आईपीओ बिक्रीमा राखेको शिवम् सिमेन्टको वित्तीय स्थिति यस्तो छ


आर्थिकन्यूज

काठमाडौं, फागुन ७ । शिवम् सिमेन्ट लिमिटेड (Shivam Cements Ltd.) ले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने पहिलो सिमेन्ट कम्पनी बनेर इतिहास बनाएको छ । नेपाली पुँंजी बजारको संरचनामा वित्तीय क्षेत्रकोे बाहुल्यता रहेको अवस्थामा यस कम्पनीको प्राथमिक निष्काशनबाट लगानीकर्ताले नौलो क्षेत्रमा लगानीको अवसर पाउनुको साथै अन्य उत्पादक क्षेत्रलाई पनि शेयर निष्काशनमा प्रेरणा तथा उदारहण बनेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २१८ कम्पनीमध्ये २० प्रतिशतको हाराहारीमा मात्रै कम्पनी वास्तविक क्षेत्रबाट मात्र छन् । नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा पुँजी बजारमा वास्तविक क्षेत्रका कम्पनीलाई प्रवेश गराउन जारी पुँजीको न्यूनतम १० प्रतिशतमात्र सार्वजनिक निष्काशन गरे पुग्ने र प्रिमियम मूल्यमा सार्वजनिक निष्काशन गर्न सकिने सहुलियतपूर्ण व्यवस्था गरेपश्चात शिवम्ले आईपीओ जारी गरेको हो ।

कुल निष्काशनको २ प्रतिशत अर्थात ८ लाख ८० हजार कित्ता शेयर परियोजना प्रभावित स्थानीय मकवानपुर जिल्लाका बासिन्दाका लागि ३ सय रुपैयाँ र १० प्रतिशत अर्थात ४४ लाख कित्ता शेयर सर्वसाधारणको लागि ४ सय रुपैयाँमा जारी गर्ने तयारी कम्पनी थियो । सोही अनुरुप गत साउन १३ गतेदेखि भदौ ११ गतेसम्म स्थानीयलाई अंकित मूल्यमा प्रतिकित्ता २ सय रुपैयाँमा प्रिमियम थप गरी ३ सय रुपैयाँको दरले ८ लाख ८० हजार कित्ता आईपीओ निष्काशन गरेको थियो ।

त्यस्तै कम्पनीले फागुन ६ गतेदेखि ९ गतेसम्म सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ बिक्री गरेको छ । कम्पनीले प्रतिकित्ता ३ सय रुपैयाँको दरमा सर्वसाधारणले ४१ लाख २० हजार कित्ताका लागि आवेदन दिन पाउने जनाएको छ । कुल ४४ लाख कित्तामध्ये २ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई छुटाइएको छ ।

त्यस्तै गरी सामूहिक लगानी कोषलाई पनि २ लाख २० हजार कित्ता नै छुटाइएकोमा ६० हजार कित्तामात्र माग भएपछि बाँकी १ लाख ८० हजार कित्ता पनि सर्वसाधारणलाई नै थप गरी बिक्री गरिएको छ ।

शिवमले यसअघि सर्वसाधारणलाई फेस भ्यालुमा ३०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४०० रुपैयाँमा आईपीओ बिक्री गर्न अनुमति पाएको थियो । तर एनआइबीएल एस क्यापिटलले यसअघिको प्रिमियम मूल्यमा अन्डरराइट गर्न नमानेपछि प्रिमियम मूल्य घटाएर अहिले प्रतिकित्ता ३०० रुपैयाँमा आईपीओ जारी गरेको हो ।

आयोजना प्रभावित स्थानीयले पनि अब प्रतिकित्ता २०० रुपैयाँमा आईपीओ पाउने छन् । यसअघि स्थानीयलाई ३०० रुपैयाँको दरमा ८ लाख ८० हजार कित्ता आईपीओ जारी गर्दा २ लाख २४० कित्ता मात्र बिकेको थियो ।

उक्त समयमा बाँडफाँडमा परेका स्थानीयलाई कम्पनीले हालको मूल्य बमोजिम कुल १ लाख १२० कित्ता शेयर थप गरिदिने भएको छ । यसरी थप गर्दा बाँकी रहने ५ लाख ७९ हजार ६४० कित्ता शेयरमा स्थानीयले प्रतिकित्ता २०० रुपैयाँको दरले पुनः थप वा नयाँ आवेदन दिन सक्ने सक्नेछन् । स्थानीयले पनि फागुन ६ देखि ९ गतेसम्म आवेदन दिन पाउनेछन् ।

लगानीकर्ताले न्यूनतम ५० देखि अधिकतम् ४४ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्बाबाट आवेदन दिन पाइनेछ । तोकिएको समयमा सबै शेयर नबिकेमा चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ ।

क्रेडिट रेटिङ गर्ने संस्था इक्रा नेपाल लिमिटेडले कम्पनीको शेयरलाई क्रेडिट रेटिङ ग्रेड थ्री प्लस प्रदान गरेको छ । सरकारले उत्पादनमुलक उद्योगका लागि १५ प्रतिशत आयकर छुट प्रदान गर्ने निर्णय गरेको थियो ।

चालू आवको बजेटले वास्तविक क्षेत्रका कम्पनीहरूलाई एक अर्बभन्दा धेरै चुक्ता पुँजी भएका कम्पनीलाई शेयर बजारमा सूचीबद्ध गर्न प्रोत्साहित गरेको छ । साथै नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ लागू गरी प्रिमियमसहितको मूल्यमा सार्वजनिक निष्काशन गर्न सकिने र जारी पुँजीको न्यूनतम १० प्रतिशतमात्र सार्वजनिक निष्काशन गरे पुग्ने सहुलियत दिएको थियो ।

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा सुरेन्द्र कुमार गोयल रहेका छन् भने अन्य सञ्चालकहरूमा रोहित गुप्ता, सन्दीप कुमार शारडा, रघु नन्दन मारु र अमित मोर रहेका छन् ।

कम्पनी प्रोफाइल

सन् २००३ मा स्थापना भएको शिवम् सिमेन्ट मुलत सिमेन्ट तथा क्लिंकर उत्पादन र बिक्री गर्ने गर्छ । विभिन्न व्यावसायिक घराना गरी कुल २० जना व्यक्तिगत प्रमोटर रहेको यस कम्पनीको कारखाना मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिकास्थित हटियामा छ । कम्पनीद्वारा प्रकाशित वित्तीय विवरणअनुसार कम्पनीको दैनिक १९ सय टन क्लिंकर र ३ हजार टन सिमेन्ट ग्राइन्डिङ गर्न सक्ने क्षमता रहेको छ । कम्पनीको सहायक कम्पनी शिवम् होल्डिङ प्राइभेट लिमिटेडमा ८८ प्रतिशत शेयर लगानी रहेको छ ।

शिवम् होल्डिङ प्राइभेट लिमिटेड र चीनको होङ्सी होल्डिङ समूहले नवलपरासीको सर्दीमा मुलुककै ठूलो सिमेन्ट उद्योग होङ््सी शिवम्् सिमेन्ट प्रालि स्थापना भएको छ । उक्त कम्पनीमा शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ प्राइभेट लिमिटेडमार्फत नेपाली समूहको ३० प्रतिशत र होङ्सी होल्डिङ चिनियाँ समूहको ७० प्रतिशत लगानी रहेको छ ।

चार अर्ब लगानीमा सात वर्ष अघि स्थापना भएको शिवम्ले ‘शिवम् सिमेन्ट’ ब्रान्डमा ओपीसी ४३ ग्रेड सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ । पुँंजी, मानव संशाधन, उत्पादन प्रक्रियाहरू, इन्फ्रास्ट्रक्चरहरू आदिमा राम्रै लगानी गरेको कम्पनी सिमेन्ट निर्माण गर्ने नेपालको सबैभन्दा ठूलो मध्येको एक हो ।

हाल करिब एक हजार एक सय जनाभन्दा धेरै नेपाली कामदार कार्यरत तथा पाँच सय चिनियाँ नागरिक कार्यरत रहेको कम्पनीले जनाएको छ । साथै कम्पनीले नेपालीलाई चीनमा तालिमका लागि समेत पठाउने गरेको छ । कारखानाका लागि आवश्यक पर्ने चुनढुंगा ल्याउन पाल्पाको भुकेटबाट विस्थापित भएका २६ घरपरिवारका लागि समेत कारखाना नजिकै सामूहिक आवास निर्माण गरिएको छ ।

सम्भावना तथा चुनौती

ओर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) संसारमा व्यापक रूपमा प्रयोग गरिएको मानिन्छ । ओपीसीलाई १९औं शताब्दीको शुरुमा बेलायतमा बनाइएको प्राकृतिक सिमेन्टबाट विकसित गरिएको थियो । सामान्यतया ओपीसी ग्रेडलाई ढलान र पीपीसी ग्रेडलाई प्लास्टर र स्केचको तथा भित्तामा प्रयोग गर्ने गरिन्छ । शिवम् सिमेन्टलाई राम्रो कम्पनी मानिनुको पछाडि प्रोफिट मार्जिन, हेरक वर्ष पुँंजी संरचनाको परिवर्तनले आर्थिक रुपमा सबल रहेको, लगातार हरेक वर्ष क्लिंकर तथा सिमेन्ट उत्पादनको क्षमता वृद्धि गर्दै लैजानु रहेको छ ।

त्यस्तै होंङ्सी शिवम् सिमेन्टको ग्रान्डिङ क्षमता र क्लिन्कर उत्पादन क्षमता प्रतिदिन ६ हजार टन हुनु तथा २६ प्रतिशतको लगानीले स्वतः नाफा आइरहेनुले आगामी दिन पनि कम्पनी प्रगतिपथमा रहेको स्पष्ट गर्छ । प्रतिवेदनअनुसार मुलुकमा हरेक वर्ष सिमेन्टको माग बढेको देखिन्छ । यस कारणले पनि शिवम्् सिमेन्ट आफंैमा रामो ब्रान्ड बनाउन सफल हुनु तथा अन्य सिमेन्टभन्दा गुणस्तरीय रहेकाले छिटो समयमा राम्रो प्रतिफल दिने सम्भावना रहेको देखिन्छ ।

शिवम् सिमेन्टको सञ्चालनको समयमा ग्रान्डिङ प्रतिदिन ७ सय टन क्षमताबाट आव २०१६ मा ५५ करोड थप लगानी गरी प्रतिदिन २३ सय टन पुर्याएको थियो । त्यस्तै २०१८ मार्चसम्म आउँदा ६५ करोड थप लागतमा प्रतिदिन ३ हजार टन पुगेको छ । सिमेन्ट बिक्रीतर्फ सन् २०१४ मा ६३ प्रतिशत बाट वृद्धि भएर सन् २०१५ मा ८३ प्रतिशतले बढेको थियो ।

सिमेन्ट उद्योगको संख्या वृद्धि हुँदा देखिएको उच्च प्रतिस्पर्धा, आयात गर्नुपर्ने कच्चा पदार्थ तथा चाहिने इन्धनमा हुने मूल्य उतार चढाव तथा वृद्धि र अर्थ राजनीति तथा सरकारी नीतिको फितलोपन आदि कम्पनीका चुनौती रहेका छन् । अर्को चुनौती कम्पनी शतप्रतिशत सञ्चालनको लागि न्यूनतम् १२ मेगावाट विजुलीको आवश्यक छ । अहिले कम्पनी डिजेल तथा अन्य इन्धनको माध्यमबाट ९ मेगावाट उत्पादन गर्दै आएको छ । समय समयमा हुने गरेको अनियमित बिजुली प्रवाहले लागत खर्च बढ्ने गरेको छ ।

शिवम् सिमेन्टको चार वर्षको वित्तिय विवरण तथा चालू आवको दोस्रो त्रैमासको वित्तीय विवरण यस्तो छ ।

शिवम् सिमेन्टको पाँच वर्षको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७०र७१ मा १ अर्ब २५ करोडको चुक्ता पुँजी रहेकोमा २०७४र७५ मा चुक्ता पुँजी औसत रुपमा २०९ दशमलव ७६ प्रतिशतले वृद्धि गरी ३ अर्ब ८७ करोड २० लाख रुपैयाँ पुर्याएको देखिन्छ । चालू आवको दोस्रो त्रैमाससम्म चुक्ता पुँजी ३ अर्ब ८९ करोड २० लाख रुपैयाँ पुर्याएको देखिन्छ । खुद मुनाफा हरेक वर्ष वृद्धिको क्रम देखिएता पनि स्थिर भने देखिँदैन ।

कम्पनीले आव २०७०र७१ मा १० करोड ८० लाख रुपैयाँ नाफा गरेको देखिन्छ । त्यसपछिको क्रमशः ४१ करोड ५३ लाख रुपैयाँ, ७७ करोड ७८ लाख रुपैयाँ, ८१ करोड १३ लाख रुपैयाँ र १ अर्ब १४ करोड ३२ लाख रुपैयाँ मुनाफा गरेको थियो । यस वर्षको दोस्रो त्रैमासमा कम्पनीले ६५ करोड ७८ लाख रुपैयाँ नाफा गरेको छ ।

शिवम्ले आम्दानीमा गरेको वृद्धि र बिक्री लागतलाई सन्तुलित गर्न सफल भए पश्चात कुल आम्दानीमा वृद्धि हँुदै गएको देखिन्छ । आव २०७०र७१ मा कुल आम्दानी ३ अर्ब ८४ करोड रुपैयाँबाट बढेर आव २०७४र७५ मा आईपुग्दा १० अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।

औसत रुपमा १६६ दशमलव ७४ प्रतिशतले वृद्धि गरेको छ । लागत खर्च पनि पाँच वर्षमा २ अर्ब ७३ करोडबाट ६ अर्ब ८१ करोड रुपैयाँसम्म पुगेको छ । त्यस्तै चालू आवको दोस्रो त्रैमासमा कुल आम्दानी ५ अर्ब २२ करोड ४७ लाख रुपैयाँ तथा लागत खर्च ३ अर्ब ३५ करोड ३४ लाख रुपैयाँ देखिएपश्चात कुल आम्दानी १ अर्ब ८७ करोड १३ लाख रुपैयाँ गर्न सफल भएको छ ।

कुल खर्च हेर्दा आव २०७०र७१ मा ९५ करोड ६१ लाख रुपैयाँ बढेर आव २०७४र७५को सम्म आइपुग्दा १ अर्ब ८६ करोड ७६ लाख रुपैयाँसम्म पुगेको देखिन्छ । चालू आवको दोस्रो त्रैमासमा कुल खर्चको आकार १ अर्ब १ करोड २९ लाख रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०७०र७१ मा ८ दशमलव ६५ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी आव २०७१र७२ मा अत्याधिक वृद्धि गरी ३३ दशमलव २३ रुपैयाँ पुर्याएको छ । त्यस्तै आव २०७२र७३ मा १७ प्रतिशतले बढाएर ३८ रुपैयाँ ८९ पैसा पुर्याएको देखिन्छ । आर्थिक वर्षमा २०७३र७४ मा १७ प्रतिशतले घटेर ३२ दशमलव ४५ रुपैयाँमा झरेको छ । त्यस्तै आव २०७४र७५ मा ९ दशमलव ०२ प्रतिशतले घटेर २९ दशमलव ५२ रुपैयाँ रहेको छ । चालू आव २०७५र७६ को दोस्रो त्रैमासमा प्रतिशेयर आम्दानी ३३ दशमलव ८ रुपैयाँ रहेको छ ।

जगेडा कोषको आधारमा कम्पनीले आव २०७०र७१ मा नेगेटिभ रहेको जगेडा कोष २०७१र७२ मा २४ करोड ४५ लाख जगेडा सञ्चित थियो । आवमा २०७२र७३ मा २६४ प्रतिशतले वृद्धि गरी ८९ करोड ६ लाख रुपैयाँ जगेडा राखेको थियो । त्यस्तै आव २०७३र७४मा ६७ प्रतिशतले वृद्धि गरी १ अर्ब ४९ करोड १४ लाख रुपैयाँ जगेडा राखेको छ ।

र आव २०७४र७५ मा ५९ दशमलव ९४ प्रतिशत बढेर २ अर्ब ३८ करोड ५४ लाख रुपैयाँ राखेको छ । चालू आव २०७५र७६ को दोस्रो त्रैमासमा ३ अर्ब ४ करोड ३२ लाख रुपैयाँको जगेडा सञ्चित रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया