माछापुच्छ्रे फेवातालमा पौडी खोल्दो रैछ, पोखरा त साँच्चिकै पोखरा नै रहेछ… (सचित्र)


विजय फुयाँल/आर्थिकन्यूज

पोखरा, पुस २४ । गायक प्रेम प्रकाश मल्लकोगीतमा भनिएजस्तै ‘माछापुच्छ्रे फेवातालमा पौडी खोल्दो रैछ, पोखरा त साँच्चिकै पोखरा नै रहेछ…’ 

गीतमार्फत् पोखराको सौन्दर्यता वर्णन गरिएको छ । वास्तवमा गीतमा भनिएजस्तै पोखराको सुन्दरता अपार नै रहेको छ ।

प्राकृतिक छटाले भरिपूर्ण नेपालको प्रमुख पर्यटकीय गन्तव्य स्थलमध्ये पोखरा पनि एक हो । वर्षेनी हजारौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक पोखरा भ्रमणमा आउने गर्दछन् ।

अन्नपूर्ण हिमशृंखलाको काखमा अवस्थित फेवाताल र पोखरा उपत्यका धेरै पर्यटकको रोजाइमा पर्छ । प्रकृतिको सुन्दर उपहार हो पोखरा । एउटा सानो उपत्यकामा मन बहलाउने धेरै चिज छन् ।

हिमाल, ताल, गुफा, मन्दिर, गुम्बा, नदी र झरना प्रकृतिका देन हुन् । प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जिजम्प र जिप फ्लायर जस्ता मानव निर्मित साहसिक खेल पोखराको अर्को आकर्षण हो ।

चाड पर्व तथा बिदाका दिनमा स्वदेशी तथा विदेशी पर्यटकले खचाखच हुने पोखरामा अनुकुल मौसमका कारणले जुनसुकै मौसममा पनि यात्रा गर्न सकिन्छ । सामान्यतया २ देखि ३ दिनको बसाइमा प्रमुख गन्तब्य स्थलको भ्रमण तथा मन लागेको साहसिक खेल खेल्न सकिने पोखरामा लामो अवधिको बसाइ बस्न चाहने हो भने पोखरालाई आधार बनाएर अन्नपूर्ण बेस क्याम्प, पुन हिल, घोडेपानी टाडापानी लगायतको क्षेत्रमा ट्रेकिङ गर्न समेत सकिन्छ ।

प्राकृतिक तथा सांस्कृतिक सम्पदाको धनी पोखरामा के तपाई पनि रमाउन चाहनु हुन्छ ? तपाईंको मनमा पनि पोखरा घुम्न जाने इच्छा छ ? छ भने तपाईले पोखरामा घुम्ने ठाउँका बारेमा यी कुरा छुटाउन हुँदैन ।

सूर्योदय

पोखराको सराङकोट सूर्योदयका लागि प्रख्यात ठाउँ । लेकसाइडबाट करिब आधा घण्टाको यात्रापछि सराङकोट डाँडामा पुग्न सकिन्छ जहाँबाट सूर्य उदायको मनमोहक दृश्य देखिन्छ । सूर्योदय हँुदै गर्दाको सूर्यको लाली किरण हिमालमा झलमल्ल टल्केको देख्न सकिन्छ ।

त्यसै गरी पोखराका सूर्योदयका लागि शान्ति स्तुप, काहुडाँडा पनि प्रख्यात छन् ।

सेती नदी

पोखराको मध्यभागबट बगेको सेती नदी केआई सिंह पुलदेखि कालीखोला दोभानसम्म, नारायणथानदेखि तुलसीघाटसम्म र रामघाटदेखि ढुङेसाँघुम्म धर्तीमुनि लुकेर सेती नदी बग्दै गएकी छिन् ।सेती नदी उत्तरपश्चिम हिमालयबाट भारततर्फ बग्ने नदी हो । यो सप्तगण्डकी नदीको प्रमुख सहायक नदीहरू मध्ये एक हो । यो नेपालको प्रमुख शहरको पोखराको बीचबाट बग्ने गर्दछ । यो नदी अन्नपुर्ण हिमालबाट शुरु भइ चितवन र तनहुँ जिल्लाको संगमस्थल गाईघाटमा गएर नारायणीमा मिसिन्छ।

गुफा

गुफा (गुप्तेश्वर गुफा, महेन्द्र गुफा र चमेरो गुफा) फेवातालको बाँधबाट डेभिड फल्सको गल्छी हुँदै एक किलोमिटरभन्दा लामो रहेको गुप्तेश्वर गुफाबाट सेती नदीतर्फ जान्छ । गुप्तेश्वर महादेवको दर्शन गर्न र गुफामा करिब १ सय ४० मिटर पसेपछि भित्रैबाट डेभिड फल्स देखिन्छ ।

पोखराको महेन्द्र गुफा र चमेरो गुफासमेत चर्चित गुफा रहेका छन् । बाटुलेचौरमा रहेको महेन्द्र गुफाबाट ७ सय मिटरको दूरीमा १ सय ५० मिटर लामो चमेरो गुफा रहेको छ ।

डेभिड फल्स (पातले छाँगो)

छोरेपाटनस्थित पातले छाँगो पर्यटकको रोजाइमा पर्दछ । २०१८ साउन १५ गते फेवा बाँधबाट आएको भेलले श्रीमती डेभिडलाई बगायो । छाँगोभित्र खसेर उनको मृत्यु भयो ।

त्यही सयमदेखि छाँगोलाई डेभिड फल्स भन्न थालियको हो । त्यसको पानी भूमिगत भई एक किलोमिटर दक्षिण फुस्रे खोलामा गएको छ । यो छाँगो हेर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।

प्याराग्लाइडिङ, अल्ट्रालाइट, जिपलाइन र बन्जीजम्प

पोखरामा पछिल्लो समयमा पयर्टकको आकर्षण साहासिक खेलमा प्याराग्लाइडिङ पनि एक हो । सराङकोटको अग्लो डाँडाबाट आकाशमा चराझैँ उड्ने रहर कसलाई पो हुदैन र ? प्याराग्लाइडिङमा उड्दै पोखरा शहर, हिमाल र आसपासको क्षेत्र हेर्नुको मज्जा बेग्लै हुन्छ ।

सराङकोटबाट उड्ने प्याराग्लाइडिङ फेवातालको किनारामा अवतरण हुन्छ ।
सिजनमा दैनिक १५ सयभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक पोखरामा प्याराग्लाइडिङका लागि पुग्ने गरेका छन् ।

पोखराको हेम्जामा टावरसहितको बञ्जी समेत रहेको छ । पोखराको बसाइमा अर्को छुटाउनै नहुर्ने जीप फ्लाई पनि एक हो । जीप फ्लाई गर्दा हेम्जाको सुन्दर गाउँ, आसपासको हरियो वन जंगल र हिमश्रृंखला अवलोकन गर्न सकिन्छ ।

फेवाताल, बेगनास ताल
पोखराको अर्को आकर्षण भनेको ताल पनि हो । तीमध्ये फेवाताल धेरैको आकर्षण रहेको छ । यस तालमा माछापुच्छ्रे हिमालको छाँया खेलिरहेको देख्न सकिन्छ ।

जहाँ डुंगामा सयर गर्दै सुन्दर प्राकृतिक दृश्यावलोकन गर्न पाइन्छ । त्यसमाथि तालको बीचमा रहेको तालबराही मन्दिर पनि पर्यटकका लार्गि गन्तव्य बन्दै आएको छ । डुङ्गामा बसेर फेवाको फन्को नलगाएसम्म पोखरा आएको सार्थकता हुँदैन ।
डुङ्गा चढेर तालबराही मन्दिर जानु जति गाह्रो छ, त्योभन्दा बढी त्यसले दिने आनन्द हो । फेवातालको साइडमा रहेको लेकसाइड बजारले सौन्दर्यतामा झनै ठूलो आकर्षण थपेको छ । पोखरा पुग्ने अधिकांश पर्यटक लेकसाइडको होटलमा नै बस्ने गर्दछन ।

बिशेष गरी रातको समयमा लेकसाइडले पश्चिमा मुलुकको झझल्को दिने सिंगारिएका झिलिमिली बत्ति र सांस्कृतिक कार्यक्रमले पर्यटकलाई मदहोसी बनाउने गर्छ ।

। पोखरामा फेवातालमात्रै नभएर अर्को सुन्दर ताल बेगनास र रुपाताल पनि पोखराको प्रमुख गन्तव्यमा पर्छन् । बेगनास तालमा पनि डुंगा चढेर रमाइलो गर्न पाइन्छ ।

विन्दवासिनी मन्दिर
नेपालका नाम चलेको मन्दिरहरुमध्ये विन्दवासिनी मन्दिर पनि एक हो ।
दशैंको अवसरमा पोखराको विन्दवासिनी मन्दिरमा भक्तजनको ठूलो भीड लाग्ने गर्छ । अग्लो स्थानमा रहेको मन्दिरबाट पोखराको शहर सुन्दर देखिन्छ ।

 

विश्व शान्ति स्तुप

पोखरा गएको बेलामा जान छुटाउन नहुने ठाउँमध्ये विश्व शान्ति स्तुप पनि एक हो । ३४४ फिट उचाइ रहेको विश्व शान्ति स्तुपको विभिन्न दिशामा बुद्धका विभिन्न ध्यान मुद्राका मूर्तिहरु कुदिएका छन् । फेवातालमाथिको डाँडामा अवस्थित विश्व शान्ति स्तुप आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षणको केन्द्र मानिन्छ । यहाँबाट पोखराको उपत्यकाको सुन्दर दृश्य, फेवाताल, हिमाल, सराङकोटको डाँडालगायतका सुन्दर दृश्यहरु देखिने हुँदा पनि यहाँ जान पर्यटक सारै लालायित हुने गर्दछन् ।

संग्रालय
पोखरामा पाँच वटा संग्रहालय छन् । जसमध्ये गोर्खा मेमोरियल म्युजिम पनि एक हो । विश्व युद्धलगायत संसारका अन्य युद्धमा नेपालीको बहादुरी सम्झाउने यस संग्रहालय केआइसिंह पुल छेउमै रहेको छ ।जहाँ गोर्खाली सैनिकको इतिहासलाई नजिकैबाट निहाल्न सकिन्छ ।

त्यस्तै पर्यटकको रोजाइमा पर्ने अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पनि हो । यहाँ पर्वतीय पर्यटनसँग जोडिएका कला, संस्कृति, भेषभुषा र वस्तुह प्रदर्शनीमा राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया