बुद्ध र श्री एयरबीच अन्तर्राष्ट्रिय उडानमा पनि प्रस्पिर्धा हुँदै, यस्तो छ रणनीति


आर्थिकन्यूज

काठमाडौं, माघ २५ । आन्तरिक उडानका दुई वायुसेवा कम्पनी बुद्ध एयर र श्री एयरलाईन्सबीच अब अन्तर्राष्ट्रिय उडानमा प्रधिस्पर्धा हुने भएको छ । आन्तरिक उडानमा दोस्रो स्थानमा रहेको यतीलाई श्रीले पन्छाउँदै आगामी वर्षबाटै दोस्रो स्थानमा आउने भएको छ ।

यो वायुसेवा कम्पनीले आन्तरिक उडानमा एक नम्बरमा रहेको वायुसेवा कम्पनी बुद्धसँग प्रतिस्पर्धा गर्ने भएको छ । दुई दशकदेखि नियमित आन्तरिक उडान गरेको बुद्ध एयरले पटक–पटकको परीक्षणपछि आगामी वैशाखबाट भारतको नयाँ गन्तव्य कोलकाता उडान गर्दै छ ।

उक्त वायुसेवा कम्पनीले आन्तरिक उडानको लागि फागुनभित्रै दुई वटा ७२ सिट क्षमताका एटीआर नामक जहाज थप गर्दैछ । आन्तरिक उडानमा एक वर्षको मात्रै अनुभव संगालेको तर २ दशकदेखि हेलिकोप्टर उडान गरिरहेको श्री एयरलाइन्सले पनि बुद्धसँगै प्रतिस्पर्धा गर्ने रणनीति बनाएको छ । यो वायु सेवा कम्पनीले २०६७ सालदेखि नै हेलिकोप्टरमार्फत अन्तर्राष्ट्रिय चार्टर उडान गरिरहेको छ ।

श्रीले पनि अन्तर्राष्ट्रिय उडानमा अनुमति पाएकाले आगामी ३ महिनाभित्र अन्तर्राष्ट्रिय उडान गर्ने गरी योजना बनाएको छ । श्री एयरलाइन्सका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले जति छिटो उडान सञ्चालन अनुमति (एओसी) दियो उत्ति नै छिटो अन्तर्राष्ट्रिय उडान शुरू गर्ने योजना छ ।

उक्त वायुसेवा कम्पनीले हाल उडानमा रहेको सीआरजे नामक ५० र ७० सिट क्षमताका जहाजमार्फत अन्तर्राष्ट्रिय उडान गर्ने गरी मन्त्रालयबाट लाइसेन्स पाएको छ । अब प्राधिकरणबाट अनुमति पाउन बाँकी छ । यो समयमा श्रीले जहाज थप गर्ने, क्षमता विकास गर्ने, जनशक्ति तयारगर्ने लगायतका आक्रामक बजारीकरणको योजनासमेत बनाउने भएको छ ।

श्री एयरलाइन्सले पनि फागुनभित्रै २ वटा ७८ सिट क्षमताका जहाज ल्याउँदै छ । त्यसपछि अर्को पनि यही प्रकृतिको जहाज आउने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार जहाज थप गरेर आन्तरिक उडानका सुगम गन्तव्यमा नै प्रतिस्पर्धा गर्ने हो । त्यसपछि अन्तर्राष्ट्रिय उडानमा क्रस बोर्डर तथा छिमेकी देशका गन्तव्यमा उडान गर्ने हो ।

यस्तै क्रस बोर्डर तथा छिमेकी मुलुकका गन्तव्यमा उडान गर्ने रणनीति बुद्धले पनि बनाएको छ । सोही रणनीति अनुसार बुद्धले बैशाखबाट कलकत्ता उडानको घोषणा गरिसकेको छ ।

बुद्ध एयरसँग हाल आन्तरिक उडानमा ११ वटा जहाज छन् । यसले हाल ६ वटा ७२ सिट क्षमताको, तीन वटा ४२ सिट क्षमताको र दुईवटा १८ सिट क्षमताको जहाजमार्फत दैनिक ५९४ सिट क्षमतामा जहाज उडाएको छ । यसले थप दुईवटा एटीआर थप गरेपछि यसको सिट क्षमता १४४ बढेर ७३८ सिट क्षमता हुने भएको छ ।

श्री एयरसँग हाल ५० सिट क्षमताका दुई, ७० सिट क्षमताका २ जहाज छन् । यसले फागुनपछि थप ७८ क्षमताका ३ जहाज थप गर्दै छ । हाल २४० सिट क्षमता दैनिक रहेको भने भने यसले पनि २३४ सिट क्षमता थप गरेर दैनिक ४७४ सिट क्षमतामा जहाज उडाउने भएको छ ।

आन्तरिक उडानमा अब बुद्धपछि श्री एयरलाइन्सको बजार हिस्सा जहजकै सिट क्षमतका कारण बढ्ने भएको छ । हाल बजार हिस्सामा दोस्रो स्थानमा हरेको यती एयरलायन्सले पनि बार्षिक ६ लाख मात्रै यात्रुलाई सेवा दिएको छ । यो वायुसेवासँग २९ सिट क्षमताका ६ वटा र ७० सिट क्षमतका दुईवटा गरी जम्मा दैनिक जहाजको सिट क्षमता ३८४ मात्रै छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया