चीनले समुन्द्रमाथि पुल बनाएपछि भारतले पनि बनायो, ब्रम्हपुत्र नदीमा बनाइएको ४.९ किलोमिटर लामो बोगिविल पुल


रासस/एएफपी

बोगिविल, भारत, पुस ११ ।  भारतले मङ्गलबार उत्तरपूर्वी राज्य आसाममा रहेको सबैभन्दा लामो ‘रेल–रोड ब्रिज’ को उद्घाटन गरेको छ । पुलको सञ्चालनले भारतको चीनसँगको संवेदनशील मानिएको सीमानामा सुरक्षालाई प्रत्याभूत गर्न नयाँ बाटो खुलेको भारतीय अधिकारीले जनाएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रम्हपुत्र नदीमा बनाइएको ४.९ किलोमिटर लामो बोगिविल पुलको एक भब्य समारोहबीच उद्घाटन गर्नुभएको छ । पुल निर्माण गर्न करिब दुई दशक लागेको र निर्माण खर्च ८० करोड अमेरिकी डलर खर्च लागेको भारतीय अधिकारीले बताएका छन् ।

दिब्रुगढ शहर नजिकै बनाइएको उक्त पुलका कारण चीनसँग नाका रहेको अरुणाञ्चल प्रदेशमा सुरक्षाका लागि सैन्य गतिविधिलाई पु¥याउन सहज हुनेछ ।

भारतले चीनसँग १९६२ को युद्धमा सैनालाई सहज तैनाद गर्न नसक्दा अरूणाञ्चल प्रदेशको केही भूमि गुमाएको बुझाई भारतीय पक्षको रहेको छ ।

पुलले ६० टन बराबरको वजन धान्नसक्ने दावी गरिएको छ जसका कारण युद्धका लागि आवश्यक लडाकू जेटलाई पुलमा नै अवतरण गर्न सकिनेछ ।

भारतले रणनीतिक सुरक्षाका लागि महत्व राख्ने ९।१ किलोमिटर लामो अर्को एउटा पुलको पनि सन् २०१७ मा निर्माण सम्पन्न गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया