दिल्लीको आश्रमबाटै हराए ८ नेपाली महिला, एक वर्षअघि उद्धार गरिएपनि शनिबारबाट फेरि हराए


आर्थिकन्यूज

काठमाडौं, मंसिर २० । नयाँदिल्लीको दिलसाद गार्डेनस्थित संस्कार आश्रम (सेल्टर होम)बाट शनिबार मध्यरातिदेखि हराइरहेका आठ नेपाली महिलाको अवस्था अज्ञात छ ।

उनीहरू गत वैशाखदेखि त्यहाँ बस्दै आएका थिए । स्थानीय प्रहरी र दिल्ली महिला आयोगको समन्वयमा एक वर्षअघि जीबी मार्केटबाट उद्धार गरिएका उनीहरूलाई त्यसअघि द्वारकास्थित अर्को आश्रयस्थलमा
राखिएको थियो ।

नेपाली महिलासँगै बेपत्ता भएकी बिहारकी एक बालिकाको अवस्था पनि अज्ञात छ । आश्रममा बालिका तथा महिला गरी ८० जना बस्दै आएका थिए । चौबीसै घण्टा सीसीटीभी क्यामराको निगरानी र तारबारसहित अग्लो पर्खाल लगाइएको ठाउँबाट महिला बेपत्ता हुनुलाई रहस्यमय ठानिएको छ । प्रहरीले घटना सार्वजनिक भएलगत्तै आश्रम सञ्चालकविरुद्ध उजुरी दर्ता गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार उक्त आश्रमबाट दुई वर्षअघि पनि पाँच महिला बेपत्ता भएका थिए । घटना सार्वजनिक भएपछि दिल्ली महिला आयोग अध्यक्ष स्वाती मालिवाल नेतृत्वको टोली आश्रम पुगेको थियो । त्यसलगत्तै आयोगले त्यहाँको व्यवस्थापन अत्यन्त खराब रहेको तथा राखिएका बालिका र महिलालाई खाने, बस्नेलगायत सुविधा कमजोर रहेको भन्दै कारबाही गर्न माग गरेको थियो ।

त्यसपछि उपमुख्यमन्त्री मनीष सिसोडियाले दोषी अधिकारीलाई कारबाही गर्न मुख्यसचिवलाई निर्देशनसमेत दिइसकेका छन् । लगत्तै दिल्ली सरकारले स्थानीय महिला एवं बाल विकास विभाग ९डब्लूसीडी० का जिल्ला प्रमुख र केन्द्र सञ्चालकलाई निलम्बन गरेको छ । कान्तिपुर दैनिकबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया