कालिञ्चोकको केबलकार ‘हिस्स बूढी किच्च दाँत’


शान्ति श्रेष्ठ

काठमाडौं, मंसिर १७ । दोलखाको कालिञ्चोकमा केबलकार सञ्चालनमा आउने खबर केही दिन अघि आयो, केबलकार सञ्चालनमा आएको खबर पाएर खुशी हुँदै कालिञ्चोक पुगेका सर्वसाधारण भने यतिबेला ‘हिस्स बूढी किच्च दाँत’ भने जस्तै भएका छन् । केबलकार नियमित सञ्चालन नहुँदा हिँडेर उचाईमा पुग्न नसक्नेहरु ‘खिस्रिक्क’ परेका हुन् ।

केबलकार सञ्चालन भगवतीको दर्शन गर्ने उत्साह बोकेर पुगेका महिला, वृद्धा, अशक्तहरु केबलकारको नियमितता नहुँदा मनोकांक्षा पूरा नगरी बीचबाटै फर्किन बाध्य भएका छन् । यस्तै भयो मंसिर १५ गते शनिबार पनि काठमाडौं गाडी रिर्जभ गरेर कालिञ्चोक दर्शन गर्न गएका महिलाहरुको समूह केबलकार नचलेपछि हिस्स परे ।

बलिया र हिँड्न सक्नेहरु कालिञ्चोक पुगे भने हिँड्ने नसक्नेले तलबाटै दर्शन गरे । ‘केबलकार सञ्चालन भएको खबर सुनेपछि कालिञ्चोकको दर्शन गर्ने इच्छा जागेको थियो । तर, हिस्स बूढी किच्च दाँतजस्तै भइयो ।’ स्थानीय कुरी बजारमा भेटिएकी ललितपुर सातदोबाटोकी ६२ वर्षीया पूर्णमाया श्रेष्ठले बताइन ।

पूर्णमायाजस्तै कयौं भक्तजन समस्यामा परेका छन् । मौसम र शारीरिक समस्या भएकालाई केबलकार सहयोगी हुन्थ्यो तर यसको नियमित सञ्चालन भए नभएको खबर काठमाडौं नपुग्दा हामी समस्यामा पर्यौ । आमा पूर्णमायासँगै पुगेका ललितकृष्ण श्रेष्ठको गुनासो छ ।

दोलखा सदरमुकाम चरिकोट बजारबाट उत्तरपूर्व करिब १९ किलोमिटर सडकमार्ग यात्रा गरेपछि कुरी बजार पुगिन्छ । कुरी बजारबाट डेढ घन्टाभन्दा बढी उकालो गएपछि पहाडको चुचुरोमा रहेको कालिञ्चोक भगवतीको मन्दिर पुगिन्छ । समुद्री सतहबाट ३८४२ मिटर उचाईमा रहेको कालिञ्चोक भगवती मन्दिरको उत्तरतिर गौरीशंकर हिमाल आँखा अगाडि नै ठोकिन्छ ।

हिमालको एउटा टाकुरो भगवती पार्वती र अर्को टाकुरो भगवान शिव रहेको धार्मिक विश्वास स्वरूप त्यो हिमाललाई गौरीशंकर नामाकरण गरिएको भन्ने भनाइ छ ।

उच्च हिमाली क्षेत्रमा अवस्थित त्यस क्षेत्रमा पुगेपछि प्रकृतिको अनुपम सौन्दर्यताको भरपुर आनन्द उपयोग गर्न पाइन्छ । प्रकृतिका छटाहरुले भूरिपूर्ण त्यस क्षेत्र साच्चै स्वर्गको टुक्रा नै कि भन्ने अनुभूत गराउने त्यहाँ पुग्नेहरुको भनाइ छ ।

 

आन्तरिक र बाह्य पर्यटकका निम्ति निक्कै आकर्षक गन्तव्य रहेको त्यस क्षेत्रमा केबलकारलगायतका अन्य पूर्वाधार र आधारभूत आवश्यकताहरु सञ्चालनमा ल्याएको खण्डमा धेरैको कालिञ्चोक भगवतीको दर्शन गर्ने मनोकांक्षा पूरा हुने मात्रै होइन त्यस क्षेत्रको पर्यटन विकासका निम्ति पनि टेवा पुग्ने कालिञ्चोकमा भेटिएका व्यवसायी सोमकुमार श्रेष्ठले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया