अमेरिकी लडाकू विमान जापानमा दुर्घटना, पाँचजना बेपत्ता


एजेन्सी

टोक्यो, मंसिर २० । जापानको दक्षिणपश्चिमी तटीय क्षेत्रमा दुईवटा अमेरिकी लडाकू बिमान बिहीबार आकाशमा जुधेर दुर्घटनाग्रस्त भएका छन् । सैनिक अधिकारीहरुले बिमानमा सबार चालक दलका सात जनामध्ये पाँचजना हराइरहेको बताएका छन् ।

आकाशमा एउटा लडाकू बिमानमा अर्को सैनिक बिमानबाट तेल भर्ने क्रममा दुबै बिमान एकआपसमा ठक्कर खाएर दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् ।

अमेरिकी मरिन कप्र्सका अनुसार एफए–१८ लडाकू बिमान र तेल बोकेर आएको केसी–१३० सैनिक बिमान एकआपसमा ठोक्किएका थिए । पश्चिमी जापानको हिरोसिमा नजिक इवाकुनीस्थित अमेरिकी सैनिक अखडाबाट तालिमको सिलसिलामा बिमानहरु उडेलगत्तै दुर्घटनाग्रस्त भएको बताइएको छ ।

अमेरिकी सैनिक अधिकारीहरुले उक्त दुर्घटना सैनिक अखडाबाट करिब ३२० किलोमिटर टाढा प्रशान्त महासागरमा भएको थियो । तत्काल खोजी तथा उद्धारमा खटिएका सैनिकहरुले चालक दलका दुई सदस्यलाई उद्धार गरेको थियो ।

उक्त दुर्घटनाको कारणबारे अनुसन्धान शुरु भइसकेको छ । खोजी र उद्धारमा जापानी सैनिक बिमान र पानी जहाजहरु पनि परिचालन गरिएको जापानी सैनिक अधिकारीहरुले बताएका छन् ।

पछिल्ला केही समयदेखि जापानी तटीय इलाकामा अमेरिकी लडाकू बिमान र नौसैनिक जहाजहरुको दुर्घटना हुनेक्रम बढेको छ । गत महिना पनि एउटा अमेरिकी नेभीको लडाकू बिमान ओकिनावा नजिक दुर्घटनाग्रस्त भएको थियो । गत अक्टोबरमा एउटा एमएच–६० सि–हक लडाकू बिमान पनि फिलिपिनी सागरमा उड्नासाथ दुर्घटनाग्रस्त भएको थियो ।

जापान र अमेरिकाबीचको सुरक्षा सम्झौता बमोजिम जापानमा हाल ५० हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ छन् ।

अमेरिकी लडाकु विमान एफ–१८ र सी–१३० जापानको इवाकुनीस्थित मरिन कप्र्स एयर स्टेशनमा बिहीबार दुर्घटना भएका हुन् । अमेरिकी रक्षा विभागका अनुसार, उक्त घटना जापानको समुद्री किनारबाट करिब ३०० किलोमिटर टाढा रहेको छ ।

वेपत्ता नौसैनिकहरुको खोजी कार्य जारी रहेको बताइएको छ । यसका लागि डाक्टरहरुले क्रु मेम्बरहरुले पनि सहायता गरिरहेका छन् । सी–१३० मा ५ र एफ–१८ मा २ नौसेना तैनाथ रहेको बताइएको छ ।

खोजी कार्यका लागि जापानले ४ वटा एयरक्राफ्ट र ३ वटा जहाज परिचालन गरेको छ । जापानद्धारा सहयोग गरिएकोमा अमेरिकी अधिकारीहरुले धन्यवाद दिएका छन् ।

अमेरिकी अधिकारीहरुका अनुसार दुवै विमानले नियमित तालिमको क्रममा मरिन कप्र्स स्टेशनबाट उडान भरेका थिए । दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया