कमजोर रेटिङ पाएको आशा लघुवित्तलाई आईपीओ बिक्रीको अनुमति


आर्थिकन्यूज

काठमाडौं, पुस ३० । नेपाल धितोपत्र बोर्डले कमजोर रेटिङ पाएको कम्पनीलाई साधारण शेयर बिक्रीका कडाइ गर्ने नीति लिएको १० दिन पनि बित्न नपाउँदै कमजोर वित्तीय अवस्था भएको आशा लघुवित्त वित्तीय संस्थालाई साधारण शेयर (आईपीओ) बिक्रीको अनुमति दिएको छ ।

इक्रा नेपालले गरेको रेटिङमा आशा लघुवित्त वित्तीय संस्थाले ग्रेड ४ पाएको छ । त्यो भनेको वित्तीय अवस्था राम्रो छैन भन्ने हो । कमजोर रेटिङ भएको कम्पनीलाई साधारण शेयर बिक्रीमा कडाई गर्ने नीति व्यवहारिक रुपमा लागू गर्ने बोर्डले बताइरहँदा कमजोर रेटिङको कम्पनीलाई किन अनुमति दिइयो होला भन्ने जिज्ञासासमेत उत्पन्न भएको छ ।

बोर्डले सरकारले गठन गरेको कार्यदलको सुझावलाई लागू गर्ने भन्दै केही दिन पहिले कमजोर रेटिङवाला कुनै पनि कम्पनीलाई साधारण शेयर बिक्री गर्न नदिने बताएको थियो । तर, सो घोषणा गरेको परिपत्र गरेको मसी सुक्न नपाउँदै बोर्डले अर्को कमजोर कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति दिएको छ ।

बोर्डले आशालाई ६ करोड ७४ लाख रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको छ ।

संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । संस्थाको ६७.५० प्रतिशत संस्थापक र ३२.५० प्रतिशत सर्वसाधारणको लगानी रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया