एकमहिनामा जापान र दुईमहिनामा चीन जाँदै वाइडबडी, २४ अर्बको जहाजलाई नयाँ गन्तव्यमा पठाउन किन ढिलाई ?


आर्थिकन्यूज

काठमाडौं, पुस २८ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले एक महिनाभित्रै जापान र अर्को एक महिनापछि चीन उडान गर्ने भएको छ । वायुसेवा निगमले गत असार र साउमा भित्र्याएको वाइडबडी जहाज लामो दूरीको उडान गर्ने प्रयोजनका निम्ति ल्याएको भएपनि आवश्यक तयारी नपुग्दा र निमगले उडान व्यवस्थापन मिलाउँन नसक्दा यो वायुसेवा मलेसिया र कतारसहतिका आधा दर्जन गन्तव्यमा मात्रै सिमित रहेको छ ।

निगमले यही फेब्रुअरीबाट जापानको ओशाका र मार्चदेखि चीनको ग्वानजाओमा उडान गर्ने भएको छ । निगमले उडान व्यवस्थापनका लागि तयारी गरिसकेकोले अब जापान र चीनको सम्बन्धित विमानस्थलबाट अनुमति मात्रै पाउँन बाँकी रहेको वायुसेवा निगमका अध्यक्ष मदन खरेलले बताए । उनले भने ‘आवश्यक प्रक्रिया मिलिसकेको छ । हामीले दिनुपर्ने कागजात र प्रक्रिया पुराइसकेको छौं, अब उतिबाट निर्णय आउन मात्रै बाँकी रहेको जानकारी अध्यक्ष खरेलले दिए ।

जहाज अभावमा निगमले गुमाउँदै गएको पर्यटकीय गन्तव्य फेरि फर्काउने तयारीमा छ । यस अघि निगमले फ्र्याङ्फर्ट, लण्डन, पेरिस, ओशाका, ढाका, कराँची, ल्हासा, सांघााई, पारो, रङ्गुन, कोलम्बो तथा भारतको बङ्लोर, मुम्बई, पटना, कोलकाता र दिल्ली उडान गरिसकेको भएपनि एकपछि अर्को गर्दै उडान संख्या घटाउँदै गएको हो ।

हाल निगमको जहाजले नयाँ दिल्ली, बैग्लोर, मुम्वाई, बैंकक, दोहा, हङ्कङ, दुबई, क्वालालम्पुर गरी आठवटा गन्तव्यमा उडान गरिरहेको छ । यो वयाुसेवाले जापान, चीन, दक्षिण कोरिया, साउदी अरेयिबासहितका गन्तव्यमा उडान अनुमतिको लागि सम्बन्धित देशसँग नेगोशेसनको चरणमा रहेको पनि उल्लेख गरेको छ ।

वायुसेवा निगमले हाल १५८ सिट क्षमताको न्यारोबडी नामक जहाजबाट उडान गरिरेकै गन्तव्यमा नै ठूलो अर्थात २७४ सिट क्षमताको वाइडबडी जहाजबाट उडान गरिरहेको छ । वाइबडी लामो दुरीको उडान गर्ने वायुसेवा भएपनि निगमले छोटो दुरीमै प्रयोग गरिरहेको छ ।

१९९० को दशकमा युरोपका बिभिन्न सहरका साथै पूर्वी एशिया अर्थात चीनको सांघाइ हुँदै जापानको ओसाकासम्म पुगेको निगम जहाज अभावकै कारण खुम्चदै गएको हो । निगमले अब फेरि उडान गन्तव्य विस्तारको काम थालिसकेका छ ।
निगमले जापान उडान गर्न अफिस राख्ने, ग्राउण्ड ह्याण्डलिङको व्यवस्थापन मिलाउने काम गरिसकेको छ । जापानले भर्खरै सीधा उडान गर्ने विषयमा नेपाल जापानबीचको दुई पक्षिय सम्झौतासमेत गरिसकेको छ ।

वायुेवा निगमले ल्याएको २४ अर्बको जहाजको उचित तवरले काम गर्दा नसक्दा र समयमा नै गन्तव्य पहिचान गरेर अगाडि बढ्न नसक्दा उडान ढिलो भइरहेको छ । निगमलको ल्याएको दुई वटा नयाँ वाइडबडीले अब छिट्दै जापान र चीन जाने भएको छ । त्यसपछि निगम दक्षिण कोरिया र साउदी अरव पनि जाने निगमले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया