कामनपाले होर्डिङ बोर्ड हटाएर डिजिटल होर्डिङ बोर्ड राख्न शुरू


आर्थिकन्यूज
file photo

काठमाडौं, मंसिर १९ । काठमाडौं महानगरपालिकाले महानगरको सुन्दरताको लागि प्रिन्ट होर्डिङ बोर्ड हटाई डिजिटल होर्डिङ बोर्ड राख्न थालेको छ ।

सार्वजनिकस्थल र सरकारी जमिनमा राखिएका प्रिन्ट होर्डिङ बोर्ड र पाताको बोर्ड पूर्णरुपमा हटाइसकेको छ र बाँकी रहेको खम्बा र अरु स्थलको बोर्ड पनि आगामी आर्थिक वर्षसम्म हटाएर पूर्णरुपमा डिजिटल बोर्ड राख्ने लक्ष्य रहेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।
उनले भने–‘होर्डिङ बोर्ड उत्पादनको प्रचारप्रसार गर्ने राम्रो माध्यम भएकाले यसको सही सदुपयोग हुने गरी सबैको ध्यान केन्द्रित हुने ठाउँमा राखिनेछ ।’

इलेक्ट्रोनिक रुपमा भएका बोर्डलाई पनि डिजिटलमा लैजानुपर्छ भनेर महानगरपालिकाले पहल गरिरहेको प्रवक्ता कार्कीको भनाइ छ । ‘महानगरपालिकामा यतिनै डिजिटल बोर्ड राखिने भनेर संख्या तोकिएको छैन । तर, काम भने भइरहेको छ,’ कार्कीले भने ।

डिजिटल बोर्ड राख्नको लागि महानगरपालिकाले कुनै रकम उपलब्ध नगराउने र विज्ञापनबाट उठेको पैसा प्रयोग गर्ने उनले बताए । गत वर्ष विज्ञापनबाट १२ करोड रुपैयाँ उठेको उल्लेख गर्दै यस वर्ष १५ करोडको रुपैयाँ संकलन गर्ने महानगरपालिकाले लक्ष्य लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया