ब्याजदर तोक्न स्वतन्त्रता पाएसँगै नेप्सेमा पहिरो, २२ अंकको गिरावट


आर्थिकन्यूज

काठमाडौं, मंसिर १९ । नेपाल बैंकर्स एसोसिएसनले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर तोक्न बैंकरहरुलाई स्वतन्त्र छोडेपछि त्यसको असर पुँजी बजारमा परेको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार अघिल्लो दिनको तुलनामा दोब्बरभन्दा बढीले गिरावट आएको छ ।

निक्षेपमा ब्याजदर बढेसँगै ऋणको पनि ब्याज बढ्ने भएपछि ऋणमा कारोबार गर्ने लगानीकर्ता त्रसित हुँदा धेरैपछि थामिएको नेप्सेमा पुनः गिरावट आएको सरोकारवालाको भनाइ छ । बुधबार नेप्सेमा कारोबार शुरु भएदेखि नै ओरालो लाग्ने क्रम शुरु भएको थियो ।

बुधबार नेप्सेमा २२ दशमलव ८० अंकले घटेर १ हजार १ सय १८ दशमलव १९ को बिन्दुमा कारोबार बन्द भएको छ ।
त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने ४ दशमलव ९१ अंकले घटेर २ सय ३७ दशमलव ७८ अंकमा पुगेर बन्द भएको छ ।

यस दिन कुल १ सय ५६ कम्पनीको ११ लाख ६८ हजार २३३ कित्ता शेयर खरिदबिक्री हुँदा ३७ करोड ७२ लाख ८६ हजार २७९ रुपैयाँको कारोबार भएको छ ।

यस दिन सबैभन्दा बढी कारोबार नेपाल बैंकको भएको छ । जसको आज ३ करोड ५४ लाख १४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै यस दिन जसमा सर्वाधिक कमाउनेमा हाथवे फाइनान्स कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ५ दशमलव ७७ प्रतिशतले बढेको छ ।

साथै सर्वाधिक गुमाउनेमा राद्यी विद्युत कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ६ दशमलव ८९ प्रतिशतले घटेको छ ।

यस दिन १० वटा समूहमा सबै घटेर रातामै भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया