अरुण तेस्रो बनाउन सतलजले स्टेट बैंक अफ इन्डियाबाट ८० अर्ब भित्र्याउँदै


आर्थिकन्यूज

काठमाडौं, माघ २६ । भारतीय कम्पनी सतलज विद्युत् निगमले संखुवासभामा निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाका निम्ति ८० अर्ब बढी लगानी भित्र्याउने तयारी गरिएको छ ।

३ भारतीय मिडियामा र भारतीय कम्पनी सतलज विद्युत् निगमको उच्च स्रोतको हवला दिँदै आएको समाचारअनुसार भारतको स्टेट बैंक अफ इन्डियाबाट ८० अर्ब बढी रकम नेपाल भित्र्याउन लागिएको हो ।

सतजल विद्युत् निगमले नेपालमा आयोजना निर्माणका लागि एसजेबीएन अरुण ३ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी स्थापना गरेको छ । सो कम्पनीले आयोजनाको काम यसअघि नै सुरु गरिसकेको छ ।

भारतको निजी क्षेत्रको कम्पनी जीएमआरले माथिल्लो कर्णाली निर्माण गर्न लगानी जुटाउन नसकिरहेको बेला सतजले भने नेपालमा एकैपटक ठूलो परिमाणको रकम भित्र्याएर आयोजना निर्माणलाई थप गति दिन लागेको हो ।

अरुण तेस्रोमा ऋण लगानी गर्ने विषयमा बैंक र प्रवद्र्धक सतलज विद्युत् निगमबीच सहमति समेत भइसकेको सतलजका अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार निकै छिट्टै रकम आउनेछ ।

आयोजनाको विद्युत् गृह दिदिङदेखि धनुषाको ढल्केबरसम्म २६८ किलोमिटर लामो ४०० केभी प्रसारणलाइन निर्माण अनुमतिपत्र जारी हुने बित्तिकै ऋण सम्झौता गर्ने तयारी गरिएको छ ।

उक्त तयारीको काम समेत अन्तिम चरणमा पुगेको छ । विद्युत् विकास विभागमा प्रसारणलाइन निर्माणको अनुमतिका लागि प्रक्रियासमेत अगाडि बढाइएको छ । केही दिनभित्रै प्रसारणलाइन निर्माणको अनुमति पत्र पनि प्राप्त हुने सतलजका अधिकारीको दाबी छ ।

‘प्रसारणलाइनको अनुमतिपत्र पाउने बित्तिकै हामी नेपालमा पैसा भित्र्याउँछौ र आयोजना निर्माणलाई थप गति दिन्छांै,’ सतलजका अधिकारीको भनाइ छ। हालसम्म आयोजनाको १५ प्रतिशत भौतिक निर्माणको काम सम्पन्न भएको छ । आयोजनाको काम थोरै समयमा पनि उत्साहप्रद रुपमा अगाडि बढेको छ, हामी असाध्यै खुशी छांै, सतलजका ती अधिकारीले भने ।

सन् २०१४ मा भएको आयोजना विकास सम्झौतापछि भारतीय लगानीको सबैभन्दा ठूलो आयोजनाले गति लिएको यो पहिलोपटक हो । भारतीय लगानीका अधिकांश आयोजना समस्यामा परिरहेको बेला अरुण तेस्रोको कामले अन्य आयोजनालाई समेत दबाव सिर्जना गर्ने दाबी सतलजको छ ।

नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त बैठकमा प्रसारणलाइन बनाउन १५ दिनभित्र अनुमति दिने सहमति भएको छ । सोही सहमतिअनुसार प्रसारणलाइनको अनुमति दिने काम अन्तिम चरणमा पुगेको जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालयले जनाएको छ । सो मन्त्रालयका प्रवक्ता प्रविणराज अर्यालकाअनुसार केही दिन भित्रै प्रसारण लाइनको विषयमा पनि आवश्यक निर्णय हुन्छ ।

आयोजनाले एभरेष्ट बैंकसँग प्रसारण लाइन निर्माणका लागि रु ३ अर्ब ६० करोड ऋण लिने सहमति यसअघि नै गरेको छ ।
यस्तै पञ्जाव नेशनल बैंकसँग पनि रु ८ अर्ब बराबरको ऋण लिने प्रक्रियामा सहमति भइसकेको छ । यस्तै आयोजनाले केही नेपाली बैंकसँग पनि रु ४ अर्ब बराबरको ऋण लिने तयारी गरेको छ । सतजलकाअनुसार नबिल र नेपाल एसबिआई बैंकसँग ऋण लिने विषयमा पटक पटक द्विपक्षीय वार्ता भइसकेको छ ।

आयोजनाको कूल लागत रु १ अखर्ब १५ अर्ब रहेको छ । त्यसमा रु ११ अर्ब प्रसारण लाइन निर्माणम खर्च हुनेछ ।
सतलजले आउँदो २०७९ असोजसम्म आयोजना निर्मा०ा सम्पन्न गर्ने जनाएको छ ।

आयोजनाको बाँध र डाइभर्सन सुरुङ संरचना निर्माणको ठेक्का भारतको जयप्रकाश एसोसिएट्स लिमिटेडले जिम्मा लिएको छ । यस्तै विद्युतगृह निर्माणका लागि भारतको पटेल इन्जिनियरिङ कम्पनी लिमिटेडले ठेक्का पाएको छ । विश्वव्यापी बोलपत्रबाट भारतीय कम्पनी सतलजले सो आयोजना पाएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया