आक्रमक सेवा विस्तार गर्दै निजी हवाई कम्पनी, फागुनमै करिब ५ अर्ब रुपैयाँका ६ जहाज भित्र्याउँदै


आर्थिकन्यूज

काठमाडौं, फागुन ४ । आन्तरिक बजार विस्तार गर्न निजी क्षेत्रका एयरलाइन्स कम्पनीहरूले फागुन महिनामै ६ वटा जहाज थप्ने भएका छन् । बुद्ध एयर, यती एयरलाइन्स र श्री एयरलाइन्सले फागुनभित्रै आन्तरिक उडानका विस्तार गर्न जहाज ल्याउन लागेका हुन् । कम्पनीहरूले उक्त जहाज खदिर गर्नका लागि करिब पाँच अर्ब खर्चिने भएका छन् ।

कम्पनीहरूले ७४ सिट क्षमताको उक्त जहाजहरू ल्याउने तयारी गरेका हुन् । आन्तरिक उडानमा ५० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको बुद्ध एयरले एटीआर ७२–५०० सिट क्षमताको दुई जहाज ल्याउन लागेको हो । सो जहाजमध्ये एउटा जहाज फागुनको तेस्रो साता काठमाडौं आइपुग्ने छ । अर्को जहाज एक हप्तापछि आइपुग्नेछ । भरतपुर र पोखरामा एटीआर उडाउने तयारी गरेको कम्पनीका मार्केटिङ म्यानेजर रुपेश जोशीले बताए । कम्पनीले नयाँ वर्षदेखि काठमाडौं–कोलकत्ता सीधा उडान शुरु गर्ने भएको छ ।

त्यस्तै यती एयरलाइन्सले पनि जहाज थप्ने तयारी गरिरहेको छ । आन्तरिक उडानलाई थप प्रभावकारी बनाउन कम्पनीले पनि दुई वटा जहाज थप्ने तयारी गरेको हो । कम्पनीले ७२ सिट क्षमताको दुई जहाज फागुनमै ल्याउँदै छ ।

केही समयअघिमात्रै अन्तर्राष्ट्रिय उडानको अनुमति पाएको श्री एरलाइन्सले आन्तरिक उडानलाई अझ प्रभावकारी बनाउन दुईवटा नयाँ जहाज थप्ने तयारी गरेको हो । जहाज फागुन महिनाभित्रै आइपुग्ने कम्पनी स्रोतले बताएको छ । ७४ सिट क्षमताको ती जहाज आएपछि सोही जहाजले अन्तर्राष्ट्रिय उडान गर्नेछन् । कम्पनीले विमान खरिदका लागि डेढ अर्ब खर्चिने भएको छ ।

हाल श्री एरलाइन्ससाग चार वटा जहाज छन् । यी जहाजहरूले आन्तरिक उडान गरिरहेका छन् । नयाँ जहाज आएपछि सोही जहाजलाई वैकल्पिक रुपमा अन्तर्राष्ट्रिय उडान गर्ने कार्यतालिका मिलाउन लागेको छ ।

हाल एयरलाइन्सले भैरहवा, विराटनगर, भद्रपुर, धनगढी, नेपालगन्जलगायत स्थानमा हवाई सेवा उपलब्ध गराइरहेको छ । नयाँ जहाज ल्याएपछि पोखरा र भरतपुरमा उडान सेवा विस्तार गर्ने कम्पनीको तयारी छ ।

कम्पनीले विदेशमा पनि हेलिकप्टर सेवा सञ्चालन गरिरहेको छ । कम्पनीसँग हाल ८ वटा हेलिकप्टर रहेको छ । आन्तरिक उडानमै दुईवटा जहाजमार्फत सेवा दिँदै आएको सिम्रिक एयरलाइन्सले पनि जहाज थप्दै सेवा विस्तारको योजना ल्याइसकेको छ ।

हाल नेपालमा बुद्ध एयर, श्री एयरलाइन्स, यती एयरलाइन्सका साथै नेपाल एयरलाइन्स, सौर्य, सिम्रिक एयरलाइन्स, सीता एयर, सुमिट एयर, मकालु तथा तारा एयरले आन्तरिक उडान गर्दैै आइरहेका छन् । यी सबै कम्पनीसँग भएका ५० भन्दा बढी जहाजबाट नेपालका दुर्गमदेखि सुगम स्थानसम्म उडान भर्दै आइरहेका छन् ।

आन्तरिक उडानकै लागि भन्दै नेपाल राष्ट्रिय ध्वाजबाहक नेपाल एयरलाइन्सले दुईवटा वाई १२ र एक एमए ६० जहाज नेपाल ल्याइसकेको छ । आन्तरिक उडानमा बजार विस्तार गर्नको लागि ६ वटा ट्विनअटर र दुईवटा ७० सिट क्षमताको जहाज खरिद प्रक्रिया अघि बढाएको छ । हाल निगमसँग आठवटा जहाज छ । सोही जहाजमार्फत आन्तरिक उडानमा सेवा दिँदै आएको छ ।

निजी हवाई सेवा प्रदायक बुद्ध एयरलाइन्सले पनि गत आवमा दुई वटा एटीआर जहाज नेपाल भित्र्याएको छ । सो सहित बुद्धले ११ वटा जहाजमार्फत आन्तरिक उडानमा सेवा दिँदै आएको छ । थप दुई जहाज आएपछि बुद्धसँग १३ वटा जहाज हुनेछ ।

यती एयरलाइन्सले पनि गत आवमा मात्रै दुईवटा एटीआर जहाज नेपाल प्रवेश गराइसकेको छ । फेरि यती अर्को जहाज पनि ल्याउने तयारी गरेको हो ।

अघिल्लो वर्षमात्रै आन्तरिक उडानमा प्रवेश गरेको श्री एयरलाइन्सले पनि ७० सिट क्षमताको सीआरजे जहाजमार्फत सेवा विस्तार गरिरहेको छ । अब नयाँ जहाज भित्र्यापछि एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्ने योजना समेत बनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया