सत्ता नै नरहने रिपोर्ट दिंदा आफ्नै जागिर चट्


आर्थिकन्यूज

काठमाडौं, पुस २६ । सरकारले देशको गुप्तचरी गर्ने निकाय राष्ट्रिय अनुसन्धान विभाग ‘राअवि’का प्रमुख दिलिप रेग्मीलाई हटाएर नयाँ गुप्तचर प्रमुखको नियुक्ति गरेको छ । नयाँ गुप्तचर प्रमुखमा गणेश अधिकारीले हाजिर गरि काम शुरु गरिसकेका छन् । प्रधानमन्त्री कार्यालय मातहत रहेको राअविको नियमावली नै संशोधन गरी सरकारले रेग्मीलाई हटाएको हो । यसअघि गुप्तचर प्रमुखको अवधि चार वर्ष रहने गरेकोमा अब भने तीन वर्षमा झारिएको छ ।

स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्की निकट रहेका रेग्मीले तीन वर्षको अवधिमा गुप्तचर विभागमा सिन्को समेत भाँच्न सकेका थिएनन् । उनले जुन सरकार बन्यो, त्यहि सरकारसँग नजिक हुन गलत रिपोर्टहरु दिने गरेका थिए । जसलाई पत्याउँदा सरकार नै बद्नाम हुने गरेको थियो । नयाँ सरकार गठन भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीमा धमाधम बढुवा र सरुवालगायत नीति निर्माणका कार्यहरु अगाडि बढेका थिए । तर, गुप्तचर प्रमुख रेग्मीले कुनै पनि कार्य योजना ल्याउन सकेका थिएनन ।

गुप्तचर गर्ने निकाय नै पंगु बन्न थालेपछि प्रधानमन्त्री ओलीले हस्तक्षेप गरेर आफ्नो कार्यालय मातहत लगेका थिए । देशको आन्तरिक सुरक्षा र विदेशी चलखेलको सूचना संकलनका लागि गठन गरिएको गुप्तचरी निकाय नै रेग्मीका कारण पंगु बनेपछि सूचना संकलन हुनु त परै जाओस्, भएका सूचना पनि विदेशी दूतावासमा विक्री हुने गरेका थिए ।

स्रोतका अनुसार भारतसँग विशेष सम्बन्ध रहेका रेग्मीले भारतको गुप्तचर एजेन्सीबाट आउने झुटा सूचनालाई भेरिफाई नै नगरी सरकारलाई रिपोर्ट दिने गर्दा उनी गलत ठहरिएका हुन् । उनले पद जोगाउन सत्ता नै नरहने खालका सूचना दिन थालेपछि बाध्य भएर सरकारले नियमावली परिवर्तन गरी हटाएको गुप्तचर स्रोत बताउँछ ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट भइरहेको अवैध सुन तस्करी, लागूऔषध कारोबार गर्ने विदेशी गिरोह, वेला वखत विदेशी आतंकवादी संगठनका सदस्य नेपालमा पक्राउ पर्दा समेत राअविले अहिलेसम्म कुनै सुईको पाउन सकेको थिएन । त्यस्तै तराइका भूमिगत संगठन, विप्लव माओवादीले फैलाईरहेको आतंकको सञ्जालको बारेमा पनि राअवि बेखवर थियो ।

जवकी भारतको गुप्तचरी निकाय ‘रअ’ देश विदेशमा निकै सक्रिय रहँदै आएको छ । भारतमा ‘रअ’ ले दिएको सूचनालाइ सरकारले तुरुन्तै कार्यान्वयन गर्दछ । तर, नेपालमा भने गुप्तचर निकाय सूचना विहिन र भएका सूचना पनि गलत दिन थालेपछि रेग्मी हटाइएका हुन् । पछिल्लो समय रेग्मीको गलत सूचनाबाट आजित बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई भेट समेत दिन गरेका थिएनन् । बालुवाटार स्रोतका अनुसार रेग्मी प्रधानमन्त्रीलाई भेट्न पुग्दा हाल प्रमुख बनेका अधिकारी भने प्रधानमन्त्रीलाई ब्रिफिङ गरेर फर्किसकेका हुन्थे ।

अर्कोतिर, नयाँ गुप्तचर प्रमुखमा अधिकारीको नियुक्तिसँगै उनको सम्पत्तिका विषयमा चर्चा हुन थालेको छ । काठमाडौंको धापासीमा खडा गरेको आलिशान महल र जग्गा जमिनका बारेमा चर्चा हुन थालेको हो । गुप्तचर विभागको प्रमुख भएपछि अधिकारीको सम्पत्तिको स्रोत ओझेलमा पर्ने सम्भावना बढेको छ । युनाइटेड पोष्ट

फेसबुकबाट तपाईको प्रतिक्रिया