यस्तो छ २८ वटा वाणिज्य बैंकहरुको लाभांश बाड्न सक्ने क्षमता


शान्ति श्रेष्ठ /आर्थिकन्यूज

काठमाडौं, माघ २९ । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव रहेको बताइरहँदा वाणिज्य बैंकहरुका नाफामा भने कमी आएको छैन । २८ वटै वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको आ–आफ्नो वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । त्यसका आधारमा बैंकहरुको नाफामा सुधार देखिएको हो ।

खुद नाफा
नेपाल राष्ट्र बैंकले ल्याएको नयाँ प्रणाली एनएफआरएस अनुसार दोस्रो त्रैमासमा सबैभन्दा बढी खुद नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । यस बैंकले खुद मुनाफा २ अर्ब ४० करोड ९९ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा भन्दा ३५ दशमलव शून्य ९ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७८ करोड ३९ लाख रुपैयाँ कमाएको थियो ।

जसले रेगुलेटरी एड्जस्मेन्ट वापत २३ करोड १७ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको रेगुलेटरी एड्जस्मेन्टपछिको नाफा (फ्रि प्रोफिट) घटेर २ अर्ब १७ करोड ८१ लाख रुपैयाँ विवरणयोग्य नाफा रहेको छ ।

त्यस्तै दोस्रो स्थानमा नबिल बैंक रहेको छ । जसले मुनाफा २ अर्ब १७ करोड ६८ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनाभन्दा १८ दशमलव ४५ प्रतिशतले बढी हो । यस बैंकले रेगुलेटरी एड्जस्मेन्टवापत १३ करोड १८ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको रेगुलेटरी एड्जस्मेन्टपछिको नाफा (फ्रि प्रोफिट) घटेर २ अर्ब ४ करोड ५० लाख रुपैयाँ विवरणयोग्य नाफा रहेको छ ।

सबैभन्दा कम नाफा सिभिल बैंकले जम्मा ३५ करोड ९७ लाख रुपैयाँ कमाएको छ, गत वर्षको तुलनाभन्दा ४९ दशमलव ७९ प्रतिशतले वृद्धि गरेको हो । यसले रेगुलेटरी एड्जस्मेन्ट वापत ११ करोड ९९ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको रेगुलेटरी एड्जस्मेन्टपछिको नाफा (फ्रि प्रोफिट) घटेर २३ करोड ९८ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । यसको खुद मुनाफाभन्दा लाभांश क्षमता घटेको हो ।

२८ वटा बंैकमध्ये कम्पनी प्रभु बैंक र माछापुच्छे बैंकले खुद मुनाफाभन्दा लाभांश क्षमता बढाएका छन् ।
राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने वितरणयोग्य नाफा (फ्रि प्रोफिट) रकम बैंकले केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकमा व्यवस्था गरेर शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्छ ।

चुक्ता पुँजी तथा जगेडाकोष
८ अर्ब रुपैयाँ चुक्ता पुँजी नपुर्याउने कुमारी बैंक, बैंक अफ काठमान्डु र एनसीसी बैंक मात्र रहेका छन् । उनीहरुको चुक्ता पुँजी क्रमश ः ७ अर्ब १६ करोड रुपैयाँ, ७ अर्ब ७ करोड रुपैयाँ र ७ अर्ब १ करोड रुपैयाँ मात्र रहेको छ । कुमारी बैंकले हालै मात्र गत आवको मुनाफाबाट ८ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त बोनस र अघिल्लो आव २०७३/७४ मा १२ दशमलव ७५ प्रतिशत बोनस शेयर बाड्ने भएको छ । यसपछि बैंकको चुक्ता पुँजी ८ अर्ब पुग्नेछ ।

त्यस्तै बैंक अफ काठमान्डुको सञ्चालक समितिको बैंठकबाट १४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भएको छ । त्यसपश्चात बैंक ८ अर्ब ६ करोड रुपैयाँ चुक्ता पुँजी पुग्नेछ । एनसीसी बैंकको ८ अर्ब रुपैयाँ चुक्ता पुुँजी पुर्याउन अझै ९९ करोड रुपैयाँ थप्नुपर्ने भएको छ ।

जगेडा कोषमा सबैभन्दा बढी नेपाल बैंकको रहेको छ । यस बैंकको जगेडाकोष १९ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । एनएफआरएस प्रतिवेदन अनुसार बैंकको विभिन्न कम्पनीको शेयरमा रहेको लगानी तथा अचल सम्पत्तिको मूल्यांकन कारण जगेडा आकर्षक बनेको हो । साथै बैंकले एक करोड ७६ लाख कित्ता एफपीओ बिक्रीबाट प्रतिकित्ता १८० रूपैयाँ प्रिमियम दरमा बैंकले तीन अर्ब २० करोड रुपैयाँ प्रिमियम रकमसमेत संकलन गरेको थियो ।

सबैभन्दा कम जगेडा सेञ्चुरी बैंकको रहेको छ । यस बैंकले जगेडाकोषमा १ अर्ब ६४ करोड रुपैयाँ छुटाएको छ ।


निक्षेप तथा कर्जा
यस अवधिमा २८ वटा बैंकले कुल २६ खर्ब ५५ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छन् भने कर्जातर्फ २३ खर्ब ६४ अर्ब ८६ करोड रुपैयाँ लगानी गरेका छन् । ११ वटा कम्पनीले १ खर्ब रुपैयाँमाथि निक्षेप संकलन गरेका छन् । कर्जातर्फ ७ वटा कम्पनीले खर्ब रुपैयाँमाथि लगानी गरेको छ ।

निक्षेपमा सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकले १ खर्ब ८१ अर्ब ५९ करोड रुपैयाँ संकलन गरेको छ भने यस कम्पनी कर्जामा १ खर्ब ३४ अर्ब रुपैयाँ लगानी गरेको छ ।

दोस्रो स्थानमा एनआईसी एशिया बैंकले १ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी कर्जामा सबैभन्दा बढी १ खर्ब ४९ अर्ब रुपैयाँ लगानी गरेको छ ।


खुद व्याज आम्दानी तथा सञ्चालन मुनाफा
खुद व्याज आम्दानी तथा सञ्चालन मुनाफामा पनि सबैभन्दा अगाडि राष्ट्रिय वाणिज्य बैंक रहेको छ । जसले खुद व्याज आम्दानीमा ४ अर्ब ९५ करोड ३६ लाख रुपैयाँ आर्जन गरेको छ भने सञ्चालन मुनाफामा ३ अर्ब ४३ करोड ७५ लाख रुपैयाँ आर्जन गरेको छ ।

त्यस्तै सबैभन्दा कम सिभिल बैंकको रहेको छ । जसको खुद व्याज आम्दानी तथा सञ्चालन मुनाफा क्रमशः १ अर्ब ९ करोड रुपैयाँ र ५१ करोड ९ लाख रुपैयाँ रहेको छ ।


प्रतिशेयर आम्दानी
कम्पनीले आर्जन गरेको खुद नाफालाई कम्पनीको कुल साधारण शेयरले भाग गर्दा साधारण शेयरधनीले प्रतिकित्ता शेयर बराबर कति कमाइ गरे भन्ने कुरा प्रतिशेयर आम्दानीले जनाउँछ । कुनै पनि कम्पनीको प्रतिशेयर आम्दानी उच्च भएको खण्डमा सो कम्पनी सबल भन्ने जनाउँछ । २८ वटा कम्पनीमा प्रतिशेयर आम्दानी सबैभन्दा बढी ५४ दशमलव २८ रुपैयाँ नबिल बैंकको रहेको छ । सबैभन्दा कम सिभिल बैंकको ९ दशमलव शून्य १ रुपैयाँ रहेको छ ।

आज मंगलबार बजार मुल्य हेर्दा सबैभन्दा बढी नबिल बैंकको ८२५ रुपैयाँ रहेको छ । त्यस्तै सबैभन्दा कम सिभिल बैंकको १५४ रुपैयाँ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया