देशभर ७४ हजार नर्स झन्डै ४९ हजार बेरोजगार, ८५ हजार नर्स दर्तामा २५ हजार मात्रै रोजगारी


आर्थिकन्यूज

काठमाडौं, पुस १९ । देशमा नर्सहरूको बेरोजगारीले सीमा नाघेको छ । ६६ प्रतिशत नर्स बेरोजगार छन् । नेपाल नर्सिङ काउन्सिलमा कुल ८५ हजार आठ सय ६ नर्स दर्ता भएकोमा २५ हजारले मात्रै रोजगारी पाएका छन् ।

काउन्सिलका अनुसार सात हजार नर्स रोजगारीको खोजीमा बिदेसिएका छन् । काउन्सिलमा दर्ता भएका पाँच हजार नर्सको मृत्यु भइसकेको छ । ४८ हजार आठ सय ६ नर्स देशभित्रै बेरोजगार छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सरकारी स्वास्थ्य संस्थामा १२ हजार नर्स मात्रै कार्यरत छन् ।

निजी स्वास्थ्य संस्थामा करिब १३ हजार कार्यरत छन् । परिवार कल्याण महाशाखा नर्सिङ शाखाकी कम्युनिटी नर्सिङ प्रशासक कविता अर्याल निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सको यकिन तथ्यांक नभएको बताउँछिन् । सरकारीको पनि ठ्याक्कै तथ्यांक भने छैन । मन्त्रालयले पहिलोपटक गरिरहेको कर्मचारीको विवरण संकलन सकिएपछि नर्सको आधिकारिक तथ्यांक आउने अर्यालको भनाइ छ । मन्त्रालयका अनुसार करारबाहेक रिक्त दरबन्दी दुई हजार नौ सय ४५ खाली छ ।

विश्व स्वास्थ्य संगठनले प्रतिहजार जनसंख्याबराबर २।५ अर्थात् कम्तीमा तीनजना नर्स आवश्यक पर्ने बताएको छ । तर, नेपालमा भएका २५ हजार नर्स र नेपालको कुल जनसंख्यालाई आधार बनाउँदा एक हजार जनसंख्यालाई एउटा नर्स पनि भाग पुग्दैन । हाल २५ हजार नर्सले २ करोड ६४ लाखभन्दा बढी जनसंख्यालाई सेवा प्रवाह गरिरहेको अवस्था छ । छिमेकी मुलुक भारतमै प्रतिहजार जनसंख्यामा दुई नर्स छन् । भुटानमा १, श्रीलंका २, चीनमा २, बेलायतमा ९, अमेरिकामा १०, अस्ट्रेलियामा ११ र जापानमा ११ नर्स एक हजार जनसंख्याको भागमा पर्छन्

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर आठ हजार तीन सय १४ स्वास्थ्य संस्था छन् । जनसंख्यालाई आधार मान्दा हाल नेपालमा भएका स्वास्थ्य संस्थामा ६८ हजार चार सय ९० नर्सको आवश्यकता छ । तर, बेरोजगार नर्सलाई समेत व्यवस्थापन गरिएको छैन । सरकारले संघीय संरचनासँगै वडा, विद्यालय र उद्योग क्षेत्रमा एक नर्स राख्ने नीति लिएको छ । ‘सरकारले लिएको नीति लागू भए हालका कुनै पनि नर्स बेरोजगार बस्नुपर्दैन,’ नर्सिङ क्षेत्रकी जानकार लक्ष्मी राई भन्छिन् । नयाँ पत्रिका दैनिकबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया