त्रिविको १२०० रोपनी बाँडचुँड, जग्गा बाँड्दै पद जोगाउँदै


आर्थिकन्यूज

काठमाडौं, पुस २५ । २०३३ सालसम्म त्रिभुवन विश्वविद्यालयसँग ३ हजार ७ सय ३ रोपनी ९ आना २ पैसा ४ दाम जग्गा थियो । मुलुककै पहिलो विश्वविद्यालय सञ्चालन गर्न सरकारले पटकपटक गरी सर्वसाधारणबाट अधिग्रहण गरेकोमध्ये अहिले २ हजार ५ सय रोपनीमात्र बाँकी छ ।

भएको सम्पत्ति जोगाउनु साटो झन्झन् चुँडेर सकिँदै छ ।यसमा सघाएका छन्– विभिन्न समयमा नेतृत्वमा रहेका पदाधिकारीले । पद जोगाउने ध्याउन्नमा उनीहरूले शैक्षिक प्रयोजनले संकलित जग्गा अर्कैलाई मनोमानी बाँडेका छन् । झन्डै १ हजार २ सय रोपनी विभिन्न संस्थालाई बाँडिएको छ भने ९ सय ७८ रोपनी भोगचलन गर्न दिइएको छ । करिब २ सय रोपनी सार्वजनिक बाटो बनेको छ । पछिल्लो समय सबभन्दा धेरै जग्गा बाँड्नेमा तत्कालीन उपकुलपति हिराबहादुर महर्जन छन् ।

गणतन्त्र स्मारक, नेपाल नेत्रज्योति संघ र लायन्स क्लबलाई जग्गा दिएको उनले स्विकारे । ‘विश्वविद्यालयको जग्गा चारैतिरबाट लुटिरहेका छन्,’ एक कर्मचारीले भने, ‘कसले बचाइदेला भनेर गुहारिरहेका छौं ।’ जग्गा बाँडेको त्रिवि स्वयंले स्विकारेको छ । विश्वविद्यालयले यस संवाददातालाई ‘गोप्य र अत्यन्त जरुरी पत्र’ लेख्दै भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय परिसरभित्रका जग्गा त्रिविका निकायबाहेक अन्य कार्यालय तथा संस्थाबाट पनि उपभोग भइरहेको छ ।’ त्रिविको स्वामित्व यथावत् रहने गरी उपभोग गर्न दिएको उसको दलिल छ ।

उपकुलपति तीर्थराज खनियाँले विश्वविद्यालयको जग्गा भोगचलन गर्न दिने निर्णय आफूभन्दा पहिलेकाले गरेको बताए । तर, जग्गा बाँड्नेमा उनी पनि पर्छन् । ‘खानेपानी कार्यालयलाई बुझाउनुपर्ने शुल्क मिनाहा गर्ने गरी २५ रोपनी जग्गा मेलम्ची खानेपानी आयोजनालाई दिने निर्णय मात्रै मैले गरेको हुँ,’ उनले भने । कीर्तिपुरवासीलाई ‘पानी उपलब्ध गराउन’ जग्गा दिएको उनको दाबी छ । कान्तिपुर दैनिकबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया