बारीबाटै सुपारी तस्करी, दिनभर संकलन गरेर रातभर तस्करी


आर्थिकन्यूज

काठमाडौ, पुस २९ । प्रदेश १ का किसानले लगाएको सुपारी पाकेसँगै भारतीय तस्करले सुपारी संकलन गर्न सुरु गरेका छन्। भारततर्फ तस्करी गर्न अहिले सुनसरी, मोरङ र झापा जिल्लाका किसानको बारीमा सुपारी तस्कर पुगिसकेका छन्। उनीहरूले दिनभर सुपारी संकलन गर्ने गरेका हुन्।

काँचो सुपारी नेपाल–भारत खुल्ला सीमा नाकाबाट रातभरी तस्करले भारततर्फ लैजाने गरेका छन्। नेपालले भारतलगायतका तेस्रो मुलुकमा सुपारी निकासीमा प्रतिबन्ध लगाएको भए पनि तस्करले यि तीन जिल्लामा उत्पादन भएको सुपारी रातको समयमा भारत तिर तस्करी गर्ने गरेका छन्।

सरकारले सुपारी निकासी गर्न प्रतिबन्ध लगाएपछि भारतीय तस्करले सिजन सुरु हुनु अगावै काँचो सुपारी संकलन तीव्र बनाएका छन्। सुनसरीको धरान, इटहरी, बराहक्षेत्र, इनरुवा, रामधुनी, दुहबीलगायतका स्थानमा किसानले उत्पादन गरेको काँचो सुपारी बोटमै गएर संकलन गर्ने गरिएको छ।

त्यस्तै मोरङको विराटनगर, बेलवारी, उर्लावारी, पथरी, रंगेलीलगायतका स्थानमा पनि काँचो सुपारी संकलन भइरहेको छ। झापाको दमक, बिर्तामोड, शिवसताक्षी, बेलडाँगी, काँकडभिट्टा, धुलावारी, भद्रपुरलगायतका स्थानमा पनि भारतीय तस्करले किसानका सुपारी संकलन गर्ने कार्यलाई तीव्र पारेका छन्।

तस्करले काँचो सुपाडी बोक्रैसँग जोखेर प्रतिकिलो २० रुपैयाँका दरले भुक्तानी दिँदै आएका छन्। धरानका सन्दीप लिम्बूले भारतीयलाई बोक्रैसहितको सुपारी प्रतिकिलो २० रुपैयाँले बिक्री गरेको बताए। अन्नपूर्ण पोस्टबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया