ज्योतिष इतिहास र बैज्ञानिक आधार


ज्याे. उमेश दुलाल

ज्योतिष वा ज्योतिषी भन्ने बितिकै मान्छेले आ–आफ्नो तर्क गर्न थाल्दछन् । कसैले भविष्य कथन गर्ने मान्छे भनेर भन्ने गर्छन् भने कसैले अन्धविश्वासको दर्जामा राखिदिन्छन् । तर, बास्तवमा ज्योतिषलाई यो भविष्य कथन र त्यो अन्धविश्वास यस्तो उस्तो भन्नुपूर्व ज्योतिष के हो भन्ने ? कुरा सबैले बुझ्नु आवस्यक छ । यसको इतिहास, बैज्ञानिक आधार, ग्रहहरुको के कस्तो प्रभाव पर्छ? भन्ने लगायतका कुरा बुझ्नु पर्छ ।

ज्योतिष इतिहास
‘दि लस्ट बुक अफ भृगु’ नाम गरेको एक डक्युमेन्ट्रीमा पुराणमा भएको एउटा कथा प्रकाशित गरिएको छ, भगवान विष्णुले भृगु महर्षीलाइ राम्ररी स्वागत सत्कार नगरेको कारण भृगुले रिसाएर भगवान विष्णुको छातीमा लात्तीले हान्नुहुन्छ । त्यसपछि लक्ष्मीले भृगुलाई ‘ब्राह्मण कुलमा धनको लक्ष्मीको कमी होस् मेरो कृपा छैन ब्राह्मणहरुलाई’ भनेर श्राप दिनु हुन्छ ।

भृगुलाई आफ्नो गल्तीको पश्चताप भएपछि भगवान विष्णु र लक्ष्मीसँग माफी माग्नु हुन्छ । ब्राह्मणको हितको लागि के गरौं भनेर सल्लाह लिनु हुन्छ । त्यस्तै प्रशंगमा मानव जीवनको भविष्य कथन गर्न सक्ने ग्रन्थ रचना गर्ने सल्लाह लक्ष्मीले दिनुहुन्छ । तर, भृगुले कसरी गरौं के आधारमा गरौं भनी जिज्ञासा राख्दा भगवान विष्णुले नै भृगु महर्षीलाइ यो ज्योतिषको ज्ञान दिनुभयो भन्ने कुरा उल्लेख छ ।

भृगुद्वारा रचित ग्रन्थलाई भृगुसंहिता भनिन्छ । भृगु महर्षीलाई नै ज्योतिषको प्रणेता पनि भनिन्छ । वेस्ट्रन एस्ट्रोलोजीमा पनि ग्रिक युनानीहरुको कुनै विशेष देवताको विषयको कथा जोडिएको छ । कुनै देवता वा भगवानसँग जोडिएको इतिहासको त प्रमाण देखाउन सकिँदैन तर जे प्रमाण देखाउन सकिन्छ त्यससम्बन्धी सामान्य चर्चा गर्न चाहान्छु ।

इ.पू. ६,००० वर्ष अघि सुमेरियनहरुको विषयमा कथा पाइन्छ । आजको बैज्ञानिकहरुले पनि मानव जातिको वास्तविक इतिहास सुमेरीयनहरुले प्रारम्भ गरेका हुन् भन्ने कुरा पश्चिमा मान्दछन्। सुमेरीयनहरुले सुमेरु पर्वतमा ७०० फिट अग्लो लुनार बनाएर चौबिसै घण्टा ग्रह नक्षत्रको अध्यन गर्दथे किनकी सुमेरीयनहरुलाई एउटा गहिरो सुत्र थाहा भएको थियो कि, ‘मानव जगतमा जे जति कुरा घट्दैछ र जे जस्तो बिमारी आदि भएको छ त्यो घटनाको प्रारम्भिक स्रोत ग्रह नक्षत्रसँग कुनै न कुनै तरिकाले जोडिएको हुन्छ ।’ यहि कारणले उनीहरुले विभिन्न स्रोतद्वारा ग्रहादी नक्षत्रको अध्यन गरे । सुमेरु पर्वतमा भेटिएको हड्डीको अवषेशहरुमा प्राचीन ज्योतिषको चिन्ह र चन्द्रमाको यात्राको चिन्ह अंकित छन् । जुन चिन्ह इ.पू. २५,००० वर्ष पुरानो हो भनिएको छ ।

पश्चिमा जति पनि खोजविन अनुशन्धान आदि कार्य भयो त्यो सबै इ.पू. २५,००० वर्ष अघिबाट हुँदै आएको हो । भन्ने उनीहरूको मान्यता छ । तर, भारत वर्षको इतिहास निकै पुरानो छ । ऋग्वेदमा ९५,००० वर्ष अगाडि जे जस्तो ग्रह नक्षत्रको स्थिति थियो त्यसको यसमा उल्लेख गरेको पाइन्छ । यही कुरालाई आधार मानेर लोकमान्य तिलकले भनेका थिए–‘ज्योतिष ९० हजार वर्ष पुरानो त निश्चित हुनैपर्छ किनकी वेदमा ९५ हजार वर्ष अगाडि ग्रह नक्षत्रको स्थिति कस्तो छ भनेर लेखिएको छ भने त्यो लेख यति पुरानो त अवष्य हुन्छ नै ।’ पहिला ग्रह नक्षत्रको स्थिति कस्तो छ भन्ने बिषयमा जान्नको लागि कुनै उपाय थिएन । तर, अहिले यस्तो बैज्ञानिक साधन र उपकरण छन् । जसले गर्दा विगतमा ग्रह नक्षत्रको कस्तो स्थिति थियो भन्ने पत्ता लगाउन सकिन्छ ।

ज्योतिषको सर्वाधिक मान्यतानै भारत वर्षबाट शुरु भएको हो भन्ने दाबी छ । यो अर्को सत्य पनि हो कि ज्योतिषकै कारण गणितको शुरुवात भयो । अंकगणितको जति पनि अंक छ त्यो सबै कुराको गणनाकार प्राचीन भारतीय हुन् । (प्राचीन भारतमा नेपाल, इण्डिया, बंगलादेश, पाकिस्थान, भुटान आदि देश पर्छन् ।) भारत वर्षदेखि नै ज्योतिषको पहिलो किरण सुमेरुको सभ्यतामा पुगेको थियो । सुमेरु पर्वतको पनि धेरै कुरा पुराणहरुमा पाइन्छ । भगवान विष्णुको मक्षावतारपछि सुमेरुबाटै वैवत्सव मनुको सभ्यता शुरु भयो भन्ने कुरा पनि पुराणमा उल्लेख छ ।

इ.पू. ५००–६०० वर्ष अघि प्यारासिलसले भारत वर्ष र युरोप भ्रमण गरेका थिए । उनले भारत वर्ष भ्रमण गर्दा यहाँबाट ज्योतिषसम्बन्धी अध्ययन गरेर गएका थिए । प्यारासिलसले ग्रहको सम्बन्धमा प्रत्येक ग्रहले छुट्टाछुट्टै तरङ (ऊर्जा शक्ति) उत्पन्न गर्छ भन्ने सिद्वान्त स्थापित गरे ।

ग्रह नक्षत्र आदिबाट निस्कने ऊर्जा शक्ति निरन्तर पृथ्वीमा प्रवाह भइनै राखेको हुन्छ । ग्रह आकाशमा भ्रमणशील छन् । प्रत्येक ग्रह नक्षत्र भ्रमण गर्दा छुट्टाछुट्टै किसिमको ऊर्जा उत्पन्न गर्छ र जीव जगतमा प्रभाव पारिराखेको हुन्छ । जब नयाँ जीवन जन्म हुन्छ त्यो समयमा जुन नक्षत्रको ऊर्जा वायुमण्डलमा प्रवाह भइराखेको हुन्छ त्यो ऊर्जा शक्ति मानव जीवनमा हावी हुन्छ । जीवन स्वास्थ हुने वा अस्वस्थ हुने गर्दछ भनी प्यारासिलसको भनाइ थियो । त्यतिबेलाका चिकित्सकले ठिक पार्न नसकेको रोगलाई प्यारासिलसले ती रोगीहरुको जन्मको समय आदि सबै अध्ययन गरेर कस्तो खालको नक्षत्रले उनीहरुलाई असर गरेको छ भनी खोज गरी के कस्तो रोग छ, त्यो रोग पत्ता लगाएर निको पार्दिएको भन्ने इतिहास पनि छ ।

बैज्ञानिक आधार

सन् १९२० मा चिजेब्रस्की नाम गरेका एक रुसका बैज्ञानिकले सूर्यमा हरेक ११ वर्षमा एउटा ठूलो विस्फोट हुन्छ र त्यसको कारण पृथ्वीमा युद्ध र क्रान्ति फैलिन्छ भन्ने पत्ता लगाए । चिजेब्रस्कीले ७०० वर्षको मिहिन ढंगले विश्लेषणात्मक व्याख्या गरेका थिए कि आजको विज्ञानले गलत हो भनेर भन्न पनि सकेको छैन । माक्र्सबादको सिद्धान्तअनुसार युद्ध र क्रान्तिको कारण गरिबी हो भन्ने थियो । तर, चिजेब्रस्कीको सिद्धान्त सूर्यको कारण हो भन्दा माक्र्सवादको सिद्धान्तको विरुद्ध भयो भन्दै चिजेब्रस्कीलाई जेलसमेत हालियो । जेलबाट छुटेपछि उनी ४–६ महिना भन्दा धेरै बाचेनन् तैपनि ज्योतिषको विषयमा धेरै प्रमाण छोडेर गए ।

सन् १९५० देखि ज्योतिषमा एउटा अर्को नयाँ विज्ञान र सिद्धान्त स्थापित भयो । जुन सिद्धान्तलाई ‘कजमिक केमेस्ट्री’ भनेर नाम दिइयो । यो सिद्धान्त स्थापित गर्ने बैज्ञानिक जियोजार्गी गिर्योडी थिए । धेरै अनुसन्धान गरेपछि उनले भने कि यो सम्पूर्ण जगत नै एउटा ‘अज्र्ञानीक युनिटी’ हो र यहाँ सबै कुरा एक आपसमा जोडिएको एउटै तत्वको हो भनेर सिद्धान्त राखे ।

यस जगत र जगतमा भएको सम्पूर्ण कुरा एउटै शरीर हो । यहाँ एक शरीरको एउटा अंगले अर्को अंगलाई महशुस गर्न सक्छ । जस्तैः मेरो शिरमा चोट लाग्छ भने मेरो खुट्टा हड्बडाएर म लड्न सक्छु अथवा मेरो खुट्टामा चोट लाग्छ भने मेरो ह्दयले पनि अनुभव गर्छ । त्यसै गरी ब्रह्माण्डमा कुनै नक्षत्रमा (तारामा) वा ग्रहमा कुनै परिवर्तन आउँछ भने मानव जीवनमा नै परिवर्तन ल्याउँछ ।

सूर्यमा भएको सानो परिवर्तनले पनि पृथ्वीमा जीवनलाई प्रभाव गर्छ । पृथ्वीमा त्यस्तो कुनै घटना घटेको छैन जुन सूर्यमा नघटी पृथ्वीमा मात्रै घटेको होस् । किनकी पृथ्वी सूर्यको अंश हो । यसमा भएको जीवन पृथ्वीको अंश । हामीले हेर्दा सूर्य टाढा छ । तर, हाम्रो रगतको कण–कणमा सूर्य छ । सूर्यमा हुने सानो परिवर्तनले पनि हाम्रो शरीरमा रगत बग्ने शैलीनै परिवर्तन गराइदिन्छ ।

सूर्यमा प्रत्येक ९० वर्षमा हुने अर्को ठूलो (विस्फोट) परिवर्तनले पृथ्वीमा भूकम्प जाने गर्छ । यही कारणले पनि प्रत्येक ९० वर्षमा एउटा महाभूकम्प जान्छ भनिएको हो । सन् २०१५–१६ मा लगभग पृथ्वीभरीनै भूकम्प गएको थियो । पूर्णिमा नजिकिँदै गर्दा समुन्द्रमा भएको पानी छल्किएर छाल आउने गर्छ । समुन्द्रमा भएको नुनको मात्रा र हाम्रो शरीरमा हुने नुनको मात्रा लगभग एकै हुन्छ ।

अब सोच्नुस कि समुन्द्रमा प्रभाव ल्याउँछ भने मानव जीवन प्रभावित नभएको होला त? यसै गरी अन्य ग्रह नक्षत्रको प्रभावले पनि जीवनमा परिवर्तन ल्याउँछ । हाल नासाले यो कुरा पत्ता लगायो कि पृथ्वीमा भएको मौसम परिवर्तनमा पनि ग्रहको भ्रमणले प्रभाव पार्छ । पृथ्वीको कुनै देशको कुनै स्थान मात्र नभई पूरै पृथ्वीभरीकै मौसममा प्रभाव पार्दछ । त्यसैले ‘द क्लाइमेट अफ दि अर्थ’ भनेर पृथ्वीकै मौसमको विषयमा अध्यन गर्न आजका बैज्ञानिक जुटेका छन् ।

ज्योतिष भनेको के हो ?

आकाशमा रहेको आकाशीय पिण्ड, ग्रह नक्षत्रहरु र ग्रह नक्षत्रबाट उत्पन्न हुने तरङ्गहरुको अध्ययन गरेर त्यसबाट मानव जीवनमा हुन सक्ने (घटित) घटनाको व्याख्या गर्नु नै ज्योतिष हो । ज्योतिष विषय अध्ययन गर्नेलाई जोतिषि भनिन्छ । यो एउटा सामान्य बिज्ञान मात्र नभई पूर्ण बिज्ञान नै थियो । तर, समयको कालान्तरसँगै धेरै तथ्यहरु लोप हुँदै गयो ।

तथाकथित २–४ महिना ज्योतिषको किताब हेरेर आफूले आफूलाई ज्योतिषी भन्दै नामको अगाडि ‘ज्योतिष’ राखेर ठग्न बसेकाहरुले गर्दा पनि आज यो बिज्ञान ओझेलमा परेको हो । अब यसरी ठग्नेलाई देशमा भएका ठूला ज्योतिषी र ज्योतिष केन्द्रहरुले कारबाही गर्नुपर्छ । तथा ज्योतिषसम्बन्धी अनुसन्धान आदि कार्य गर्नलाई सरकारले पनि यस विषयमा चाहिने स्रोत र उपकरणको व्यवस्था गर्दिनुपर्छ ।

ज्योतिषको अनुसन्धान कार्य अगाडि बढाउनको लागि सहायता दिन आवश्यक छ । अमेरिका जस्तो राष्ट्रमा त ज्योतिषीहरुको अनुसन्धानको लागी सरकार वर्षेनी लाखौं डलर खर्चिराखेको छ भने हाम्रो एउटा सानो विकासोन्मुख राष्ट्रलाई सरकारद्वारा करोडौं डलर खर्चिन नसके पनि केही उपकरणहरुको व्यवस्था गर्दिन त सक्छ की ?

फेसबुकबाट तपाईको प्रतिक्रिया