डेढ वर्षमा ४०४ स्थानीय तहमा बैंक पुगे, अझै ५४ वटामा पुग्न बाँकी


आर्थिकन्यूज

काठमाडौं, पुस २७ । सात सय ५३ स्थानीय तहमध्ये अब ५४ स्थानमा मात्रै वाणिज्य बैंकका शाखा पुग्न बाँकी रहेको छ । सरकारले जतिसक्दो छिटो मुलुकका सबै स्थानीय तहमा बैंक शाखा पुर्याउने लक्ष्य लिए अनुरुप हालसम्म जम्मा ६ सय ९९ सय स्थानीय तहमा बैंक शाखा पुगिसकेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

बाँकी स्थानीय तहमा पनि बैंक शाखा पुर्याउन पहल भइरहेको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए ।

राष्ट्र बैंकको तथ्यांकअनुसार ग्लोबल आइएमई र नेपाल इन्भेष्टमेन्ट बैंकको एक-एक स्थानीय तहमामात्र शाखा स्थापना हुन बाँकी छ । यस बैंकले संखुवासभाको भोटेखोला गाउँपालिकामा मात्रै शाखा विस्तार गर्न बाँकी रहेको छ ।

सिभिल बैंक र नेपाल बैंकले दुई स्थानीय तहमा शाखा खोल्न बाँकी रहेको छ । नेपाल बैंकको मनाङको नार्फु र काईके गाउँपालिकामा शाखा खोल्न पूर्वाधार तयार पार्दै गरेको अवस्था छ भने सिभिल बैंकले गोरखा र जाजरकोटका दुई गाउँपालिकामा शाखा विस्तार हुन बाँकी छ ।

राष्ट्रिय वाणिज्य बैंकले डोल्पाको दुई गाउँपालिका र मुगुको मुगुमर्कारोग गाउँपलिकामा शाखा विस्तार गर्न बाँकी रहेको छ भने हिमालयन बैंकले बाजुराका तीन गाउँपालिकामा शाखा विस्तार गर्न बाँकी रहेको तथ्यांक राष्ट्र बैंकले बनाएको छ ।

हिमालयन बैंकले बाजुराको छेडेदह, पाण्डव गुफा र स्वामीकार्तिक गाउँपालिकामा शाखा स्थापना गर्न बाँकी रहेको छ ।

त्यस्तै एभरेष्ट, नेपाल क्रेडिट एण्ड कमर्श, माछापुच्छे्र, प्रभु र कुमारी बैंकहरूको तीन-तीन स्थानीय तहमा शाखा विस्तार हुन बाँकी छ ।
त्यसरी नै नेपाल एसबीआई बैंकले आठ स्थानमा, कृषि विकास बैंकको नौ स्थानमा, बैंक अफ काठमाडौंले पाँच स्थानमा, सेन्चुरी कमर्सियल बैंकको पाँच शाखा विस्तार गर्न बाँकी रहेको छ ।

सरकारले डेढ वर्ष अघि सबै स्थानीय तहमा बैंक शाखा विस्तार गर्ने अभियान शुरु गर्दा ७ सय ५३ स्थानीय तहमध्ये २ सय ९५ मा मात्र बैंक शाखा पुगेका थिए । डेढ वर्षको यो अधिमा सरकारले चार सय चार स्थानीय तहमा बैंकका शाखा विस्तार भएका छन् ।

विभिन्न प्रतिवेदनले देखाएअनुसार ६० प्रतिशत नेपाली अनौपचारिक माध्यमबाट जोडिए पनि करिब २० प्रतिशत मानिस पूर्णरुपमा बैंकिङ पहुँचभन्दा बाहिर छन् । ४० प्रतिशत जनता बैंकिङ पहुँचमा समेटिएका राष्ट्र बैंकको तथ्यांकले बताउँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया