नेपाल राष्ट्र बैंकले १० अर्ब मुद्धती निक्षेप राख्ने


आर्थिकन्यूज
ब्याजदर

काठमाडौं, मंसिर २० । नेपाल राष्ट्र बैंकले १० अर्ब १५ करोड ८६ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा मुद्धती निक्षेप राख्ने भएको छ । केन्द्रीय बैंकले आगामी पुस १ गतेदेखि २०७६ मंसिर ३० गतेसम्मका लागि त्रैमासिक रुपमा ब्याज भुक्तानी पाउने गरि सो रकम लगानी गर्न चाहेको हो ।

निक्षेप लगानी गर्न चाहने बैंक तथा वित्तीय संस्थाले प्रस्तावित ब्याजदर सहित मंसिर २३ गते आइतबार ३ बजेसम्म शिलबन्दी दरभाउपत्र आवेदन दिन सक्नेछन् ।

तरलता अभाव भएर बैंक तथा वित्तीय संस्थाले उच्च ब्याजदरमा निक्षेप संकलन गरिरहेको बेला केन्द्रीय बैंकले सो रकम मुद्धतीमा लगानी गर्ने भएको हो ।

केन्द्रीय बैंकले “क” वर्गका वाणिज्य बैंकहरुमा ८ अर्ब १२ करोड ६९ लाख, “ख” वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुमा १ अर्ब ५२ करोड ३८ लाख रुपैयाँ र “ग” वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुले ५० करोड ७९ लाख रुपैयाँ गरी कुल अर्ब १५ करोड ८६ लाख रुपैयाँ निक्षेप राख्नेछ ।

बैंक तथा वित्त संस्थाहरुले रकम लिनका लागि आवेदन पेस गर्ने विभिन्न शर्तहरु समेत तोकेको छ । जसमा बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पुरा गरेको, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी भएको, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको, निकटतम अघिल्लो आर्थिक वर्षमा बैंक सञ्चालन मुनाफामा रहेको हुनुपर्ने राष्ट्र बैंकले शर्त रहेको छ ।

त्यसैगरी, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पुरा भएको, बैंक तथा वित्तिय संस्था कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको, सर्वसाधारणको लागि छुट्टाइएको शेयर जारी गरीसकेको हुनुपर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया