व्यवस्थापन महाशाखाले अनलाइनमार्फत गरेको अनुगमनमा आधाभन्दा बढी मन्त्री कार्यसम्पादन मूल्यांकनमा कमजोर देखिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षसमेत रहेका ओलीले उनीहरुको विकल्प खोज्न अर्का अध्यक्ष पुष्पकमल दाहालसँग समेत छलफल अघि बढाएका छन्। मन्त्रिपरिषद्का आधाभन्दा बढी सदस्य एक वर्षमा गरिसक्ने भनेको काम सक्न असफल देखिएका छन्।

साउनपछिको कार्यसम्पादन मूल्यांकनका लागि प्रधानमन्त्री कार्यालयको नतिजा व्यवस्थापन महाशाखामार्फत गरिएको अनलाइन अनुगमनमा अधिकांश मन्त्री असफल भएका थिए। प्रधानमन्त्री ओलीले उनीहरुले भनेअनुसार कार्यसम्पादन भएनभएको विषयलाई अनलाइनमै हेरिसकेका छन्। साउनदेखि माघसम्मको मूल्यांकनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सबैभन्दा कमजोर देखिएका छन्। यसैगरी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको प्रगति विवरण पनि कमजोर छ।

भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, खानेपानीमन्त्री बिना मगर, उद्योगमन्त्री मात्रिका यादव र शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पनि योजनाअनुसार काम गर्न नसकेको अनुगमनले देखाएको छ। गृहमन्त्री रामबहादुर थापा र ऊर्जामन्त्री वर्षमान पुन औसत देखिएका छन्। सो प्रगति विवरणअनुसार उद्योग मन्त्रालयको कार्यप्रगति १३ प्रतिशत छ। खानेपानी मन्त्रालयले विकास खर्च १० प्रतिशत पनि कटाउन सकेको छैन।

भौतिक मन्त्रालयको विकास खर्च ३१ प्रतिशत रहेको भए पनि उसले सम्पादन गर्नुपर्ने काम भने जम्मा ९ प्रतिशत पनि पूरा गरेको छैन। ऊर्जा मन्त्रालयको प्रगति विवरण २७ प्रतिशत छ। शिक्षा मन्त्रालयको प्रगति विवरण २१ प्रतिशत र विकास खर्च ३९ प्रतिशत छ। स्वास्थ्यको विकास खर्च ३० प्रतिशत र प्रगति विवरण २२ प्रतिशत रहेको छ। भूमिसुधार मन्त्री अर्याल र कृषिमन्त्री चक्रपाणि खनाल ‘कामै नगर्ने’ को सूचीमा परेका छन्। नागरिक दैनिकबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया