‘यति धेरै आयात गरेर खाने संसारमा अर्को मुलुक छैन’


आर्थिकन्यूज

हाम्रो पिँडीले पनि देश विकास गरेन भने साँच्चिक कुन पिँडीले विकास गर्न सक्दैन । किनकी अर्को पिँडीलाई संसारका सबै ढोका खुल्ला छन् । त्यसैले हाम्रै कालमा परिवर्तन गर्ने हो । नेपाली उद्यमीहरुको तर्फबाट काम गर्ने भएकाले सरकारलाई भन्न चाहान्छु हामी काम गर्न इच्छुक छौं, लगानी बढाउन इच्छुक छौं ।

भारत र चीनमा सरकारले विकास गरेर यो क्षेत्रमा प्रवद्र्धन गर्न चाहेको छ । त्यसको अगाडि हाम्रो नीति धेरै वामपुड्के छ । नेपालका नीतिलाई वामपुड्के नबनाऔं ।

नेपाल उद्योग परिसंघको तर्फबाट हामीले महत्वपूर्ण ३६ वटा कानुनलाई संशोधन गरौं, खारेज गरौ भनेर हामीले सरकार र संसद्लाई आग्रह गरेका छौं ।

नेपालमा उत्पादन हुनसक्ने सामान खुल्ला तरिकाले आयात नगरौं । हाम्रो निर्यात गर्ने तरिका संसारको सबैभन्दा तल छ, जसले गर्दा हामी आफैंलाई लगुताभास हुन्छ । सरकारमा त्यो काम गर्ने मान्छेलाई त ज्वरो आउनुपर्ने हो तर ज्वरो आएको मैले देखेको छैन ।

यति धेरै आयात गरेर खाने संसारमा अर्को मुलुक छैन । त्यकारण आगामी दिनमा नेपालमा बन्न सक्ने चिजलाई खुल्ला आयात नगरौं । यसतर्फ सरकारले जबसम्म चासो देखाउँदैन तबसम्म देशमा आयात निर्यातका बीचमा ठूलो खाडल हुँन्छ ।

हाम्रो पिँडीले सबै क्षेत्रमा काम गर्न सक्ने तागत राख्नुपर्छ । हामीले सक्ने सहयोग हामी गर्छौ । लिडरसिप भनेको आफूमात्रै माथि जाने, ठूलो पदमा पुग्ने होइन, आफूसँगै अरुलाई पनि माथि तान्न सक्ने क्षमता हुनुपर्छ ।

हामीलाई बाहिरी मुलुकमा लगानी गर्न दिनुस् हामी प्रतिस्पर्धा गर्न चाहान्छौ । खराब कानुन सम्पूर्ण रुपमा खारेज हुनुपर्छ । खारेज गरौ र नेपालीलाई काम गर्न दिउँ हामीले वर्षौदेखि भन्दै आएका छौं । सरकारसँग मेरो आग्रह छ, कति र कस्तो भए समृद्ध भइन्छ ? प्रतिव्यक्ति आयलाई मेजर गरौ, नेपालभित्र कति मान्छेलाई रोजगारी सिर्जना गर्न सकिन्छ र उद्योगधन्दाको उत्पादन बढाएर आयात कति प्रतिशतले कम गर्न सक्छौ ।

यसका निम्ति अबको आर्थिक वर्षको बजेटमा सरकारले योजना ल्याओस् । निजी क्षेत्रको तर्फबाट फेरि पनि भन्न चाहान्छु सरकारको साथै हामी काम गर्न चाहान्छौं । हामीलाई अवसर र जिम्मेवारी प्रदान होस् ।

गलत काम गर्नेलाई दुरुत्साहित गर्नुहोस् । कारबाही गर्ने नाममा विदेशीलाई प्रवद्र्धन नगर्नुहोस् । विदेशका मान्छेले सबै सुविधा पाउने तर नेपालीले केही पनि नपाउने गर्नुहँुदैन । नेपाल कस्तो बनाउने भनेर हाम्रो काँधमा जिम्मेबारी आएको छ । नेपालका उद्योगधन्दालाई काम गर्न गाह्रो हुने नीति नियम नबनाऔं सरकारलाई मेरो अनुरोध छ । आर्थिक रुपले सम्पन्न भएको मुलुकको नागरिक बन्ने अभिलाषा हो भने संस्था पनि समृद्ध हुनुपर्छ ।

हाम्रो देशमात्रै यस्तो हो जहाँ उद्योग चलाउने लाई सरकारले काहिँ पनि सहयोग गरेको छैन । ९६ हजार ५ सय करोड राजस्व नेपालीले तिर्छन् । त्यो पैसा चानचुने होइन । तर, त्यो पैसाको उपयोग भएको छैन । यस्तै हो भने नेपाल मरिच चाउरेको जस्तो भएर धेरै समय रहन सक्दैन ।

(नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले देउराली जनता फर्मास्युटिकल्स प्रालिको २८औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा व्यक्त गरेका विचारको सम्पादित अंश)

फेसबुकबाट तपाईको प्रतिक्रिया