नेपालल सिक्नुपर्ने अन्तर्राष्ट्रिय स्तरका स्थापति नेता, यी नेता हुन जसबाट नेपालले धेरै सिक्न


आर्थिकन्यूज

काठमाडौं, पुस २१ । विश्वका केही शक्तिशाली तथा सम्पन्न देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखको जीवनशैली सोचेभन्दा सामान्य छ । कोही साइकल चढेर कार्यालय पुग्छन्, कोही स्कुलमा समेत पढाउँछन् । उनीहरूलाई साइरन बजाउँदै सडकमा ‘भिभिआइपी दम्भ’ देखाउनु बेतुक लाग्छ । राज्यको व्ययभार कम गर्न तलब कटौती गर्ने पनि छन् । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले त आफ्नो आलिसान सरकारी निवास क्याम्पस सञ्चालन गर्न दिएका छन् । यस्ता विश्व नेताको सामान्य जीवनशैलीबाट सबैले ज्ञान लिन सक्छन् ।

कोलिन्डा ग्राभर
क्रोएसियाकी राष्ट्रपति
कोलिन्डाको सामान्य जीवनशैली संसारभर चर्चित छ । आफ्नो घरको काम आफैं गर्छिन् । केही समयअघि उनले आफ्नो घरमा रङ लगाइरहेको तस्बिर सार्वजनिक भएको थियो । ०१८ को विश्वकप फुटबलमा क्रोएसियाले फाइनलसम्मको यात्रा तय गर्दा उनी खेलाडीको हौसला बढाउन रसिया पुगेकी थिइन्, तर इकोनोमिक क्लासको टिकटमा । प्याराफिटमा पनि भिआइपीको सिट छाडेर उनी सामान्य दर्शकसँगै बसिन् । पानी पर्दा पनि छाता खोजिनन् । मैदानमै पुगेर खेलाडीहरूलाई हौसला दिन कत्ति पनि कञ्जुस्याइँ गरिनन् ।

मार्क रुटी
नेदरल्यान्ड्सका प्रधानमन्त्री

रुटी राजनीतिमा आउनुअघि व्यवसाय गर्थे । अहिले पनि स्मार्टफोन प्रयोग गर्दैनन्, नोकियाको सामान्य मोबाइल चलाउँछन् । प्रधानमन्त्री भएपछि पनि साताको एक दिन प्राथमिक विद्यालयमा पढाउन जान्छन् । साइकल चढेरै कार्यालय जाने–आउने गर्छन् । अगाडि–पछाडि साइरन बजाउँदै हिँड्ने सुरक्षाकर्मी हुन्नन् ।

बाराक ओबामा
अमेरिकी पूर्वराष्ट्रपति
ओबामा राष्ट्रपतिबाट अवकाश पाएपछि आफ्नै फाउन्डेसन मार्फत समाजसेवामा सक्रिय छन् । सर्वसाधारणकै शैलीमा व्यस्त सपिङ कम्प्लेक्समा किनमेल गरिरहेका भेटिन्छन् । कहिलेकाहीँ सडकपेटीमा बेच्न राखिएका फलफूलको मज्जा लिन्छन् । सुरक्षागार्डविना नै यात्रा गर्न रुचाउँछन् । बिरामीदेखि युद्धपीडितसम्मका लागि सहयोग लिएर पुग्छन् ।

जस्टिन ट्रयुडो
क्यानडाका
प्रधानमन्त्री
प्रधानमन्त्री जस्टिन शरणार्थीका प्रिय नेता नै हुन् । सिरिया द्वन्द्वबाट विस्थापित ५० हजारलाई उनले क्यानडामा स्वागत गरे । कतिपयलाई लिन त विमानस्थल नै पुगे । आफू हिँड्ने बाटोमा साइरन बजाउँदै यात्रुलाई दुःख दिँदैनन् ।

डोनाल्ड ट्रम्प
अमेरिकी राष्ट्रपति
ट्रम्प विलासी र सन्काहा नेताका रूपमा जति चिनिन्छन् त्यत्तिकै मनकारी पनि छन् । राष्ट्रपतिमा निर्वाचित हुनुअघि नै उनले तलब नलिने घोषणा गरेका थिए । तर, अमेरिकी कानुनले उनलाई त्यस्तो छुट दिएन । उनी अहिले वार्षिक एक डलर मात्रै तलब लिन्छन्, बाँकी ३९ हजार नौ सय ९९ डलर सामाजिक काममा खर्च गर्छन् ।

इमरान खान
पाकिस्तानका प्रधानमन्त्री
सरकारको नेतृत्व पाएलगत्तै इमरानले सरकार प्रमुखका सुविधा कटौती गरेर विश्वव्यापी चर्चा कमाए । आलिसान महलमा रहेको प्रधानमन्त्री कार्यालयलाई तीनकोठे सैनिक सचिवालयमा सारे र त्यहाँ क्याम्पस सञ्चालन गरे । प्रधानमन्त्रीको सुरक्षाका लागि रहेका हेलिकोप्टर, ३३ बुलेटप्रुफ कारसहित ८० गाडी र आठवटा भैँसी लिलामीमा राखे । दुईवटा गाडी मात्रै आफ्नो सचिवालयमा राखे । आफ्नो निवासमा कार्यरत पाँच सय २४ कर्मचारी कटौती गरेर दुईजना मात्र राखे । प्रधानमन्त्रीका रूपमा आफूले पाउने चिया र खाजा खर्च पनि कटौती गरे । आफूसहित सरकारी कर्मचारीको तलब र विदेश भ्रमण खर्च पनि कटौती गरे । नयाँ पत्रिका दैनिकबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया