आलोचनात्मक टिप्पणी गरेर सरकारलाई सहयोग गर्नुस्ः अर्थमन्त्री (भिडियोसहित्)


आर्थिकन्यूज

काठमाडौं, मंसिर २१ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारका कमीकमजोरी छन् भने पत्रकारिताले आलोचनात्मक टिप्पणी गरेर सरकारलाई सहयोग गरिदिनु पर्ने बताए ।

मुलुक आर्थिक विकासतर्फ अग्रसर भएकाले पत्रकारले पनि सुशासन र विकासका पक्षमा कलम चलाएर मुलुकको समृद्धिका लागि सहयोग गर्नुपर्ने भन्दै सुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को चौंथो अधिवेशनको उद्घाटनमा उनले उक्त कुरा बताएका हुन् ।

अर्थमन्त्री डा.खतिवडाले प्रेस जवाफदेही भएमात्र राजनीतिक प्रणाली सुदृढ हुने बताउँदै नेपाली सञ्चारमाध्यमले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनमा खेलेको भूमिका अतुलनीय रहेको धारणा व्यक्त गरे ।

व्यक्ति विशेषलाई लक्षित गरेर सञ्चारमाध्यम चलाउन नहुने भन्दै अर्थमन्त्री डा.खतिवडाले सरकारले गरेका कतिपय कामलाई पत्रकारिताले हुबहु नभएर आलोचनात्मक टिप्पणी गरेर सहयोग गर्नुपर्नेमा जोड दिए ।

अर्थमन्त्री डा.खतिवडाले पत्रकारिता प्रतिपक्षी दल जस्तो नभएर आफ्नो पेशाप्रति मर्यादित हुनुपर्ने भन्दै सुशासन र विकासका पक्षमा पत्रकारले कलम चलाउनुपर्नेमा जोड दिएका थिए । सञ्चारमाध्यमले आफ्नो स्वायत्ततातर्फ विशेष ध्यान दिनुपर्ने उनको भनाई थियो ।

त्यसैगरी, सो कार्यक्रममा महालेखा परीक्षकको कार्यालयका महालेखा परीक्षक टंकमणि शर्माले आर्थिक विकासको मुद्दालाई उठान गरेर तथ्यमा आधारित समाचार सम्प्रेशन गर्न आर्थिक पत्रकारलाई सुझाव दिएका थिए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले आर्थिक पत्रकारले मुलुकको विकासका पक्षमा कलम चलाउनुपर्नेमा जोड दिए भने नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले पत्रकारितालाई मर्यादित बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।

भिडियाेः

फेसबुकबाट तपाईको प्रतिक्रिया