नेपाल–जापानबीच हवाई सम्झौता हुँदै


आर्थिकन्यूज

काठमाडौं, पुस २५ । नेपाल र जापानबीच बुधबार सिधा हवाई सेवा सम्झौता हुने भएको छ । जापानका विदेशमन्त्री तारो कोनोको औपचारिक भ्रमणका क्रममा दुई देशबीच हवाई सम्झौता हुने भएको हो ।

जापानी विदेशमन्त्री कोनो १८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार अपरान्ह ४ बजे काठमाडौं आइपुग्ने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि सन् १९९३ मा जापानसँग भएको सम्झौतालाई नवीकरण गर्न गत असारमा दुई देशबीच सहमति भएको थियो । सम्झौतापछि नेपाल–जापानबीच सातामा १४ वटासम्म उडान हुनेछ ।

जापानको नारिता विमानस्थलसहित अन्य विमानस्थलबाट यो सेवा सञ्चालन हुनेछ । यो सम्झौता पछि जापानमा बस्ने नेपाली र जापानबाट आउने पर्यटकले अधिकतम् लाभ उठाउन सक्नेछन् ।

मन्त्रालयका अनुसार दिउँसो हुने मन्त्रीस्तरीय वार्तापछि हवाई सम्झौता हुनेछ । नेपाल वायु सेवा निगमको सेवा विस्तार र नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै सरकारले जापानमा पनि सिधा हवाई उडान गर्न पहल गरेको थियो ।

नेपाल–जापान सिधा उडान शुरु भएपछि नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जापानी पर्यटक नेपाल भित्र्याउन मद्दत सरकारको विश्वास छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया