भक्तपुर इलेक्ट्रोनिक्स एक्स्पो तथा व्यापार मेला १० करोड कारोवार


आर्थिकन्यूज

भक्तपुर, पुस २८ । भक्तपुरमा सल्लाघारीमा लागेको तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो तथा व्यापार मेलामा दुई दिनमा करिब १० करोडभन्दा बढीको कारोबार भएको छ ।

भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघको आयोजनामा बिहिबारबाट सुरु भएको मेलामा करिब १० करोड रुपैँया बरावरको कारोवार भएको मेला व्यवस्थापन समितिका संयोजक माधव प्रसाद प्रजापतिले जानकारी दिए ।

दोस्रो दिनको मेलामा गायकहरु क्रमशः मानश राज, सन्जिव बस्नेत, राजु श्रेष्ठ लगायतकाले सांगितिक प्रस्तुतिले मेलालाई थप मनोरन्जन दिएको संयोजक प्रजापतिको भनाई छ ।

पौष ३० गतेसम्म चल्ने मेलामा एक सय ५० स्टलहरु रहेका छन् । जसमध्ये एक सय स्टलहरुमा विद्युतीय सामग्रीसँगै सूचना प्रविधिका साम्रगी रहेका छन, भने बाँकी स्टलमा भक्तपुरका मौलिक उत्पादन, अटोमोबाइलका स्टलहरु रहेको मेलाका संयोजक प्रजापतिले जानकारी दिए ।

मेलामा २ लाख अवलोकनकर्ताले अवलोकन गर्ने र करिब ५० करोड रुपैयाँको हाराहारीमा कारोबार हुने संघका अध्यक्ष पुण्यराम खाताखोले जानकारी दिए ।

त्यस्तै मेलामा छाला ज्याकेट, बेनली कम्पनीका मोटरसाईकल, मोवाईल, एलइडि टेलिभिजन सेट, वासिंङ मेसिन, रेफ्रिजिरेटर, ल्यापटप लगायत विभिन्न कम्पनीका विद्युतिय सामग्रीहरुले अवलोकनकर्ताहरुको ध्यान तानेको आयोजकले जानकारी दिएको छ ।

मेलामा अटोमावाइल स्टलहरुमा गाडीहरुको वुकिंङ समेत भएको आयोजकले जानकारी दिएको छ । मेलामा विभिन्न मौलिक नेवारी परम्परागत बाजागाजा, परम्परागत रुपमा चिउरा बनाउने तरिका लगायत पनि प्रदर्शनीमा राखिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया