अब विद्यालयकै पाठ्यक्रममा शेयरका बारेमा पढ्न पाइने


आर्थिकन्यूज

काठमाडौं, मंसिर १९ । नेपाल धितोपत्र बोर्डले पाठ्यक्रममा शेयरको विषयलाई समेट्नका निम्ति पहल गरेको छ । सर्वसाधारण लगानीकर्ताहरुको हित संरक्षण गर्ने, पूँजी बजारको विकास र नियमन गर्ने बारे सुसुचित गर्नका बोर्डले पहल अगाडि बढाएको हो ।

वित्तीय रुपमा साक्षर नभई धितोपत्र बजारमा गरिएको लगानी जोखिमपूर्ण हुने भएकोले पाठ्यक्रममा नै राख्ने गरी छलफल अगाडी बढाएको बोर्डले जनाएको छ ।

लगानीकर्तामा साक्षरताको स्तर अभिवृद्धि गर्न विगतदेखि नै लगानीकर्ता प्रशिक्षण तथा जनचेतना अभिवृद्धि कार्यक्रम संचालन गर्दै आईरहेकोमा यस चालु आ.व. देखि पाक्षिक लगानीकर्ता प्रशिक्षण तथा रेडियो कार्यक्रमको संचालन शुरुवात गर्नुका साथै बोर्डबाट यससँग सम्बन्धित सामाग्री प्रकाशन तथा वितरणलाई निरन्तरता दिइएको छ ।

यस सन्र्दभमा बोर्डले धितोपत्र बजार सम्बन्धी अध्ययन अनुसन्धान तथा प्रशिक्षण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि धितोपत्र बजार प्रशिक्षण प्रतिष्ठानको स्थापना गर्ने लक्ष्य समेत राखेको छ ।

हालैका दिनहरुमा देशका ७७ जिल्ला र करिब ७०० स्थानीय निकाय अन्तर्गतका क्षेत्रहरुमा धितोपत्रको प्राथमिक बजारको पहुँच पुगिसकेको, धितोपत्रको दोस्रो बजार सेवामा नयाँ स्वचालित कारोबार प्रणाली संचालनमा आई देशव्यापीरुपमा विस्तार हुने क्रममा रहेको र नेपालको धितोपत्र बजार देशको समग्र वित्तीय प्रणालीको अभिन्न अंग भईसकेको परिप्रेक्ष्यमा पूँजी बजारमार्फत विशेषतः वित्तशास्त्र तथा अर्थशास्त्रको समेत सैद्धान्तिक ज्ञानको व्यवहारिक उपयोग हुने भएकोले पहल अगाडी बढाएको जनाएको छ ।

यस बजारको विकास तथा विस्तारमा जोड दिने देशहरु हाल विश्वका विकसित तथा सुदृढ अर्थतन्त्र हुने देशहरुमा अग्र स्थानमा रहेका छन् र यस्ता देशहरुको विभिन्न तहका पाठयक्रमहरुमा धितोपत्र सम्बन्धी विषयवस्तुहरु विशेष महत्व दिई समावेश गरेको पाइन्छ ।

नेपाल सरकारको वित्तीय क्षेत्र विकास रणनीतिमा पूँजी बजारमा आम जनताको सहभागितालाई प्रोत्साहन गर्ने रणनीति लिएको छ भने बोर्डको आ.व.२०७५.७६ को धितोपत्र तथा वस्तु विनियम बजार सम्बन्धी नीति तथा कार्यक्रम (बुँदा नं ६८) मा विभिन्न विश्वविद्यालय तथा उच्च माध्यमिक विद्यालयका सम्बन्धित विषयको पाठ्यक्रममा धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी विषयवस्तुहरु समावेश गराउन आवश्यक समन्वय गर्ने कार्यक्रम रहेको छ ।

यसै पृष्ठभूमिमा यससम्बन्धी विषयवस्तुहरु माध्यमिक विद्यालय र विश्वविद्यालयका विभिन्न स्नातक तथा स्नातकोत्तर स्तरका पाठ्यक्रम र व्यवस्थापन तथा अर्थशास्त्रलगायतका विषयगत पाठयक्रमहरुको तयारी तथा थप सुधार कार्य गर्दा धितोपत्र सम्बन्धी विषयवस्तु समावेश गर्ने÷गराउने पहल तथा कार्यका लागि आवश्यक समन्वय तथा सहकार्यका लागि पाठयक्रम विकास केन्द्र, त्रिभुवन विश्वविद्यालय अन्र्तगत रहेका मानविकी तथा समाजशास्त्र संकाय, व्यवस्थापन संकाय, कानून संकायका डीनको कार्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्य पश्चिमाञ्चल विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका साथै लोक सेवा आयोग, अनामनगरलाई अनुरोध गरिएको छ ।

उपयुत्र्तmानुसार धितोपत्र सम्बन्धी विषयवस्तुहरु माध्यमिक विद्यालय र विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तरस्तरका पाठ्यक्रममा समावेश गर्दा सो पाठ्यक्रमहरु समसामयिक तथा व्यवहार उपयोगी हुने र यसबाट लगानीकर्ताको हित संरक्षण तथा सशक्तिकरणमा सहयोग पुगी सीमित स्रोत साधनबाट समेत बचत गरी उत्पादनशील क्षेत्रमा लगानी परिचालन हुने वातावरण तयार भई देशको अर्थतन्त्रको विकास, विस्तार तथा वृद्धि हुनुका साथै वित्तीय साक्षरताको स्तर अभिवृद्धि भई धितोपत्र बजारको दिगो विकासमा सहयोग पुग्ने बिश्वास गरिएकोे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया