काठमाडौंको फोहोर विसर्जनको नयाँ पूर्वाधार बन्चरेडाडाँमा, डेढ अर्बमा दुईवर्षभित्रै सय वर्षलाई पूग्ने नयाँ ल्यान्डफिल साइड


आर्थिकन्यूज

काठमाडौं, मंसिर २१ । काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्न नुवाकोटको बन्चरेडाँडामा बनाइने नयाँ पूर्वाधार निर्माणको जिम्मा सरकारले सहरी विकास मन्त्रालयलाई दिएको छ । गत सोमबार बसेको मन्त्रीपरिषद्को हिजो बिहीबार सार्वजनिक भएको निर्णयमा काठमाडौंको फोहोर फाल्न आवश्यक थप पूर्वाधार बन्चरेडाँडामा बनाइने भएको छ ।

सहरी विकासम मन्त्री मोहम्मद ईस्तियाक राईका अनुसार सरकारले निर्णय गरेको यो कामलाई अब तुरुन्त कार्यान्वयनको चरणमा लगिने छ । यसका लागि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न नुवाकोट स्थित बन्चरेडाँडामा निर्माण गर्नुपर्ने १५ मिटर अग्लो ड्याम र अन्य पूर्वाधारको ल्याण्ड फिल्ड साइट बनाउने जिम्मा सरकारले सहरी विकास मन्त्रालयलाई दिने निर्णय गरेको हो ।

यो निर्णय अनुसार अब सहरी विकास मन्त्रालयले कम्तिमा डेढ अर्ब रुपैयाँ खर्चेर दुई वर्ष भित्रै यस्तो पूर्वाधार बनाउने भएको छ । नयाँ पूर्वाधार बनेपछि बन्चरे डाँडामा कम्तिमा एक सय वर्षको लागि फोहोर फाल्न सकिन्छ । अहिले बनाएको पूर्वाधारलाई पनि थप व्यवस्थित बनाइने पनि उल्लेख छ ।

यस अघि प्रक्रिया अगाडि बढाइसकिएको यो पूर्वाधार बनाउने जिम्मा कुनै निकायले नपाउँदा काममा ढिलाई भइरहेको थियो । अब, सहरी विकास मन्त्रालयले यो जिम्मा पाएपछि कामको गति बढ्ने भएको छ । २०६२ सालमा दुई वर्षका लागि बनाइएको सिसडोलको ल्यान्डफिल साइटले १३ वर्षसम्म धानिरहेको छ ।

२०६२ साल जेठ २२ गते उपत्यकामा उत्पादित फोहोर संकलन तथा ढुवानी गरेर नुवाकोटको साविक ककनी गाविसको ओखरपौवा क्षेत्रमा व्यवस्थापन गर्न थालिएको हो। उक्त ल्यान्डफिल साइडको क्षमता दुईतीन वर्षका लागि निर्माण गरिएको थियो। काठमाडौं र ललितपुरबाट यहाँ दैनिक ३ सय ७५ मेट्रिक टनसम्म फोहोर पुग्ने गरेको थियो। फोहोरको मात्रा बढ्दै गएपछि उक्त ल्यान्डफिल साइटले धान्न सकेन। त्यसैले विकल्प खोजियो।

दीर्घकालीन ल्यान्डफिल साइटको पूर्वाधार तयार गर्न नुवाकोटकै बन्चरे डाँडामा २०६५ सालबाट फोहोर व्यवस्थापन गर्ने रणनीति महानगरपालिकाले बनाएको थियो। १० वर्षभित्र यहाँ दीर्घकालीन ल्यान्डफिल साइट निर्माण गर्ने लक्ष्य थियो। तर जग्गा अधिकरणलगायत तयारीकै लागि ६३ करोड रुपैयाँ खर्च भइसकेको छ। ल्यान्डफिल साइटका लागि औखरपौवा सिसडोल क्षेत्रमा आलेटारसहित सार्वजनिक र निजी गरी ४ सय ५१ रोपनी र बन्चरे डाँडामा १ हजार ७ सय ३० रोपनी जग्गा अधिग्रहण गरिएको महानगरपालिको भनाइ छ।

यस्तै रकाकारले दुई अर्ब रुपैयाँ खचिएर ललितपुरको भैंसेपाटीमा संसद आवास गृहसमेत बनाउँने भएको छ । हाललाई ४१ वटा भवन सहितको संरचना आवश्यक प्रक्रिया पूरा गरेर ठेक्का लागेको दुई वर्ष भित्रै बनाइने पनि उल्लेख छ । सैंवु आवास क्षेत्रमा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, उपसभामुख र मन्त्रीहरूको निम्ति २७ वटा यस्ता भवन बन्ने भएका छन् ।

प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको आवास तथा सम्पर्क कार्यालयका निम्ति अर्को १४ वटा भवन बनाउने निर्णय सरकारले गरेको छ । यसका लागि सरकारले १४९ रोपनी चार आना ३ दाम जग्गा छुट्याईएको छ ।

यस्तो संसद आवास बनाउन सरकारले निर्णय गरेकोले अब सहरी विकास मन्त्रालयले कार्यक्रम तय गरेर आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ । आवास गृह दुई वर्षभित्र बनाइसक्ने गरी तयारी गरेको सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बताए । उनले भने आवश्यक डिजाइन र निर्माण मोडालिटि तय गरेर यो योजनालाई अगाडि बढाउने काम मन्त्रालय अन्तर्गतकै सहरी विकास तथा भवन निर्माण विभागबाट हुने छ ।

सैबुमा बन्ने ४१ वटै आवास गृहको निम्ति करिब दुई अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । यसको एकीन लागत भने पूर्ण विवरण संकलन गरेर तयार पारिने डिजाइनपछि मात्रै तय हुने पनि मन्त्री राईले जानकारी दिए ।

मन्त्रालयका अनुसार निर्णय भएपछि अब डिजाइन गर्ने, निर्माणको मोडालिटी तय गर्ने र स्रोतको व्यवस्थापन गर्ने काम अगाडि बढ्छ । सरकारले संसद आवास गृह बनाउने भन्ने निर्णय गरेकोले अब यसका लागि थप काम अगाडि बढाउन समस्या नहुने पनि मन्त्रालयले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया