तारागाँउ होटलमाथि संसदीय छानबिन थप एक महिना लम्बियो, अर्बौको सम्पती चलाउँदा स्वार्थ बाझियो कि निष्पक्षतासम्म पुगिएन ?


आर्थिकन्यूज

काठमाडौं, पुस २६ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एक महिना अगाडिदेखि सुरु गरेको पाँचतारे होटल हायात रिजेन्सीको छानबिनका लागि एक महिनाको समय थप गरिएको छ । समितिले उसमिति बनाएरै थालेको छानविनका लागि एक महिनाको समय अभाव भएको र आवश्यक विवरणको अध्ययन गर्न नसकिएको भन्दै अर्को एक महिना थप भएको छ ।
करिब २४ अर्बको सरकारी स्वामित्व एकलौटी हत्याउने प्रयास गरिरहेको तारागाउँ होटलमा शेयरको मेजोरिटी एसियाली विकास बैंक अन्तर्गतको आइसीटीसीको छ । यो कम्पनीको नेपालमा निकै धेरै क्षेत्र लगानी छ । हायातमा सरकारले हाल हाल्दा यसको स्वामित्व गुम्ने वा प्रश्न उठ्ने भएको छ । यसलाई बैधानिक तरिकाबाट चलाउन र सरकारको स्वामित्व जोगाउन सरकारले संसदीय समिति गठन गरेको हो ।

यसभन्दा अगाडि एक्लै लडिरहेको पर्यटन मन्त्रालय अन्तर्गतकै तारागाँउ विकास समितिले हो होटलसँग गरेको सम्झौताको खारेजी, होटलसँगको जग्गा भाडा रद्ध गर्ने र ४९ मा होटललाई प्रति रोपनी १० लाखका दरले बिक्री गरेर दिएको १५० रोपनी जग्गा र त्यस वापत सरकारले गरेको १७ करोड रुपैयाँको शेयर लगानी पनि रद्द गर्नुपर्ने माग तारागाँउ विकास समितिको छ ।

संसदीय समितिले यस विषयमा मिहिन अध्ययन गरिरहेको र थप प्रमाण तथा दस्तावेजको खोजीका निम्ति समय थप गरेको समितिले जानकारी दिएको छ । तारागाँउ होटल अन्तर्राष्ट्रिय चेनको हायात रिजेन्सी हो । यसको सञ्चालक भारतीय नागरिक राधेश्याम सराफसहितका व्यक्ति छन् । होटल सञ्चालक समूहले आकर्षक अफर ल्याउने र छानविन समितिलाई प्रभाव पारेका कारण पनि यसको छानविन टालटुले हुने हो कि भन्ने आशंका पनि गरिएको छ । तर यो समितिलाई निष्पक्ष छानविनको दबाब भने परेको छ ।

यो होटलले ३०५ रोपनी जग्गासहितको सबै स्वामित्व हत्याउन खोज्ने तारागाँउ रिजेन्सी होटलमाथि संसदीय छानविन सुरु गरेको हो । संसदको अन्तर्राष्ट्रि सम्बन्ध समितिले पाँच सदस्यीय उपसमिति बनाएरै यो होटलको विषयमा आवश्यक छानविन गरिरहेको छ ।

होटलले २५ वर्षदेखि ओगटेको सरकारी स्वामित्वको ताराँगाउँ विकास समिति अन्तर्गत भएको लगानी, भौतिक चल अचल सम्मतिसहितको सबै विषयमा थप एक महिना अध्ययन गरेर प्रतिवेदन बुझाउने समयसीमा पाएको छ । यसका लागि सांसद अग्निप्रसाद सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन भएको छ।

समिति सदस्यमा नारादमुनि राना, पुष्पा भुसाल, प्रेमबहादुर तुलाचन र सानु सिवा रहेका छन्। समितिले सरकारी जग्गा उपभोग गरेको र बर्सौँसम्म प्रतिफल नदिएको तथा सरकारी लगानी घट्दै गएको लगायतका विषयमा तारा गाउँ रिजेन्सी (हायात)होटलको विषयमा आवश्यक अध्ययन गर्ने र प्रतिवेदन बुझाउने कार्यगत सर्त पाएको छ ।

समितिले काम सुरु गरिसकेको र केही तथ्यसहितका विवरण संकलन गरिरहेको उल्लेख छ । सचिवालयका अनुसार होटल विवादमा तानिएको, लामो समयदेखि मिडियामा यसको समाचार आइरहेको र सरकारी लगानीले वर्षोसम्म प्रतिफल नपाउने वषय आएपछि छानविन समिति बनाएरै आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय अनुसार काम भइरहेको छ ।

हायातले सरकारी स्वामित्वको करिब २४ अर्ब रुपैयाँको सम्पतीमा २५ वर्षदेखि भारतीय लगानीकर्तामार्फत रजाइँ गरिरहेको छ । तारागाँउ विकास समितिको ३०४ रोपनी जग्गामध्ये २९८ रोपनीमा हायातले २५ वर्षदेखि होटल र यसको कम्पाउन्डको रूपमा भोगचलन गरिरहेको छ । सरकारी सम्पतीको २५ वर्षदेखि अहिलेसम्म मूल्यांकन भएको छैन ।

होटल सञ्चालन गर्न सरकारले राखेको २५ वर्ष अगाडि नै लगानी गरेको १७ करोड रुपैयाँ (३९.७७ प्रतिशत)को शेयरबाट हालसम्म प्रतिफल शून्य छ । होटल सञ्चालन भएको दुई दशकसम्म पनि सरकारी प्रतिफल शून्य हुनु र होटलले पटपकपटक शेयर संरचना परिवर्तन गरेर सरकारी स्वामित्वलाई घटाएर ९.०१ प्रतिशत कायम गराइसकेको छ ।

होटल आफैंले भने २२.६७ प्रतिशत भन्दा माथि शेयर नै नरहेको तर्क दिँदै पन्छिरहेको छ । यसले बैंक तथा वित्तीय संस्थाको ५४ प्रतिशत शेयर देखाएको छ । तर कुन कुन संस्थाको शेयर छ भनेर स्पष्ट पारेको छैन । होटललाई बाहिर देखाउने एक र भित्रभित्रै मिलाउने अर्को कागज बनाइरहेको आरोप पनि लागेको छ ।

यो होटलले भाडाबापट लिएको १५० रोपनी जग्गाको साढे दुई दशकसम्म पुनःमूल्यांकन नै छैन । १४८ रोपनी जग्गावापत गरेको १७ करोड रुपैयाको सेयरमा हालसम्म कुनै मुनाफा नहुँदा अबौंको सम्पतीमा भारतीय लगानीकर्ता राधेश्याम सर्राफसहितको समूहले रजाइँ मात्रै गरिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया