चिसोले कठ्यांग्रिएर काठमाडौंमा दैनिक ६ को मृत्यु, धेरैजसो सडकमा बेवारिसे अवस्थाका वृद्धवृद्धा


आर्थिकन्यूज

काठमाडौं, पुस २७ । काठमाडौंमा बढेको चिसोले कठ्यांग्रिएर दैनिक ६ जनाको मृत्यु हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । मृत्यु हुनेमा विशेषगरी सडकमा बेवारिसे अवस्थाका वृद्धवृद्धा छन् । प्रहरीका अनुसार यो तथ्यांक काठमाडौं महानगरपालिकाआसपासका सडकपेटीमा बेवारिसे अवस्थामा रहेका वृद्धवृद्धाको मात्रै हो । यस्ता वृद्धवृद्धा काठमाडौंको सडकपेटीमा दुई सयको हाराहारीमा रहेको प्रहरीको दाबी छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजेन्द्र पोखरेलले बढ्दो चिसोका कारण प्रत्येक वर्षको जाडोमा कक्रिएर दैनिक चारदेखि ६ जनाको मृत्यु हुने गरेको बताए । ‘बढ्दो चिसोले सहरमै दैनिक चारदेखि ६ जनाको कक्रिएर मृत्यु हुन्छ । सडकपेटीका बेवारिसे वृद्धवृद्धाले चिसोका कारण मृत्युवरण गरिरहेका छन्,’ उनले भने, ‘विगत वर्षका तथ्यांकले यस्तै देखाउँछ ।’ प्रहरीका अनुसार काठमाडौं उपत्यकाका मन्दिरआसपासका क्षेत्रमा धेरै छन् । त्यसमा पनि भिख माग्ने वृद्धवृद्धाको संख्या धेरै छ ।

मन्दिरआसपासका क्षेत्रमा भिख माग्ने कार्यमा वृद्धवृद्धा नै धेरै भएकाले जाडोले कक्रिएर मर्नेको संख्या यी क्षेत्रमा धेरै हुने गरेको प्रहरीको भनाइ छ । गृह मन्त्रालयको तथ्यांकअनुसार मुलुकभर चिसोले कक्रिएर प्रत्येक वर्ष ४८ जनाको मृत्यु हुने गरेको छ । मृत्यु हुनेमा विशेषगरी हिमाली र तराई क्षेत्रका विपन्नवर्गका नागरिक छन् । हिमाली क्षेत्रमा हिउँको चिसोले कठ्यांग्रिएर र तराईमा शीतलहरका कारण मृत्यु हुने गर्छ । नयाँ पत्रिका दैनिकबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया