मेलम्चीको काममा सीमएमसीलाई नै फर्काउने तयारी


आर्थिकन्यूज

काठमाडौं, फागुन २ । खानेपानीमन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सीएमसीसँग ठेक्का सम्झौता तोडेर सरकार कानुनी रुपमा कहिँकतै नचुकेको दाबी गरेकी छिन् ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा आज बिहीबार भएको छलफलमा बोल्दै खानेपानी मन्त्री मगरले सीएमसीसँग ठेक्का तोड्नुपर्ने कानुनी बाध्यता रहेकाले ठेक्का तोडिएको उनको
भनाइ थियो ।

ठेक्का तोड्दा नेपाल सरकारलाई घाटा भने नभएको उल्लेख गदै मन्त्री मगरले भनिन्–‘सीएमसी र हामीले दुवै तर्फबाट मेलम्चीको ठेक्का तोड्ने निर्णय गरेका छौं । तर, ठेक्का तोडिए पनि कम्पनी पुनः काममा फर्किन तयार छ भने उसबाट नै काम गराउने पक्षमा मन्त्रालय रहेको छ । सीएमसीबाट बाँकी काम गराउने विषयमा कुनै कानुनी जटिलता भने छैन ।’

मेलम्चीको काम शुरु गर्ने विषयमा मन्त्रालयले दुई विकल्पमा छलफल गरिरहेको उनले बताइन । ‘हामीसँग दुई विकल्प छन् । एउटा सीएमसीलाई फर्काउने र दोस्रो नयाँ टेन्डर गर्ने । तर, हामीले पहिलो विकल्पलाई प्राथमिकतामा राखेका छौं । यसकारण कि मेलम्चीको काम छिटो सम्पन्न होस् ।’

‘हामीले सीएमसी नै फर्काउने र नयाँ टेन्डर गर्ने, दुवै विकल्पमा गृहकार्य गरेका छौं । सीएमसीको निर्णय हेरेर एउटा विकल्प रोज्छौं ।’ मन्त्री मगरले भनिन् ।

बैठकमा खानेपानी मन्त्रालयका सहसचिव तेजराज भट्टले मेलम्चीको काम अन्तिम अवस्थामा रहेकाले बाँकी काम सम्पन्न गर्ने विषयमा लागतको पुर्नमूल्यांकन भइरहेको बताए । उनले अब मेलम्चीमा भुईं ढलान, भेन्टिलेसन साफ्टको निर्माण, गेट निर्माण, हेडवक्र्स र फिनिसिङ लगायत ७ वटा काम बाँकी रहेको जानकारी दिए ।

बैठकमा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सुर्यराज कंँडेलले सीएमसी नै काममा फर्कदा लागत कम हुने र समय बचत हुने भएकाले पहिलो विकल्पमा राखिएको बताए । बैठकमा सांसदहरुले मेलम्चीमा देखिएको अन्योलता चाँडै अन्त्य गरेर काम अगाडि बढाउनुपर्ने बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया